Skip to main content

हराएको बस्तुको महत्व

 


 कुनै चीज आफूसित हुँदा भन्दा हराउँदा अथवा खोज्दा नभटिंदा हामीलाई त्यसको महत्व नगण्य भए पनि निकै महत्वपूर्ण हुन जाँदो रहेछ । यो कुरा मैले धेरैपल्ट अनुभव गरेको छु । यसपल्ट पनि त्यस्तै अनुभव भइरहेको छ । प्रसंग यतिबेला मैले मेरो आसामदेखि मणिपुरसम्मको पुस्तक नभेट्दाको हो । निश्चित रूपमा यसको केही प्रति मसित किन हुनु पर्दछ भने यो पुस्तक मैले नै भैरहवाबाट २०४५ सालमा १००० प्रति प्रकाशित गरेको थिएँ । केही पुस्तक वितरित भए पनि केही त मसित नै रहेका थिए । रहेका छन् । यतिबेला यो पुस्तक अनुसन्धानको लागि माँग हुँदा मैले धमरधुस लागेर त्यसको खोजी गर्नु परेको हो  । मैले चारैतिर खोज्दा पनि यो पुस्तक हात लागेन । राखेको जस्तो लागेको ठाउँमा खोज्दा पनि भेटिएन ।

यतिबेला मैले धमरधुस लागेर नभेटिएको पुस्तक यो मात्र भने अवश्य होइन ।  यस अघि मैले जति खोजे पनि मेरो एकांकी नाटकको पुस्तक ज्याला भेटिएको थिएनं । ज्याला मैले शिलाङमा लेखेको थिएँ । त्यहाँ ज्याला नाटक खेलिएको थियो । र्मचन गरिएको थियो । तर यसको प्रकाशन भने धेरै पछि गरिएको थियो । मैले ज्याला नाटक गोरखपुरबाट २०४० सालमा २००० प्रति प्रकाशित गरेको थिएँ ।  जवाहरलाल विश्वविद्यायलमा पी एच डी गरिरहेका प्रमोद  हमालले आवाजविहीनको आवाज नामक संंस्था मार्फत ज्याला नाटकको भिडियो बनाएका रहेछन् । उनले म  धनपति उपाध्याय। तेज प्रसाद कडेल लगायतका साथीहरू दिल्ली गएको बेलामा प्रमोद  हमालले एकजना प्रवासी नेपालीको कोठामा उनले बनाएको ज्याला नाटकको भिडियो हेर्नुहोला भनेका थिए । तर टिभीमा क्रिकेट प्रसारण भइरहेको र धनपति उपाध्याय क्रिकेट हेर्नमा बढी उत्सुक देखिएको अवस्था भएको हुँदा मैले त्यतिबेला ज्याला नाटकको भिडियो हेर्ने मौका पाइनं । फेरि पछि मलाई त्यो भिडियो हेर्ने मौका जुरेन । 

पंचायतकालमा मोदनाथ प्रश्रित जेल परेको बेलामा म उनलाई भेट्न गौर जेलमा गएको थिएँ । त्यतिबेला उनले मलाई बताएका थिए उनले जेलबाट गौरवजारमा मेरो नाटक ज्याला खेलेको आवाज सुनेका थिए ।

हाल आएर यही ज्याला नाटकको एक प्रति पनि मसित नहृुँदा मैले फेसबुक मार्फत कसैसित यसको एक प्रति छ कि भनेर सार्वजनिक घोषणा गरेको थिएँ । कुनै समयमा बुटवल क्याम्पसमा मेरै विद्यार्थी समेत रहेका अजीत खनालले मलाई सूचित गरेका थिए — ज्याला नाटकको १ प्रति उनीसित छ । उनले त्यो नाटक नाटक विधामा पी एच डी गर्दा काठमाडौं बोकेर लगेका रहेछन् । हाल उनी पी एच डीको डिग्री लिएर बुटवल क्याम्पसमा कार्यरत छन् ।  उनीबाट मैले ज्याला नाटक मागेको छैन । उनले  पनि संझना गरेर दिएका छैनन् । उनीसित ज्याला नाटक छ भनेर म ढृुक्क भएको छु । जहिले खोजे पनि पाइन्छ भन्ने विश्वास लिएको छु । अर्को कुरा  ज्याला नाटक मेरै घरमा पनि कतै लुकेर छिपेर बसेको हुन सक्दछ । अचानक कुनै बेला भेटिन सक्दछ । भेटिएला ।

