Skip to main content

अध्ययन अनुभव र अभिव्यक्ति

 



मान्छे अध्ययन र अनुभवको संगालो हो । पेटारो हो । अध्ययन र अनुभव पढेको मान्छेले पनि गर्दछ । अनपढ मान्छेले पनि गर्दछ ।  अध्ययन र अनुभव किताब पढेर पनि गर्न सकिन्छ । अध्ययन र अनुभव जीवन र समाज पढेर पनि गर्न सकिन्छ । वास्तवमा जीवन एउटा पाठशाला हो । समाज त झन् एउटा विश्वविद्यालय नै हो । मान्छे एउटा सामाजिक प्राणी भएको हुनाले समाजमा नै बस्दछ । मान्छे समाज बाहिर गएर बस्न सक्दैन । घरबार परिवार सबै छोडेर हिंडेको सन्त महन्त वा साधु पनि मान्छेका घर घर डुल्दछ । मान्छे कै वरिपरि रहन्छ । अझ मानव बस्ती नजिक नै कुटी बनाएर बस्दछ ।

समाजसितको सम्पर्क र सामाजिक व्यवहारबाट मान्छेले धेरै कुराको अध्ययन , अनुभव वा ज्ञान प्राप्त गर्दछ । यसरी ऊ अध्यन अनुभव वा ज्ञानको भण्डार बनेको हुन्छ । 

मान्छेले जहाँबाट पनि जे अध्ययन अनुभव र ज्ञान प्राप्त गर्दछ त्यसलाई आफूभित्र गुम्साएर राख्न सक्दैन । दवाएर राख्न सक्दैन । लेख्नेले लेखेर व्यक्त गर्दछ । चित्र  कोर्नेले चित्र कोरेर व्यक्त गर्दछ ।  गाउनेले गीत गाएर व्यक्त गर्दछ । बाजा बजाउनेले बाजा बजाएर व्यक्त गर्दछ । नाच्नेले नाचेर व्यक्त गर्दछ । अभिनय गर्नेले अभिनय गरेर व्यक्त गर्दछ । फेरि   कसैले ईशारा वा संकेतले व्यक्त गर्दछ । कसैले बोलेर व्यक्त गर्दछ । कसैले नारा लाएर व्यक्त गर्दछ । कसैले भाषण गरेर व्यक्त गर्दछ ।  कसैले बिन्ति पत्र लेखेर व्यक्त गर्दछ । कसैले निवेदन वादी प्रतिवादी लेखेर व्यक्त गर्दछ । फेरि कसैले त मुडकीले व्यक्त गर्दछ । कसैले त बन्दुक गोला बारुद वा बमले व्यक्त गर्दछ । आखिर युद्ध पनि त बार्ताको फरक रूप नै त हो ।   समय परिस्थिति साधन माध्यम अनुसार मान्छेले विविध तरिकाले आफ्ना कुरा व्यक्त गर्दछ । मनभित्र गुम्साएर राखिरहँदैन  । गुम्साएर राखे पनि कुनै न कुनै समयमा कुनै न कुनै रूपमा विष्फोट हुन्छ ।  

साहित्यकार कवि छ भने कविताबाट आफ्ना कुरा व्यक्त गर्दछ । कथाकार छ भने कथाबाट आफ्ना कुरा व्यक्त गर्दछ । उपन्यासकार छ भने उपन्यासबाट आफ्ना कुरा व्यक्त गर्दछ ।  नाटककार छ भने नाटकबाट आफ्ना कुरा व्यक्त गर्दछ ।  निवन्धकार छ भने निवन्धबाट आफ्ना कुरा व्यक्त गर्दछ । हास्य व्यंगकार छ भने हाँस्य व्यंगबाट आफ्ना कुरा व्यक्त गर्दछ । आलोचक छ भने आलोचनाबाट आफ्ना कुरा व्यक्त गर्दछ । 

कुनै व्यक्ति बोल्दैन र मौन बस्दछ भने उसले आफ्नो मौनताबाट झन् धेरै कुरा व्यक्त गरेको हुन सक्दछ । मौन रहनु पनि भिन्नै प्रकारले बोल्नु हो । मान्छे भन्छन् बोल्ने मान्छेभन्दा नबोल्ने मान्छे झन् खतरा हुन्छ ।

मान्छेको बोल्ने कुरा आजीवन जारी रहन्छ । बच्चा जन्मिन वित्तिकै च्याँ गर्दछ । त्यो ऊ बोलेको हो । ग्रिकका ठूला दार्शनिक सोक्रेटिज दण्ड स्वरुप विष पान गरेर जेलमा मृत्युको मुखमा पुग्न थाल्दा उनले आफ्ना मनमा खेलेका कुरा अन्तिम वाक्यको रूपमा व्यक्त गर्दै प्रिय चेलालाई संवोधन गरी भनेका थिए —  क्रिटो हामीले एसलेपियसकोे भालेको पैसा तिर्न बाँकी छ त्यो तिरिदिनु ।  

