Skip to main content

सत्यबारे सत्य

 

   

सत्य सितिमिती हजम हुन नसक्ने कुरा हो । पच्न नसक्ने कुरा हो । यद्पि यसलाई अन्ततः हजम नगरी सुख छैन ।  स्वीकार नगरी पन्छिन मिल्दैन । झुठ टिक्दैन । सत्य डग्दैन । संसारमा जति सत्य कुरा छन् ती असत्य कुरासित ठूलो संघर्ष गरेर मात्र स्थापित भएका छन् । ठूला लडाईं लडेर मात्र  स्थापित हुँदै गइरहेका छन् । यद्पि यो कुरा पनि सत्य हो । सत्य निरपेक्ष हुँदैन । सापेक्ष हुन्छ । सत्य देश काल परिस्थिति सापेक्ष हुन्छ । जुन कुरा हिजो सत्य थियो आज त्यो सत्य नहुन पनि सक्दछ । जुन कुरा आज सत्य छ त्यो भोलि असत्य पनि हुन सक्दछ । हिजो सूर्य पृथ्वीको वरिपरि घुम्दछ भन्ने कुरा सत्य थियो । आज पृथ्वी सूर्यको वरिपरि घुम्दछ भन्ने कुरा सत्य हो ।  जुन कुरा नेपालको लागि सत्य छ त्यो अमेरिकाको लागि सत्य नहुन सक्दछ । नेपालमा दिन हुँदा अमेरिकामा रात हुन सक्दछ ।  सत्यलाई सम्पूर्ण रूपमा पनि देख्न पर्ने हुन्छ । अंशलाई देखेर पूर्ण देखेको दाबी गर्नु हुँदैन । संत्यलाई एक पक्षीय रूपमा हेर्न हुँदैन । निश्चित रूपमा त्यसलाई सम्पूर्णतामा  देख्न पर्ने हुन्छ । सम्पूर्णतामा बुझ्न पर्ने हुन्छ । यद्पि यो कठिन कुरा हो । जटिल कुरा हो ।    यस सम्बन्धमा माआले भनेका छन् मान्छेहरूले पात देखेको तर रुख नदेखेको पनि हुन सक्दछन् । रुख  देखेको तर जंगल नदेखेको पनि हुन सक्दछन् ।  कहिले हामीले प्रतिशतको आधारमा पनि सत्यको निरुपण गर्नु पर्ने हुन्छ । कुनै मान्छे ४९ प्रतिशत खराब र ५१ प्रतिशत राम्रो छ भने उसलाई हामीले राम्रो मान्छे भन्नु पर्ने हुन्छ । कुरो यस्तो छ ।

सत्यको सम्बन्धमा एउटा अफ्रिकाको लोककथा पनि निकै महत्वपूर्ण  देखिन्छ । त्यसमा के भनिएको छ भने सत्य भन्ने कुरो पहाडमाथि भएको चरोले प्रतिविम्वित गर्दथ्यो । एकपल्ट एक जना मान्छे सत्य पता लगाउनको लागि  सत्यको चरोलाई भेट्न भनेर  पहाडको चुचुरामा पुग्न खोजेछ । पहाड चढ्न खोजेछ । ऊ बाटो खन्दै बनाउँदै बल्ल बल्ल पहाडको चुचुरोलाई छुन पुगेछ । पहाडको चुचुरो स्पर्श गर्ने बेलासम्म ऊ निकै बुढो भैसकेको रहेछ । पहाडको चुचुरोमा पुग्दा उसले के देखेछ भने उसको अगाडि अझ अग्ला अग्ला पहाड उसलाई चुनौती दिंदै खडा रहेका छन् । एउटा पहाडको चुचुरामा पुगेर मर्न थाल्दा थाल्दै माथिबाट खसेको चरोको एउटा रौंलाई ऊ स्पर्श गर्न पुगेछ । चरोले सम्पूर्ण सत्यलाई प्रतिनिधित्व गर्दथ्यो । रौंले त्यसको अत्यन्त सानो भाग । अत्यन्त सुक्ष्म अंश । जे होस्, जीवनभरिको ठूलो संघर्ष र  प्रयासले त्यस व्यक्तिले सत्यको एउटा रौंसम्म पता लगाउन सकेछ । उसले मर्दा मर्दै भनेछ — मैले बाटो खन्दै यहाँसम्म पुगेर सत्यको एउटा रौं सम्म पता लगाएको छु । अब सत्य पता लगाउन अघि बढ्ने मान्छे मैले बनाइदिएको बाटो हुँदै अझ अघि बढी अझ बढी सत्य पता लगाउन सक्ने छन् । सत्य पता लगाउने यस अभियानले निरन्तरता लिने छ । 