कुरा त्यति मात्र होइन यतिबेला मेरो हातमा मेरो दोस्रो कथा कथा संग्रह खरानी गाउँ (  २०५७ ) एक प्रति पनि छैन । यो नाटकको प्रकाशन कर्णबहादुर कार्कीले गरेका थिए । उनले यो कथा संग्रह प्रकाशित गरेर मलाई  ५० प्रति जति उपलब्ध गराएका थिए । बाँकी प्रति उनले बुटवलमा स्थित  चेतना पुस्तक पसललाई बिक्रीको लागि दिएका थिए । तर त्यो चेतना पुस्तक पसल उहिलै नै बन्द भएको थियो । उसले खरानी गाउँ के गर्यो थाहा छैन ।  मसित यतिबेला खरानी गाउँ कथा संग्रह नभए पनि खरानी गाउँ कथा संग्रहमा परेको कथा खरानी गाउँ छ ।  खरानी गाउँ कथा संग्रहमा परेको मेरा खरानी गाउँ कथा प्रज्ञा आधुनिक नेपाली कथा भाग —३ मा समावेश गरिएको छ । खरानी गाउँको खासै प्रचार प्रसार हुन पाएन । सीमित व्यक्तिका हातमा मात्र  पुग्न सक्यो । एकपल्ट मलाई डा. शिव प्रसाद पौड्यालले भनेका थिए — तपाईंका खरानी गाउँका कथा निकै राम्रो रहेछन् । यसको व्यापक प्रचार हुन पाएन ।  दोबारा प्रकाशन गर्नुहोस् । मैले नयाँ कथा संग्रह नै प्रकाशित गर्न नसकेको अवस्थामा खरानी गाउँको पुन प्रकाशन गर्ने पहल गरिनं ।

जहाँसम्म सिंगै खरानी गाउँ कथा संग्रहको कुरो छ आज लगभग ४ वर्षदेखि मैले त्यसको दर्शन पाउन सकेको छैन । मलाई के विश्वास छ भने यो पुस्तक कतै न कतै अवश्य रहेको होला । खुदै मसित पनि कतै न कतै लुकेर बसेको होला । फेरि यस पुस्तकमा एम ए थिसिज पनि लेखिएको हुनाले र त्यस थेसिजको एक प्रति मसित पनि भएको हुनाले म त्यसमा कुन कुन कथा परेका थिए भन्ने कुरा सजिलै पता लगाउन सक्दछु । त्यसमा प्रकाशित कथाहरू विभिन्न पत्रिकामा प्रकाशित भएका हुनाले मसित प्रकाशित कथाका पत्रिका पनि हुन सक्दछन् । यसैले मेरा खरानी गाउँ कथा संग्रह हराएर पनि हराउन सक्ने कुरा भएन ।

कुरा जे भए तापनि यतिबेला मेरा हातमा मेरा केही प्रकाशित पुस्तक उपलब्ध छैनन् । या त ती पक्कै हराएका छन् वा कतै कुनै कुनामा दबिएर बसेका छन् । च्यापिएर बसेका छन् ।  यी किताब यतिबेला मेरा हातमा नपरेका हुनाले मेरा लागि अत्यन्त महत्वपूर्ण हुन पुगेका छन् ।  अत्यन्त अमूल्य हुन पुगेका छन् । मसित मैलै नै प्रकाशित गरेका कति पुस्तकहरू प्रकाशित भएका आधाभन्दा बढी संख्यामा मौजुद छन् । जता पनि मेरो ती पुस्तक छरपस्टिएका अवस्थामा रहेका हृुन्छन् । मैले साँझ विहान जति बेला पनि ती पुस्तकहरूको दर्शन पाइरहन्छु । त्यसैले होला मलाई ती पुस्तकहरू जति महत्वपूर्ण भए पनि खासै महत्वपूर्ण लाग्दैनन् । बरु महत्वहीन जस्ता लाग्दछन् ।  

कुरा यो पनि रहेछ  । जब कुनै कुरा खोजेर पनि भेटिन्न भन्ने कुरा थाहा लाग्दछ त्यतिबेला त्यो बस्तुलाई जति महत्वपूर्ण भए पनि खोजिने प्रयास गरिने रहनेछ । त्यसको पुनर प्राप्तिप्रतिको आशा पनि मरेर जाँदोरहेछ ।  त्यसप्रतिको चासो पनि घटेर जाँदो रहेछ । हटेर जाँदो रहेछ ।

