मेरा बुबाले मलाई पिटी पिटी पढाउन थाल्दा भन्नु हुन्थ्यो उहाँले लेखपढ गर्न रुखको ठुटोमा लेखेर सिक्नु भएको हो । वास्तवमा त्यतिबेला बच्चा बच्चीहरूलाई लेख पढ गर्न कुनै स्कुल खुलेकै थिएन । कुनै स्कुल बनेकै थिएन । त्यसैले बुबाले स्कुली शिक्षा प्राप्त गर्न सक्ने कुरो भएन । तर जब म केटाकेटी थिएँ गल्कोटमा दुईवटा मिडिल स्कुल खुलेका थिए । हरिचौर ( पुरानो नाम दरम ) मा गल्कोटे राजा रानीको नाममा भरत चैतन्य मिडिल स्कुल । हटिया बजारमा गौमुखी मिडिल स्कुल । अहिले यी दुबै स्कुल अस्तित्वमा छैनन् । यिनको नाम निशान समेत मेटिएको छ ।
गोठ जाँदा रुखको ठुटामा लेखपढ गर्न सिक्नु भएको बुवा रविलाल साहनीले मलाई निकै धेरै पढाउने इच्छा राख्नु हुन्थ्यो र त्यसको लागि निकै प्रयास गर्नु पनि भएको थियो । उहाँ हाम्रो आँगाखेत स्थित दोकानको लागि माल समान लिन बटौली जाँदा डोकामा ठूलो वर्णमाला बोकाएर ल्याउनु हुन्थ्यो र मलाई त्यही ठूलो वर्णमालाबाट कख बारखरी आदि बढाउन शुरु गर्नु भएको थियो । उहाँ मलाई पिटी पिटी पढाउन खोज्नुहुन्थ्यो । बुवाले आजभोलि जस्तो रुसोको जस्तो प्रेमले पढाउने अवधारणाले दिग्द्रशित भएर वा पेस्टालोजी, डाल्टन, मन्टेश्वरी जस्ता विकसित शिक्षण पद्धतिको अनुशरण गरेर अध्यापन गर्ने कुरा पनि थिएन त्यतिबेला । त्यतिबेला नेपालमा विकसित तथा प्रचलित शिक्षा पद्धति नै पिटी पिटी पढाउनु पर्दछ भन्ने नै थियो । बुवाले पिटी पिटी मलाई पढाउँदा मैले कति ठूला वर्र्णमालाहरू फटालें फटालें त्यसकोे हिसाब किताब यतिबेला मसित छैन । तर पनि मेरो ध्यान लेख पढ्न पट्टि जाँदै गएन । पढ्ने कुरा मलाई संकटका दशा लागे जस्तो लाग्दथ्यो । राहु केतुका दशाले घेरे जस्तो लाग्दथ्यो । पढ्ने कुरा मलाई मेरो टाउकोमा पहाडको बोझ थमाएको जस्तो लाग्दथ्यो. । पढ्ने कुराले मलाई मेरो आजादी अपहरण गरे जस्तो लाग्दथ्यो. । बास्तवमा बुबा मलाई पढाउन कुरामा असफल हुनु भएको थियो । म नपढ्ने कुरामा सफल भइरहेको थिएँ । भए पनि म पटक्कै पढ्न नचाहँदा नचाहँदै पनि बुवा मलाई कख बारखरी र बाबा आमा मामा आदि पढाउन सफल हुनु भएको थियो । एक रात मलाई दोकानमा पढाउन थाल्दा मैले पढ्न नखोजेको हुनाले बुवाले मलाई दुई चार थप्पड लगाउनु भयो । म रुन थालें । त्यति नै बेला हाम्रो दोकानमा बास बसेका एकजना व्यक्तिले म रोइरहेको अवस्थामा मेरो हात मागी समातेर हेर्न थाले । उनले मेरो हात हेर्दै बुबालाई भने — तपाईंले जति पढाउन खोजे पनि यस बाबुले पढ्दैन । यसले नपढ्ने होइन । पढ्छ । धेरै नै पढ्छ । आफ्नै खुशीले पढ्छ । त्यस दिनदेखि बुबाले के भनेर मलाई पढाउन छोड्नु भयो भने यसको जन्म कुण्डलीमा जे जे लेखेको छ त्यो सबै पुग्दै आएको छ । अबदेखि म यसलाई पढाउँदिनं ।
बुवाको मृत्यु पछि दुई आमा मध्ये जेठी आमा तुलसी साहनीले मलाई भन्नु भयो — तँ ठूलो भए पछि तेरो बाउले गर्दै आएको मुख्यौली चलाउनु पर्ला । तँ मुखिया बन्न पर्ला । तिरो भरो बुजेर रसीद लेखेर दिनु पर्ला । हामीले आँखा देख्दैनौं । बाकस भरि किताव र कागजपत्र छन् । दोकानमा बही खाता छन् । ती सब पढ्नु पर्ला । हेर्नु पर्ला । जान्नु पर्ला । तैले पढिनस् भने कसरी काम चल्छ । कुनि किन हो यस पछि मलाई पढौं पढौं जस्तो लाग्यो । रसिद लेख्ने , तमसुक लेख्ने, राजीनामा लेख्ने । चिठी लेख्ने आदि जस्ता सबै बेहोरा सिकौं सिकौं जस्तो लाग्यो । त्यतिबेला यस्तै लेखाइ पढाइलाई नै ठूलो महत्व दिइन्थ्यो । यस्तै लेखाइ पढाइ जानेको मान्छेलाई धेरै पढको मान्छे मानिन्थ्यो ।
