कुनै चीज आफूसित हुँदा भन्दा हराउँदा अथवा खोज्दा नभटिंदा हामीलाई त्यसको महत्व नगण्य भए पनि निकै महत्वपूर्ण हुन जाँदो रहेछ । यो कुरा मैले धेरैपल्ट अनुभव गरेको छु । यसपल्ट पनि त्यस्तै अनुभव भइरहेको छ । प्रसंग यतिबेला मैले मेरो आसामदेखि मणिपुरसम्मको पुस्तक नभेट्दाको हो । निश्चित रूपमा यसको केही प्रति मसित किन हुनु पर्दछ भने यो पुस्तक मैले नै भैरहवाबाट २०४५ सालमा १००० प्रति प्रकाशित गरेको थिएँ । केही पुस्तक वितरित भए पनि केही त मसित नै रहेका थिए । रहेका छन् । यतिबेला यो पुस्तक अनुसन्धानको लागि माँग हुँदा मैले धमरधुस लागेर त्यसको खोजी गर्नु परेको हो । मैले चारैतिर खोज्दा पनि यो पुस्तक हात लागेन । राखेको जस्तो लागेको ठाउँमा खोज्दा पनि भेटिएन ।
यतिबेला मैले धमरधुस लागेर नभेटिएको पुस्तक यो मात्र भने अवश्य होइन । यस अघि मैले जति खोजे पनि मेरो एकांकी नाटकको पुस्तक ज्याला भेटिएको थिएनं । ज्याला मैले शिलाङमा लेखेको थिएँ । त्यहाँ ज्याला नाटक खेलिएको थियो । र्मचन गरिएको थियो । तर यसको प्रकाशन भने धेरै पछि गरिएको थियो । मैले ज्याला नाटक गोरखपुरबाट २०४० सालमा २००० प्रति प्रकाशित गरेको थिएँ । जवाहरलाल विश्वविद्यायलमा पी एच डी गरिरहेका प्रमोद हमालले आवाजविहीनको आवाज नामक संंस्था मार्फत ज्याला नाटकको भिडियो बनाएका रहेछन् । उनले म धनपति उपाध्याय। तेज प्रसाद कडेल लगायतका साथीहरू दिल्ली गएको बेलामा प्रमोद हमालले एकजना प्रवासी नेपालीको कोठामा उनले बनाएको ज्याला नाटकको भिडियो हेर्नुहोला भनेका थिए । तर टिभीमा क्रिकेट प्रसारण भइरहेको र धनपति उपाध्याय क्रिकेट हेर्नमा बढी उत्सुक देखिएको अवस्था भएको हुँदा मैले त्यतिबेला ज्याला नाटकको भिडियो हेर्ने मौका पाइनं । फेरि पछि मलाई त्यो भिडियो हेर्ने मौका जुरेन ।
पंचायतकालमा मोदनाथ प्रश्रित जेल परेको बेलामा म उनलाई भेट्न गौर जेलमा गएको थिएँ । त्यतिबेला उनले मलाई बताएका थिए उनले जेलबाट गौरवजारमा मेरो नाटक ज्याला खेलेको आवाज सुनेका थिए ।
हाल आएर यही ज्याला नाटकको एक प्रति पनि मसित नहृुँदा मैले फेसबुक मार्फत कसैसित यसको एक प्रति छ कि भनेर सार्वजनिक घोषणा गरेको थिएँ । कुनै समयमा बुटवल क्याम्पसमा मेरै विद्यार्थी समेत रहेका अजीत खनालले मलाई सूचित गरेका थिए — ज्याला नाटकको १ प्रति उनीसित छ । उनले त्यो नाटक नाटक विधामा पी एच डी गर्दा काठमाडौं बोकेर लगेका रहेछन् । हाल उनी पी एच डीको डिग्री लिएर बुटवल क्याम्पसमा कार्यरत छन् । उनीबाट मैले ज्याला नाटक मागेको छैन । उनले पनि संझना गरेर दिएका छैनन् । उनीसित ज्याला नाटक छ भनेर म ढृुक्क भएको छु । जहिले खोजे पनि पाइन्छ भन्ने विश्वास लिएको छु । अर्को कुरा ज्याला नाटक मेरै घरमा पनि कतै लुकेर छिपेर बसेको हुन सक्दछ । अचानक कुनै बेला भेटिन सक्दछ । भेटिएला ।
