Skip to main content

लेखक पाठक प्रकाशक तथा राज्य १

 

भन्न त कतिपय साहित्यकारले आफूले स्वान्त सुखाय लेखेको कुरा पनि गर्दछन् । तर यस कुरामा त्यति सत्यता छैन । हुँदैन । यथार्थमा जुनसुकै साहित्यकारले आफूले लेखेका कुरा पाठक समक्ष  पुराउन खोज्दछन् । जनताका बीचमा पुराउन चाहन्छन् । यो साहित्यकारहरूमा रहेको आम प्रवुत्ति नै हो । साहित्यकारले आफ्ना कुरा कुनै माध्ययमद्वारा व्यक्त गरेर संतुष्टि प्राप्त गर्ने कुरा त छँदै छ । उनीहरूले प्राप्त गर्ने अर्को संतुष्टि उनका अभिव्यक्ति पाठकसामु पुराउनु नै  हो । हुन त साहित्य सृजना नै साहित्यकारको प्रमुख लक्ष्य हो । यस अर्थमा आफ्ना सृजना पाठकसामु पराउने कुरा तपसिलमा पर्दछन् ।

लेखक कवि वा साहित्यकारले परस्परमा आफ्ना सृजना पढेर सुनाएर पनि एक प्रकमारले पाठकसम्म आफ्ना रचना पुगेको अनुभूति लिन सक्दछन् । संतुष्टि लिन सक्दछन् । यसबाट उनीहरूलाई के पनि अतिरिक्त लाभ हुन सक्दछ भने  यसबाट उनीहरू परस्परमा फिड व्याक प्राप्त गर्न सक्दछन् । आफ्ना रचनालाई परिमार्जित गर्न आवश्यक सुझाव सल्लाह प्राप्त गर्न सक्दछन् । 

सामान्य लेख रचना त पत्र पत्रिकामा प्रकाशित गरेर पनि पाठकसामु आफ्ना सृजना पठाउन सकिन्छ । तर पुस्तक आकारका लेख रचना पाठकसम्म पुराउन कठिन हुन्छ । हुन त लु स्यूनले पत्रिकामा किस्ता किस्तामा लेखेर पनि आ क्यु को साँँचो पाठक  सामु पुराएका थिए  उनले धारावाहिक रूपमा आ क्युको साँचो कथा दिसम्बर ४ , १९२१ देखि लेख्न शुरु गरेर फरवरी २२ , १९२३ मा समाप्त गरेका थिए । यस कथा सम्बन्धमा लु स्यूनले भनेका छन् पत्रिका सम्पादक प्रकाशक यस कथालाई अझ लम्बाइदिए हुन्थ्यो भन्ने चाहन्थे तर उनले आ क्यु लाई मारेर कथा समाप्त गरिदिएको थिए । तर यस्ता उदाहरण अपवाद मात्र हुन सक्दछन् । आंशिक सत्य मात्र हुन सक्दछन् । आम सत्य होइन ।

यसको अर्थ के हुन्छ भने लेखक कवि वा साहित्यकारले आफ्ना पुस्तक आकारका सृजना पाठकसम्म पुराउन प्रकाशको भूमिका पनि अपनाउन पर्ने हुन्छ ।   ठूला ठूला लेखकलाई यस किसिमको समस्या नभए पनि भर्खर कलम समातेका लेखक कवि साहित्यकारहरूलाई आफै प्रकाशक बन्नु पर्ने वाध्यता हुन्छ । अन्यथा उनको कृतिले पाठकसम्म पुग्ने सौभाग्य नपाउन सक्दछ । यस कुराको राम्रो अनुभव म स्वयंलाई छ ।  वास्तवमा म जहिलेदेखि लेखकको भूमिका उत्रिएँ त्यतिबेलादेखि नै प्रकाशक पनि बनें । प्रकाशक पनि आफ्नै पुस्तकको प्रकाशक । लगभग दुई दर्जन जति पुस्तक तथा आधा दर्जन पत्र पत्रिकाको प्रकाशक । यस अर्थमा म कुनै साझा प्रकाशन ¬( जुन अहिल अस्तित्वमा छैन ) जस्तो विख्यात प्रकाशक होइन । रत्न पुस्तक भण्डार जस्तो चर्चित प्रकाशक पनि होइन । सामान्य आफ्नै पुस्तकको प्रकाशक । 