आमाले मलाई शुरुमा एक घण्टा हिंडेर दरम खोला वारि वारि पर्ने हरिचौरको भरत चैतन्य मिडिल स्कुलमा भर्ना गरिदिनु भयो । पछि त्यो टाढा भयो भनेर मेरो आग्रहमा दरम खोलाको झोलुंगो तरेर जानु पर्ने आधा घण्टाको जति बाटोमा पर्ने हटियाको गौमुखी मिडिल स्कुलमा भर्ना गरिदिनु भएको थियो । हरिचोरको भरत चैतन्य स्कुलमा को शिक्षक थिए मलाई ज्ञान छैन । मैले अध्ययन गर्दा. हर्षबहादुर बुढा ( पछि डा. हर्षबहादुर बुढा मगर ) मगर त्यहाँ शिक्षक थिए थिएनन् मलाई थाहा छैन । हटियामा भने पाल्पा तानसेनका म्याट्रिक पास राजमान सिंह शिक्षक थिए । शिक्षक हुनुभन्दा पहिले डाक्टरी पढ्न चाहेका राजमान सिंह पछि हेल्थ पढेर स्वास्थ्य चौकीमा स्वास्थकर्मी भएका थिए । जे होस्, स्कुली शिक्षा प्राप्त गर्दै जाँदा मैले अंग्रेजीमा एम ए र एल एल बी पास पास गरें । हिन्दीका परीक्षा प्रथमा, प्रवेशिका, प्रवोध , कोविद तथा राष्ट्रभाषा रत्न ( स्नातक सरह ) पनि उत्तीर्ण गरें । भारतमा हिन्दीको शिक्षक भएँ । नेपालमा स्कुलमा अंग्रेजीको शिक्षक भएँ । कलेजमा अंग्रेजीको प्राध्यापक भएँ । कानुनी व्यवसायी भएँ । अनुवादक भएँ । पत्रकार भएँ । पत्रिकाका सम्पादक भएँ । दुई दर्जन जति नेपाली र अंग्रेजी पुस्तकको लेखक भएँ । मेरो एउटा अंग्रेजी कविता १७ वटा वेभ साइटमा राखियो । चाइनिज ग्रिक स्पानिश फ्रेन्च आदि भाषामा अनुवाद पनि भयो । यसरी हेर्दा म नेपालीमा कविता लेखेर नेपालमा चर्चित नभए पनि अंग्रैजीमा कविता लेखेर एक हदसम्म विश्वमा चर्चित कवि पनि भएँ ।
यति भएर पनि मैले जुन उद्देश्य लिएर मेरो पढाइ शुरु गरेको थिएँ त्यो पुरा गर्न सकिनं । मेरो बुबा हुलुवा गाउँको मुखिया हुनुहुन्थ्यो । म उमेर नपुगेको. हुनाले बाबुको शेष पछि मुखिया हुन पाइनं । कान्छा बुबा दुर्गबहादुर साहनी हुलुवाको मुखिया हुनु भयो । म बाहिर बाहिर रहेको हुनाले कान्छा बुबाको शेष पछि पनि हुलुवाको मुखिया भइनं । हुलुवाका मुखिया भए हुलुवा पीपल डाँडाका गंगाराम गौतम । गंगाराम गौतमको पालादेखि मुखियाको अस्तित्व हराउँदै गयो. । उनको मृत्युसित मुखिया हुने परम्परा पनि समाप्त भयो । कुरा के भने म मुखिया हुनको लागि पढ्न थालेको मुखिया नै बनिनं । अर्को कुरा मैले बाकसमा भएका किताब र दोकानको बही खाता हेर्न पढ्न थालेको हुँ । बाकसमा भएका किताब मुलत धर्मशास्त्र सम्बन्धी भएका र अध्ययन गर्दै जाँदा धर्मप्रति मेरो आस्था हराउँदै गएको. हुनाले. तिनलाई वल्टाई पल्टाई अध्ययन गर्न जाँगर गरिनं । चासो राखिनं । आवश्यक पनि ठानिनं । पढिनं पनि । दोकानका बही खाता अध्ययन गर्न पनि मैले कुनै आवश्यकता ठानिनं । कुनै रुचि लिइनं । यस कारण पनि कि म बुवाको बन्द व्यापार पेशामा लागिनं । भनाइ छ नेवार गरीव भयो. भने पुराना बही खाता पल्टाउन थाल्दछ । म त्यसरी पुरानो बही खाता खोतल्दै डुवेको पैसा उठाउने. मनस्थितिमा पनि रहिनं ।
हाम्रो घरमा भएका पुस्तक खाता पत्र गाउँमा छरिए पनि केही अझ पनि मसित नै सुरक्षित छन् । तिनको ऐतिहासिक वा सामाजिक महत्व त होला अहिले पनि । तर मैले. तिनलाई पल्टाएर पढ्ने जाँगर गरेको छैन । मलाई ती पुराना पुस्तक र बही खाता पढेर समय नष्ट गर्न भन्दा विश्वमा प्रकाशित नयाँ नयाँ चर्चित पुस्तक पढ्न पाए हुन्थ्यो जस्तो हुन्छ । यसैले म भन्दछु आमाले मलाई जुन उद्देश्य प्राप्तिको लागि पढ्न उत्प्रेरित गर्नु भयो म त्यस दिशातिर लागिनं । यस अर्थमा मेरो पढाइ मेरो लक्ष्य अनुरूपको भएन पनि भन्न सकिन्छ होला । मेरो अध्ययन व्यर्थ भयो पनि भन्न सकिन्छ होला । मेरो पढाइ खेर गयो पनि भन्न सकिन्छ होला ।
१०—७—२०८१
२६—१०—२०२४
Comments
Post a Comment