कुरा त्यति मात्र होइन यतिबेला मेरो हातमा मेरो दोस्रो कथा कथा संग्रह खरानी गाउँ ( २०५७ ) एक प्रति पनि छैन । यो नाटकको प्रकाशन कर्णबहादुर कार्कीले गरेका थिए । उनले यो कथा संग्रह प्रकाशित गरेर मलाई ५० प्रति जति उपलब्ध गराएका थिए । बाँकी प्रति उनले बुटवलमा स्थित चेतना पुस्तक पसललाई बिक्रीको लागि दिएका थिए । तर त्यो चेतना पुस्तक पसल उहिलै नै बन्द भएको थियो । उसले खरानी गाउँ के गर्यो थाहा छैन । मसित यतिबेला खरानी गाउँ कथा संग्रह नभए पनि खरानी गाउँ कथा संग्रहमा परेको कथा खरानी गाउँ छ । खरानी गाउँ कथा संग्रहमा परेको मेरा खरानी गाउँ कथा प्रज्ञा आधुनिक नेपाली कथा भाग —३ मा समावेश गरिएको छ । खरानी गाउँको खासै प्रचार प्रसार हुन पाएन । सीमित व्यक्तिका हातमा मात्र पुग्न सक्यो । एकपल्ट मलाई डा. शिव प्रसाद पौड्यालले भनेका थिए — तपाईंका खरानी गाउँका कथा निकै राम्रो रहेछन् । यसको व्यापक प्रचार हुन पाएन । दोबारा प्रकाशन गर्नुहोस् । मैले नयाँ कथा संग्रह नै प्रकाशित गर्न नसकेको अवस्थामा खरानी गाउँको पुन प्रकाशन गर्ने पहल गरिनं ।
जहाँसम्म सिंगै खरानी गाउँ कथा संग्रहको कुरो छ आज लगभग ४ वर्षदेखि मैले त्यसको दर्शन पाउन सकेको छैन । मलाई के विश्वास छ भने यो पुस्तक कतै न कतै अवश्य रहेको होला । खुदै मसित पनि कतै न कतै लुकेर बसेको होला । फेरि यस पुस्तकमा एम ए थिसिज पनि लेखिएको हुनाले र त्यस थेसिजको एक प्रति मसित पनि भएको हुनाले म त्यसमा कुन कुन कथा परेका थिए भन्ने कुरा सजिलै पता लगाउन सक्दछु । त्यसमा प्रकाशित कथाहरू विभिन्न पत्रिकामा प्रकाशित भएका हुनाले मसित प्रकाशित कथाका पत्रिका पनि हुन सक्दछन् । यसैले मेरा खरानी गाउँ कथा संग्रह हराएर पनि हराउन सक्ने कुरा भएन ।
कुरा जे भए तापनि यतिबेला मेरा हातमा मेरा केही प्रकाशित पुस्तक उपलब्ध छैनन् । या त ती पक्कै हराएका छन् वा कतै कुनै कुनामा दबिएर बसेका छन् । च्यापिएर बसेका छन् । यी किताब यतिबेला मेरा हातमा नपरेका हुनाले मेरा लागि अत्यन्त महत्वपूर्ण हुन पुगेका छन् । अत्यन्त अमूल्य हुन पुगेका छन् । मसित मैलै नै प्रकाशित गरेका कति पुस्तकहरू प्रकाशित भएका आधाभन्दा बढी संख्यामा मौजुद छन् । जता पनि मेरो ती पुस्तक छरपस्टिएका अवस्थामा रहेका हृुन्छन् । मैले साँझ विहान जति बेला पनि ती पुस्तकहरूको दर्शन पाइरहन्छु । त्यसैले होला मलाई ती पुस्तकहरू जति महत्वपूर्ण भए पनि खासै महत्वपूर्ण लाग्दैनन् । बरु महत्वहीन जस्ता लाग्दछन् ।
कुरा यो पनि रहेछ । जब कुनै कुरा खोजेर पनि भेटिन्न भन्ने कुरा थाहा लाग्दछ त्यतिबेला त्यो बस्तुलाई जति महत्वपूर्ण भए पनि खोजिने प्रयास गरिने रहनेछ । त्यसको पुनर प्राप्तिप्रतिको आशा पनि मरेर जाँदोरहेछ । त्यसप्रतिको चासो पनि घटेर जाँदो रहेछ । हटेर जाँदो रहेछ ।
