Skip to main content

लेखकका तीन प्रमुख काम

 




 

एकपल्ट बंगाली उपन्यासकार शरतचन्दका प्रशंसक एकजना पाठकले उनीसित कुरा गर्दैै भनेछन् — सबैले रविन्द्रनाथ टैगोर एउटा ठूला लेखक हुन् भन्दछन् । मलाई त्यस्तो केही लागेन । मैले उनका किताब पढ्ने प्रयास गरें । केही पनि बुझिनं । मैले त तपाईंले लेखेका कुरा राम्ररी बुझ्दछु । मलाई तपाईंले लेखेका कुरा निकै मन पर्दछन् । त्यसको प्रतिक्रियामा शरतचन्दले भनेछन् — मैले तपाईं जस्ता पाठकलाई ध्यानमा राखेर लेख्दछु । त्यसैले तपाईंलाई मेरो लेखन मन पर्दछ । तपाईंले मेरो लेखन बुझ्नु हुन्छ । रविन्द्रनाथ टैगोरले म जस्ता व्यक्तिलाई ध्यानमा राखेर लेख्दछन् । त्यसैले मलाई उनको साहित्य मन पर्दछ । उनको लेखनी मन पर्दछ । मैले उनका कृति मन पराउँछु ।

यसबाट के बुझिन्छ भने कवि लेखक वा साहित्यकार त्यसै कवि लेखक वा साहित्यकार हुँदैनन् । उनीहरूले पनि अन्य कवि लेखक वा साहित्यकारहरूका कृति अध्ययन गर्नु पर्दछ ।   

मैले यस अघि कवि लेखक वा साहित्यकार हुन अध्ययन चाहिन्छ भनेर लेखेको छु । फेरि के पनि लेखेको छु भने अध्ययनका साथसाथै लेख्ने कार्यलाई पनि जारी राख्नु पर्दछ । कुरा त्यति मात्र होइन मैले के पनि स्वीकारोक्ति प्रकट गरेको छु भने मलाई अध्ययन गर्दा लेखन छुट्यो कि भन्ने पीडा हुन्छ । फेरि लेखनमा लाग्दा अध्ययन छुट्यो कि भन्ने पीडा हुन्छ । यी दुबै कुरालाई संतुलन मिलाएर चल्नु पर्दोरहेछ । यो कुरा निकै गाह्रो हुँदोरहेछ । हुन त यस कुरालाई सरल पनि पार्न सकिन्छ । अध्ययन गर्ने जाँगर चले अध्ययन गर्ने । लेख्ने जाँगर चल्यो भने कापी कलम लिएर वा कम्प्युटर खोलेर अंगुला चलाउन थाल्ने ।

यतिबेला मलाई कवि लेखक वा साहित्यकारले अर्को समस्या पनि बेहोर्नु पर्दोरहेछ भन्ने कुराको पनि ज्ञान हुन गयो । जानकारी प्राप्त भयो । किसानले खेती गरेर त्यसको बाली नाली स्याहार्नु परे जस्तै वा कुुनै व्यापारीले दिनभरि व्यापार गरेर बेलुकीपख आफ्ना माल सामान जम्मा गरेर यथास्थानमा थन्काउनु परे जस्तै कवि लेखक वा साहित्यकारले पनि आफूले बेला बखतमा लेखेका वा प्रकाशित गरेका सामाग्री कहाँ कहाँ छन् खोज खन्तर गरेर तिनलाई सुव्यवस्थित ढंगले यसरी राख्नु पर्दोरहेछ जुन कुरा चाहिंदा वा खोज्दाका बखत तुरुन्त फेला परुँन । कुनै कुना वा दुलामा पुगेर नलुकुन् । गायब नहउन् । बेपत्ताको सूचिमा पर्ने अवस्था नआओस् । एउटा संस्कृतको श्लोकमा पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन आफूलाई काम परेको बेलामा उपलब्ध हुन्नन् भने तिनको के काम भने जस्तै आफूले लेखेको पाण्डुलिपि वा प्रकाशित गरेको पुस्तक चाहिएको वा खोजेको बेलामा पाइन्न भने त्यसको के काम पनि भन्न सकिन्छ होला । तर कवि लेखक वा साहित्यकार आफ्नो पाण्डुलिपि वा प्रकाशित सामाग्री हरायो भन्दैमा चैनको निंद सुत्न सक्दोरहेनछ ।  खोजिरहने रहेछ ।  खोजिरहने छ । खोजिरहने छ । तबसम्म खोजिरहने छ जबसम्म हात लाग्दैन वा हात लाग्ने अन्तिम आशा पनि मर्दैन ।  कवि युद्ध प्रसाद मिश्रले एउटा कथा संग्रह प्रकाशित गरेका रहेछन् । त्यसलाई त्यतिबेलाको निरंकुश सरकारले जफ्त गरेछ र नष्ट गरेछ । उनीसित एक प्रति पनि बच्न पाएनछ । उनका पुराका पुरा कथाको पुस्तक जफ्त गरेर नष्ट गरिएपछि उनले कहिले आफना्े कथाको पुस्तक खोज्ने कष्ट उठाएनन् । कष्ट उठाउन आवश्यक पनि भएन ।