प्रकाशक पैसा कमाउनको लागि प्रकाशक बन्दछन् । यस कारण पनि कि पुस्तक वा पत्र पत्रिकाको प्रकाशन पनि एउटा व्यवसाय हो । एउटा व्यापार हो । तर जब स्वयं कुनै लेखक प्रकाशक बन्दछ ऊ पैसा कमाउन होइन ( अपवाद महावीर पुन ) पैसा गुमाउन प्रकाशक बन्दछ । यथार्थमा आफ्ना कृतिलाई पाठकसम्म पुराउने लोभले प्रकाशक बन्दछ । मैले प्रकाशित गरेका एउटा पुस्तकलाई छोडेर सबै पुस्तकको म प्रकाशक बनेको छु् ।  हो एउटा कथा संग्रह खरानी गाउँको प्रकाशन पत्रकार कर्णबहादुर कार्कीले गरिदिएका थिए । उनले के कति संख्यामा खरानी गाउँ प्रकाशित गरे मलाई थाहा छैन । जति प्रकाशन गरे सबै बिक्रीको लागि बुटवलको चेतना पुस्तक पसललाई दिएका थिए । त्यो पु्स्तक पसले उहिले नै बन्द भैसकेको थियो । त्यहाँ बिक्रीका लागि दिइएका पुस्तक अहिले कहाँ पुगे थाहा छैन । कतै रहेको भए धमिरा वा मुसाका आहार बनेका होलान् । पत्रकार कार्कीले मलाई दिएका ५० थान जति खरानी गाउ पनि कहाँ कहाँ पुगे त्यो मलाई थाहा छैन । हाल मसित १ प्रति पनि रहेको छैन । डा. शिव प्रसाद पौडेलले भनेका थिए तपाईंका खरानी गाउँका कथा उत्कृष्ट छन् । यसको पुन प्रकाशन आवश्यक छ । मैले एकपल्ट रत्न पुस्तक भण्डारका मालिकसित मेरा पुस्तक प्रकाशित गरिदिने सम्बन्धमा कुरा चलाएको पनि थिएँ । उनले ल्याउनुहोस् तपाईंका पुस्तक भनेका पनि थिए । तर मैले प्रकाशानार्थ कुनै पुस्तक प्रस्तुत गरिनं । पठाइनं । कुरा कुरैमा सीमित रहे ।

वास्तवमा म पत्र पत्रिका र पुस्तकको वितरकको भूमिका पनि रहेको थिएँ र अझै पनि छु भन्दा हुन्छ । म शिलाङमा छँदा घर घरमा मात्र होइन हाट बजारमा पनि पत्र पत्रिका र पुस्तक बिक्री वितरण गर्दै हिंडेको छु । बुटवलमा पनि मैले यो भूमिका अपनाएकै छु । भए पनि मलाई थाहा भएको छ म कुनै राम्रो पत्र पत्रिका वा पुस्तक विक्रेता होइन । साँचो कु्रा गर्ने हो भने मैले लोकरा आसाममा छँदा धेरै नै पत्र पत्रिकाको बिक्री बितरण गरेको थिएँ । म त्यतिबेला नेपाली भाषा साहित्यको प्रचारकको भूमिकामा थिएँ । त्यतिबेला मैले विशेष बिक्री बितरण गरेका पत्रिका बनारसबाट प्रकाशित हुने आमा उदय आदि  हुन् । 