मैरो संभवत प्रथम प्रकाशित कथा बनारसबाट प्रकाशित हुने आमामा छापिएको रहस्य कथा होइन भने ओइलाएको फूल कथा हो । यो कथा म आसाम दरंगको चार दुवार हाई स्कुलमा कक्षा ९ मा अध्ययनरत रहँदा प्रकाशित भएको थियो । ई सं १९६५ तिर । कथा प्रकाशित भएको थियो दिल्लीबाट नेपाली भाषामा प्रकाशित हुने सैनिक समाचारमा । मैले यो कथा त्यस पत्रिकामा लोकराको फिप्थ आसाम राइफल्समा क्लर्क रहेका दरंग जिल्ला हाल शोणितपुर जिल्ला तेलियागाउँका निधिप्रसाद उपाध्यायको सल्लाहमा प्रकाशनार्थ पठाएको थिएँ । कथा प्रकाशित भए पछि सैनिक समाचारले मलाई मेरो चारदुवार हाई स्कुलको ठेगानमा पारिश्रमिक स्वरुप १५ रुपियाको मनिआर्डर चारदुवार पोष्ट अफिस मार्फत पठाइदिएको थियो । त्यतिबेला विद्यार्थी अवस्थामा १५ रुपिया पारिश्रमिक पाउनृु ठूलो कुरा थियो । पारिश्रमिक पाए पनि मैले मेरो कथा प्रकाशित पत्रिका पाएको. थिइनं । प्राप्त गर्न सकेको थिइनं ।
पछि म शिलाङ छँदा मेरो परिचय सेते क्षेत्रीसित भयो । सेते क्षेत्रीले एक क्षेत्रीको नाममा खेलकूद समाचार लेख्दथे । उनी शिलाङको वाह्रपन्थरमा बस्दथे । उनले.मलाई एक दिन भेट हुँदा भने.— तपाईं कथा लेख्नु हुने रहेछ । मैले तपाईंको एउटा कथा सैनिक समाचारमा पढेको थिएँ । मैले खुशी हुँदै भने के त्यो सैनिक समाचार तपाईंसित छ । उनले जबाबमा भनेका थिए — हो त्यो पत्रिका मसित छ । उनीबाट पत्रिका उनीसित छ भन्ने सकारात्मक उत्तर पाए पछि मैले भनेको थिएँ — मलाई त्यो पत्रिका उपलब्ध गराउनु होला । उनले सैनिक समाचार पत्रिका ल्याएर मलाई दिएका थिए । उपलब्ध गराएका थिए । निश्चित रूपमा यसको लागि उनी मेरो धन्यवादका पात्र बनेका थिए ।
मेरो ओइलाएइको फूल कथा छापिएको. सैनिक समाचार धेरै दिनसम्म मसित नै मेरो पाहुना भएर बस्यो । म शिलाङका जुन जुन ठाउँमा डेरा गरेर बस्दथें त्यस ठाउँमा त्यो सैनिक समाचार पनि त्यही डेरा जमाउन पुग्दथ्यो । मैले त्यस पत्रिकालाई मसित प्रेम पूर्वक राखेको थिएँ । तर दुर्भाग्यवस म नङथुमाईको जिङकिङमा डेरा गरेर बसेको बेलामा सिमेन्ट र पानीको चिसोले. सैनिक समाचारलाई गलाएर काम नै नलाग्ने बनाइदिएको थियो । खतम गरिदिएको थियो । त्यो पत्रिकाको अस्तित्व नै समाप्त भए पछि मेरो मनमा त्यसलाई पुन प्राप्त गर्ने आशा मरेर गयो । मैले पाण्डुलिपि राख्ने प्रचलन नगरेको हुनाले वा राखेको भए पनि त्यसको संरक्षण नगरेको हुनाले ओइलाएको फुल कथा सिमेन्टको चिसो र पानीले गलेर आकारविहीन भएको सैनिक समाचार पत्रसित नै ओइलाएर गयो । जे होस्, म सैनिक समाचार पत्रिका खोज्ने मेरो बाटो नै समाप्त भएको हुनाले त्यसले मलाई कुनै समस्या पैदा गरेको हुँदैन । मैले त्यो पत्रिका खोज्ने कुनै झञ्झट उठाउनु पर्दैन । हुन त मेरो कथा प्रकाशित भएको सैनिक समाचार कुनै न कुनै प्रति यो संसारको कुनै कुनामा अझ पनि सुरक्षित भएको हुन सक्दछ । तर मलाई थाहा छ त्यो कतै सुरक्षित भए पनि मेरो पहुँचदेखि धेरै टाढा छ । त्यसलाई प्राप्त गर्ने मेरो प्रयास भए रहे पनि त्यो सफल हुन संभव देखिन्न । यसैले पनि त्यस पत्रिकाको लागि मैले टाउको दुखाइरहनु पर्ने कुनै कारण छैन । मैले यस पत्रिकालाई मैले प्राप्त गर्नु पर्ने पुस्तक वा पत्रपत्रिकाको सूचिमा राखेको छैन ।
१८—७—२०८१
३—११—२०२४
Comments
Post a Comment