मैले यहाँ जोर दिंदै भन्न खोजेको कुरा के हो भने कवि लेखक वा साहित्यकारको काम अध्ययन गर्नु मात्र होइन । कवि लेखक वा साहित्यकारको काम कलम वा कम्युटर चलाउनु मात्र होइन । उनीहरूको एउटा महत्वपूर्ण काम लेखेका वा प्रकाशित गरिएका सामाग्रीलाई व्यवस्थित ढंगले बैज्ञानिक रूपमा राख्नु , थन्काउनु वा सुरक्षित गर्नु पनि हो  जसले गर्दा जुन चीज जति बेला चाहिन्छ त्यो. चीज त्यतिबेला प्राप्त गर्न सकियोस् । त्यसको खोज तलाशमा लागेर अतिरिक्त समय नष्ट गर्न नपरोस् । खर्च गर्न नपरोास् । फाल्न नपरोस् । 

यस अर्थमा जस्ता कि मैले माथि भनिसकें मैले यसभन्दा पहिले प्राप्त गरेका ज्ञान कवि लेखक वा साहित्यकारले अध्ययन गर्ने र कलम वा कम्युटर चलाउने दुईवटा काम गर्नु पर्दछ भन्न कुरामा सीमित रहेका रहेछ । यतिबेला मलाई थप  के  ज्ञान प्राप्त भएको छ भने कवि लेखक वा साहित्यकारको तेस्रो प्रमुख काम पनि छ । त्यो काम हो लेखेका वा प्रकाशित गरेका सामाग्रीलाई सुव्यवस्थित  तथा सुरक्षित तरिकाले राख्नु । स्याहार्नु । थन्काउनु । हिफाजत गर्नु ।

मैले अनुभवले गरेको छु  कलमले लेखेर राखेको कुराभन्दा कम्प्युटरमा टाइप गरेर राखेको चीजलाई हार्ड डिस्कमा सेभ गरेर राख्न सजिलो मात्र होइन त्यसलाई चाहिएको बखतमा एकै ठाउँमा मुर्ती जस्तै बसेर ओपन गर्न पनि सजिलो हुन जाँदो रहेछ  ।  सर्च गरेर तुरुन्त प्राप्त गर्न पनि सजिलो हुँदो रहेछ । सहज हुँदो रहेछ । तर यस सम्बन्धमा  एक प्रसंगमा फोनबाट कुरा गर्दै मलाई मोदनाथ प्रश्रितले भिन्नै प्रकारका अनुभव बताएका थिए । उनले मलाई भनेका थिए कम्युटरमा लेखेका कुराभन्दा सेतो कागजमा काला मसीले लेखेका कुरा धेरै सुरक्षित हुने रहेछन् ।  आफ्ना लेखन सामाग्री कसरी सुरक्षित गर्ने सवालमा मोदनाथ प्रििश्रतको भनाइ मननयोग्य छ । कम्युटरमा सेभ गरेका कुरा डिलिट नभए पनि करप्ट हुन सक्दछन् ।  तर सेतो कागजमा कालो मसीले लेखेका कुरा सुरक्षित रहन्छन् । म जन्मिन साथ लेखेको मेरो जन्मकुण्डली अझ पनि सुरक्षित मात्र होइन हिजो आज लेखे जस्तो छ । म जन्मिनुभन्दा  पहिले बुबाले दोकान गर्दा लेखेका बही खाता , कागज पत्र अझ पनि जस्ताको तस्तै छन् । कुरो यो पनि छ , अरु सामान्य कागजमा लेखेको कुराभन्दा हाम्रो पहाडी कागलमा लेखेको कुरा अझ बढी सुरक्षित हुँदो रहेछ ।