कति परिस्थितिमा सत्य कुरा असत्य भए पनि सत्य मान्नु पर्ने पनि हुँदो रहेछ । यसको उदाहरणको लागि रुसी कथाकार लिउ टल्सट्वाएको लघु कथा अघि सार्न सकिन्छ । यस कथामा भनिएको छ  एकपल्ट बाघले लखेटिरहेको व्याँसोआफ्नो ज्यान बचाउन झाडीको बाटो हुँदै भागिरहेको रहेछ । त्यतिबेला झाडीमा बसको स्यालले भनेछ — यता नआ । यो मेरो ठाउँ हो । त्यतिबेला ज्यान जोगाउन भागिरहेको व्याँसोले भाग्दा भाग्दै भनेछ — यदि मसित प्रशस्त समय हुन्थ्यो भने म तँलाई ठीकसित बताइदिन्थें यो कसको ठाउँ हो । तर यतिबेला तैंले भनेकोे कुरा नै ठीक हो ।

सत्य पता लगाउने सन्दर्भमा प्राचीनकालका सात बुद्धिमानमध्ये एक बुद्धिमान ग्रिकका दार्शनिक सोक्रेटिज ( ४७०—३९९ ई.पू( ) ले आफ्नो ज्यान समेत गुमाउनु परेको थियो । उनलाई विष पान गरेर ज्यान त्याग्नु परेको थियो ।  उनी विश्वका प्रथम दार्शनिक शहीद हुन पुगेका थिए । भनिन्छ उनलाई मृत्यु दण्डको सजाय दिनलाई उनीमाथि मुद्दा चलाएको थियो । उनीमाथि लागेको अभियोग थियो उनले ग्रिकले परम्परादेखि पुज्दै आएका देवतालाई मानेनन् । पुजेनन् ।  उनले नयाँ देवताको स्थापना गर्न खोजे । उनले युवा वर्गलाई भडकाए । उनीहरूलाई भ्रष्ट पारे । उनीमाथि ३९९ ई. पू. चलेको मुद्दाको सुनवाई ५०० जुरीले गरेका थिए । ५०० मध्ये २८० जुरीले उनलाई दोषी ठहर गरेका थिए भने २२० जुरीले उनलाई निर्दोष ठहर गरेका थिए । यसरी उनलाई बहुसंख्यक जुरीको ठहर बमोजिम मृत्य दण्ड दिइएको थियो । राज्य उनले आफ्नो विचार फिर्ता लिएमा उनलाई भरसक मृत्यु दण्ड नदिने सोंचमा थियो । आफ्नो विचार फिर्ता लिन उनका चेलाले अनुरोध पनि गरेका थिए । तर सोक्रेटिज त्यसको लागि तयार भएनन् । उनले भने उनी कुनै हालतमा पनि आफ्ना बिचार परित्याग गर्न तयार छैनन् । उनले के पनि भने भने उनी मरे पनि उनको विचार मर्दैन । उनले जेलरले निकै दुखित हुँदै  दिएको विष हेमलक पिएर मृत्यु वरण गरे । उनको मृत्युको घडीको मार्मिक चित्रण गर्दै सोक्रेटिज (  सुकरात ) का चेला प्लेटोले जुन रिपोर्ट लेखेका छन् त्यो विश्व साहित्य कै एउटा उत्कृष्ट कृति मान्न सकिन्छ । त्यस जीवन्त लेखन वा रिपोर्टलाई मास्टर पिस भन्न सकिन्छ ।