मैरो संभवत प्रथम प्रकाशित कथा बनारसबाट प्रकाशित हुने आमामा छापिएको रहस्य कथा होइन भने ओइलाएको फूल कथा हो । यो कथा म आसाम दरंगको चार दुवार हाई स्कुलमा कक्षा ९ मा अध्ययनरत रहँदा प्रकाशित भएको थियो । ई सं १९६५ तिर । कथा प्रकाशित भएको थियो दिल्लीबाट नेपाली भाषामा  प्रकाशित हुने सैनिक समाचारमा । मैले यो कथा त्यस पत्रिकामा लोकराको फिप्थ आसाम राइफल्समा क्लर्क रहेका दरंग जिल्ला हाल शोणितपुर जिल्ला तेलियागाउँका निधिप्रसाद उपाध्यायको सल्लाहमा प्रकाशनार्थ पठाएको थिएँ । कथा प्रकाशित भए पछि सैनिक समाचारले मलाई मेरो चारदुवार हाई स्कुलको ठेगानमा पारिश्रमिक स्वरुप १५ रुपियाको मनिआर्डर चारदुवार पोष्ट अफिस मार्फत पठाइदिएको थियो ।  त्यतिबेला विद्यार्थी अवस्थामा १५ रुपिया पारिश्रमिक पाउनृु ठूलो कुरा थियो ।  पारिश्रमिक पाए पनि मैले मेरो कथा प्रकाशित पत्रिका पाएको. थिइनं । प्राप्त गर्न सकेको थिइनं । 

पछि म शिलाङ छँदा मेरो परिचय सेते क्षेत्रीसित भयो । सेते क्षेत्रीले एक क्षेत्रीको नाममा खेलकूद समाचार लेख्दथे । उनी शिलाङको वाह्रपन्थरमा बस्दथे । उनले.मलाई एक दिन भेट हुँदा भने.— तपाईं कथा लेख्नु हुने रहेछ । मैले तपाईंको एउटा कथा सैनिक समाचारमा पढेको थिएँ । मैले खुशी हुँदै भने के त्यो सैनिक समाचार तपाईंसित छ । उनले जबाबमा भनेका थिए — हो त्यो पत्रिका मसित छ ।  उनीबाट पत्रिका उनीसित  छ भन्ने सकारात्मक  उत्तर पाए पछि मैले भनेको थिएँ — मलाई त्यो पत्रिका उपलब्ध गराउनु होला । उनले  सैनिक समाचार पत्रिका ल्याएर मलाई  दिएका थिए । उपलब्ध गराएका थिए । निश्चित रूपमा  यसको लागि उनी मेरो धन्यवादका पात्र बनेका थिए ।

मेरो ओइलाएइको फूल कथा छापिएको. सैनिक समाचार धेरै दिनसम्म मसित नै मेरो पाहुना भएर बस्यो । म शिलाङका जुन जुन ठाउँमा डेरा गरेर बस्दथें त्यस ठाउँमा  त्यो सैनिक समाचार पनि त्यही डेरा जमाउन पुग्दथ्यो । मैले त्यस पत्रिकालाई मसित प्रेम पूर्वक राखेको थिएँ । तर दुर्भाग्यवस  म नङथुमाईको जिङकिङमा डेरा गरेर बसेको बेलामा सिमेन्ट र पानीको चिसोले. सैनिक समाचारलाई गलाएर काम नै नलाग्ने बनाइदिएको थियो । खतम गरिदिएको थियो । त्यो पत्रिकाको अस्तित्व नै समाप्त भए पछि मेरो मनमा त्यसलाई पुन प्राप्त गर्ने आशा मरेर गयो । मैले पाण्डुलिपि राख्ने प्रचलन नगरेको हुनाले वा राखेको भए पनि त्यसको संरक्षण नगरेको हुनाले ओइलाएको फुल कथा सिमेन्टको चिसो र पानीले गलेर आकारविहीन  भएको सैनिक समाचार पत्रसित नै ओइलाएर गयो ।  जे होस्, म सैनिक समाचार पत्रिका खोज्ने मेरो बाटो नै समाप्त भएको हुनाले त्यसले मलाई कुनै समस्या पैदा गरेको हुँदैन ।  मैले त्यो पत्रिका खोज्ने कुनै झञ्झट उठाउनु पर्दैन । हुन त मेरो कथा प्रकाशित भएको सैनिक समाचार कुनै न कुनै प्रति यो संसारको कुनै कुनामा अझ पनि सुरक्षित भएको हुन सक्दछ । तर मलाई थाहा छ त्यो कतै सुरक्षित भए पनि मेरो पहुँचदेखि धेरै टाढा छ । त्यसलाई प्राप्त गर्ने मेरो प्रयास भए रहे पनि त्यो  सफल हुन संभव देखिन्न । यसैले पनि त्यस पत्रिकाको लागि मैले टाउको दुखाइरहनु पर्ने कुनै कारण छैन । मैले यस पत्रिकालाई मैले प्राप्त गर्नु पर्ने पुस्तक वा पत्रपत्रिकाको सूचिमा राखेको छैन । 

१८—७—२०८१

३—११—२०२४

 

  


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...