यस प्रसंगमा प्रकाशित सामाग्रीलाई कसरी सुरक्षित राख्ने सवाल निकै जटिल हुन्छ भन्ने कुरा मैले कमल मणि दीक्षितका मुखार विन्दुबाट पनि सुनेको छु ।  मेरा मित्र दुर्गा प्रसाद अधिकारीले शिलाङका चर्चित व्यक्तित्व तथा अविभाजित आसामका पहिला नेपाली पत्रिका गोर्खा सेवकका सम्पादक मणिसिंह गुरुङको सम्बन्धमा पुस्तक लेख्न आवश्यक सामाग्री  मदन पुरस्कार गुठीबाट संचालित  पुस्तकालयमा प्राप्त हुन्छ कि भनेर हामी जाँदा उनले भनेका थिए — यतिबेला पुस्तकालय बन्द अवस्थामा रहेको छ । उनले हामीसत के पनि भने भने — मलाई त्यहाँ उपलब्ध बहुमुल्य सामाग्री कसरी सुरक्षित गर्ने भन्ने समस्याले चिन्तित बनाएको छ । यहाँ भएका पुस्तक आदि सामाग्री मुसा र किराहरूबाट कसरी बचाउने भन्ने सवालमा मैले कुनै उपाय देखेको छैन । हामीसित यी किताबको फोटो खिचेर राख्ने उन्नत टेक्नोलजी पनि छैन । सरकारले यस मामिलामा कुनै चासो लिंदैन ।  त्यतिबेला मलाई थाहा भयो कुरो यस्तो पनि हुँदोरहेछ । पुस्तकालयमा सुव्ववस्थित गरेर  राखेका पुस्तक पनि सुरक्षित हुने रहेनछन् । 

जे होस्, निष्कर्षमा भन्न सकिन्छ — जुनसुकै कवि लेखक वा साहित्यकारहरूका मुख्यत तीन कार्य हुन्छन् । पहिलो कार्य हो अध्ययन गर्नु । दोस्रो कार्य हो लेखनमा जुट्नु । तेस्रो कार्य हो लेखेका वा प्रकाशित गरका सामाग्रीलाई सुव्यवस्थित र सुरक्षित ढंगले  राख्नु । यो कुरा लेखनको क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा आवश्यक पर्दछ ।

म स्मरण गर्दछु त्यतिबेला गंभीर रूपमा नलिए पनि चीजलाई व्यवस्थित राख्ने सवालमा मैले नेपाली भाषा सेवी दार्जीलिङका पारममणि प्रधान निकै अनुभवी रहेछन् भन्ने कुरा उनीसितको भेट र कुराकानीबाट थाहा पाएको थिएँ थाहा पाउन त उहिले नै  । १९७२ मा दार्जीलिङमा आयोजित विराट साहित्य सेमिनारमा भाग लिन गएको अवस्थामा त्यस सेमिनारमा अनुपस्थित रहेका पारसमणि प्रधानलाई भेट्न म उनको निवास कालिंपोङ पुगेको थिएँ । उनीसित नेपाली भाषा मान्यताको निम्ति उनले गरेको संघर्षको चर्चा गर्दा उनले जो जो संग जे जति बेला जे जस्तो लेखापढी गरे र उत्तर प्राप्त गरे त्यसका एक एक फाइल खडा गरेर सुव्यवस्थित तरिकाले राखेका रहेछन् । मसित कुराकानी गर्दा जतिबेला जे कुराको प्रसंग आउँछ उनले बैठक कोठाबाट जुरुक्क उठी भित्र कोठामा  गएर सम्वन्धित फायल ल्याएर मलाई देखाउँथे । उनी मसित अदालतमा झैं सप्रमाण कुरा गर्दथे । भनौं उनी मसित सप्रमाण पेश हुन्थे । यहाँनेर म शिलाङमा छँदा मैले शिलाङको स्टेट सेन्टरल लाइब्रेरीमा कुनै आफूलाई नेपालीको निकै ठूलो नेता तथा बुद्धिजीवी  भएको दाबी गर्ने कतैबाट शिलाङ आएको आकर्षक व्यक्तित्व भएका  सज्जनलाई भेटेको तथा त्यस भेटमा उनले मसित अंग्रेजीमा बोल्दै भनेका कुरा पनि स्मरण गर्दछु । उनले भनेका थिए — तपाईं मसित डेटा, फिगर र फ्याक्टको आधारमा कुराकानी गर्नुहोस् । मलाई त्यो व्यक्तिको भनाइ जति रुखो भए पनि निकै महत्वपूर्ण लागेको थियो ।  मलाई लाग्यो पारसमणि प्रधान डेटा, फिगर र फ्याक्टका आधारमा कुराकानी गर्ने व्यक्ति रहेछन् । यो संभव यस कारणले भएको थियो कि उनले आफूले गरेका हरेक कामको फायल खडा गरेर व्यवस्थित तरिकाले राखेका थिए । यस कार्यको थप फाइदा के छ भने यसले मान्छेलाई अनुशासित पनि बनाउँछ । समयको बचत हुने कुरा त छँदै छ ।

यी सब कुरा अहिले मैले कसैले भने गरेका काम कुराबाटभन्दा पनि आफूले नै भोगेका अनुभवबाट अझ स्पष्ट र गहिरो गरी बुझ्न थालेको छु ।

१९—७—२०८१

४—११—२०१४


 

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...