जिउसेन्टरिक ( पृथ्वीलाई विश्व व्रह्माण्डको केन्द्र मान्ने प्राचीन ग्रिक मोडल ) को सट्टा  खगोलशास्त्री पोलिस निकोलस कोपर्निकश (  १४७३—१५४३ ) को हेलियोसेन्टरिक मोडल ( सूर्यलाई विश्व व्रह्माण्डको केन्द्र मान्ने मोडल ) का मान्यतालाई समर्थन गर्दै  पृथ्वीको वरिपरि सूर्य होइन कि सूर्यको वरिपरि पृथ्वी घुम्छ जस्ता बिचार व्यक्त गरेको कारण इटालीका दार्शनिक, कवि तथा व्रह्माण्डशास्त्री वैज्ञानिक  जिओरडानो ब्रुनो (  १५४८—१६०० ) लाई बाइबलको मान्यता विपरीत बोल्यो भन्ने आरोपमा केथोलिक चर्चले कठोरतम दण्ड दिंदै  सार्वजनिक स्थलमा जिउँदै जलाएर विभत्स तरिकाले हत्या गरेको थियो ।  

ईटलीका दार्शनिक तथा वैज्ञानिक ग्यालिलिओ ग्यालिलेई (  १५६४  —१६४२  ) लाई आधुनिक पदार्थ विज्ञानका पिता मानिन्छ । यिनले शक्तिशाली टेलिस्कोपको पनि आविस्कार गरेका थिए । शक्तिशाली टेलिस्कोपको आविस्कार आफैमा एउटा ठूलो क्रान्ति थियो । यिनले निकोलस कोपर्निकशको सूर्यलाई विश्व व्रह्माण्डकोे केन्द्र मान्ने मान्यतालाई पक्षपोषण गरेको कारण राज्यले उनलाई बन्दी बनाएको थियो. । जेलमा 

कोचेको थियो । ब्रुनोलाई जस्तै मृत्यु दण्ड दिने चेतावनी  दिएको थियो । उनलाई आफ्नो यस विचारलाई फिर्ता लिन दबाब दिएको थियो ।  उनले बताएका छन् उनले भित्री मनले पृथ्वीलाई होइन सूर्यलाई केन्द्र मान्ने  बिचारप्रति अटुट  आस्था तथा निष्ठा राख्दै  मुखले आफ्नो विचार फिर्ता लिएको कुरा भनेको थिए । अभिनय गरेका थिए । उनले गोप्य रूपले आफ्ना वैज्ञानिक मान्यता तथा  विचारका सम्बन्धमा पुस्तक नै लेखेका थिए जुन पछि प्रकाशित भएको थियो । 

साहित्यमा नोबेल पुरस्कार प्राप्त गरेका अमेरिकी उपन्यासकार अर्नेष्ट हेमिग्वे ( १८९९ —१९६१ ) ले आफ्नो विश्व चर्चित उपन्यास बुढो मान्छे र समुन्द्र ९ त्जभ इमि ःबल बलम तजभ क्भब ० मा लेखेका छन् — एक जना मान्छेलार्ई  खतम गर्न सकिन्छ  तर पराजित गर्न सकिन्न ९ ब् mबल अबल दभ मभकतचयथभम दगत लयत मभाभबतभम । ० ।

यी सब कुराले के पुष्टि गर्दछ भने संसारमा सत्य सजिलै स्थापित गरिएको होइन । पक्कै हो सत्यलाई स्थापित गर्न ठूलो महाभारतको युद्ध लड्न परेको थियो । कैयौंले आफ्नो जीवनको आहुति दिन परेको थियो । साँचो हो एक त सत्यलाई पता लगाउन गाह्रो,दोस्रो सत्य पता लागे पनि त्यसलाई स्थापित गर्न गाह्रो । 

२७—३—२०८१ 

११—७—२०२४

 


Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...