मैले आफूले प्रकाशित गरेको पुस्तक तथा पत्र पत्रिका पुस्तक पसललाई पनि बिक्री वितरणको लागि दिने पनि गरेको थिएँ । तर त्यहाँबाट मैले खासै फाइदा लिन सकिनं । एकपल्ट मैले ठूलै परिमाणमा साझा प्रकाशनलाई समझौता गरेर पुस्तक बिक्रीको लागि बुझाएको थिएँ । तर साझा प्रकाशन बन्द भए पछि मेरा पुस्तक कहाँ पुगे मलाई थाहा नै भएन । त्यहाँबाट मैले फुटेको कौडी पनि प्राप्त गर्न सकिनं । 

यसरी हेर्दा मैले मेरा पुस्तक र पत्रिका प्रकाशनको निम्ति जे जति रकम खर्च गरें त्यसबाट दुई तीन प्रतिशत पनि उठाउन सकिनं । तर यसमा मलाई दुख किन  छैन भने त्यो रकमबाट मैले आफ्ना पुस्तक र पत्रिका प्रकाशन गर्न सकें । मेरो लागि यो आफैमा एउटा उपलब्धि हो । मात्र दुख मलाई के कुराको छ भने मैले चाहे जति मेरा पुस्तक तथा पत्र पत्रिका व्यापक रूपमा पाठकका सामु पुराउन सकिनं । 

पाठकहरू पनि दुई किसिमका हुन्छन् । गंभीर कृति अध्ययन गर्ने चाहने पाठक । हल्का फुल्का पुस्तक वा पत्रिका पढ्ने पाठक । एक जमानामा हिन्दीका धेरै पाठकहरूले हिन्दीका उपन्यास सम्राट प्रेम चन्दका गोदान गबन जस्ता उत्कृष्ट उपन्यास होइन कि हिन्दीका प्यारेलाल आवारा र प्रेम वाजपयीका सस्ता हिन्दी बजारु उपन्यास ठूलो संख्यामा पढ्दथे । उनीहरूका उपन्यासले बजार पिटेको थियो । नेपालीमा पनि प्रकाश कोविदका उपन्यास पढ्ने पाठकको संख्या ठूलो थियो । तर मदन मणि दीक्षितको माधवी अध्ययन गर्ने पाठकको  संख्या अंगुलामा गन्न सकिन्छ ।

एक पल्ट देवदास चरित्रहीन जस्ता उत्कृष्ट उपन्यासका बंगाली लेखक शरतचन्द चटोपाध्यायका पाठकले उनलाई प्रश्न गरेछन् — मान्छेहरू रबिन्दनाथ टैगोरलाई ठूला लेखक भन्दछन् । तर मलाई उनका पुस्तक मन पर्न सकेनन् । मलाई त तपाईंका पुस्तक धेरै मन पर्दछन् । त्यसको जवाबमा शरत चन्द चटोपाध्यायले भनेका थिए — मैले तिमी जस्ता पाठकहरूलाई दृष्टिमा राखेर किताब लेख्दछु । यसैले तिमीलाई मेरा किताब मन पर्दछन् । रबीन्द्रनाथ टैगोरले म जस्ता पाठकलाई ध्यानमा राखेर पुस्तक लेख्दछन् । यसैले तिमीलाई उनका पुस्तक मन पर्दैनन् । यो पनि पाठकको सम्बन्धमा एउटा साँचो कुरा हो । 

निश्चित रूपमा गंभीर साहित्यिक कृति अध्ययन गर्ने पाठकको सैख्या न्यून नै हुन्छ । हल्का फु्ल्का पुस्तक तथा पत्र पत्रिका पढ्ने पाठकको संख्या नै धेरै हु््न्छ । समाज शिक्षित हुँदै जाँदा यस स्थितिमा परिवर्तन आउन सक्दछ । 

१४—३—२०८१

२८—६—२०२४


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...