अब प्रश्न उठ्दछ मान्छे किन बोल्दछ ?  यसको एउटा उत्तर त यो पनि हुन सक्दछ — मान्छे चुप लागेर बस्न सक्दैन । यसैले बोल्दछ । यसको अर्को उत्तर यस्तो पनि हुन सक्दछ बोल्नु मान्छेको स्वभाव हो । यसैले मान्छे बोल्दछ । तर  गंभीरतापूर्वक यसको जबाब दिने हो भने हामी के भन्न सक्दछौं भने मान्छेसित बोल्न पर्ने कुरा थुप्रिएर बसेका हुन्छन् । गुम्सिएर बसेका हुन्छन् । ती  बोल्न चाहेका वा गुम्सिएर बसेका कुरा बोले पछि मान्छेलाई शान्ति मिल्दछ । बोले पछि उसलाई  मनको ठूलो  बोझ हटे जस्तो लाग्दछ । बोले पछि उसलाई निकै हलुंगो भएको अनुभूति हुन्छ ।

मान्छे किन पनि बोल्दछ भने बोल्नु भनेको आफ्नो अध्ययन अनुभव वा ज्ञान अरुसित साझा गर्नु पनि हो । आफ्नो अध्ययन अनुभव वा ज्ञान साटासाट गर्नु पनि हो । आदान प्रदान गर्नु पनि हो ।

उसरी बोल्नु भनेको कसैलाई सल्लाह सुझाउ दिनु पनि हो । कसैको काम कुराको निन्दा आलोचना वा प्रशंसा  गर्नु पनि  हो ।  कसैलाई  कुनै काम थाल्न हतोत्साहित गर्नु पनि हो । कुनै काम थाल्न उत्साहित गर्नु पनि हो । कसैको बोलीमा ताली बजाउनु पनि हो ।  कसैलाई कुनै कुराको लागि गाली गर्नु पनि  हो । कसैलाई धाक धम्की दिनु वा खबरदारी गर्नु पनि हो ।

लेखक वा साहित्यकारले किन लेख्दछ भन्ने प्रश्न उठ्न सक्दछ । त्यसको जबाबमा के भन्न सकिन्छ भने लेख्नु भनेको पनि बोल्नु नै हो ।  आफूसामु उपस्थित नभएका मान्छेसित बोल्नु हो ।  लेख्नु भनेको देश र दुनियाँका मान्छेसित संवाद गर्नु हो ।  वार्तालाप गर्नु हो । लेख्नु भनेको वर्तमानमा मात्र  बोल्नुु होइन भविष्यमा पनि बोल्नु हो । होमर अझसम्म हामीसित बोलिरहेका छन् । व्यास अझसम्म हामीसित बोलिरहेका छन् । बाल्मिकी अझसम्म हामीसित बोलिरहेका छन् । कालीदास अझसम्म हामीसित बोलिरहेका छन् । शेक्सपियर अझसम्म हामीसित बोलिरहेका छन् । दाँते अझसम्म हामीसित बोलिरहेका छन् ।  भानुभक्त अझसम्म हामीसित बोलिरहेका छन् । देवकोटा अझसम्म हामीसित बोलिरहेका छन् । म्याक्सिम गोर्की अझसम्म हामीसित बोलिरहेका छन् । लु स्यून अझसम्म हामीसित बोलिरहेका छन् ।

लेखक वा साहित्यकारले आफ्नो अध्ययन अनुभव वा ज्ञान आम पाठकसित साझा गर्न पनि लेख्दछ । संवाद गर्न पनि लेख्दछ । लेखक वा साहित्यकारले सत्यको उद्घाटनको लागि पनि लेख्दछ । यथार्थको चित्रण गर्नको लागि पनि लेख्दछ । व्यक्ति वा समाजमा परिव्याप्त बिकृति र विसंगतिको आलोचना गर्न पनि लेख्दछ ।  समाजमा सुधार वा परिवर्तन ल्याउन पनि लेख्दछ । समाजमा ठूलो उथल पुथल ल्याउन  पनि लेख्दछ । समाजलाई फेर्न पनि लेख्दछ ।   समाजमा ठूलो क्रान्ति  ल्याउन पनि लेख्दछ ।

हुन त लेखक वा साहित्यकारले किन लेख्दछ भन्ने प्रश्नको उत्तरमा हामी यो पनि भन्न सक्दछौं लेखक वा साहित्यकारले आफ्नो पूंँजीको वृद्धिको लागि कलमको फेक्टरीबाट साहित्यिक कृतिको रूपमा पुस्तकहरूको उत्पादन गर्दछ र माग पूर्तिका  लागि बजारीकरणको माध्यमबाट  यसका उपभोक्ता पाठकहरूसम्म  सप्लाई गर्दछ । तर यस सम्बन्धमा  हामी यस्तो उत्तर पनि दिन सक्दछौं लेखक वा साहित्यकार पेट पाल्न र जीविका चलाउनको लागि लेख्दछ । कलम चलाउँदछ । लेखक वा साहित्यकारहरूको सम्बन्धमा कुुरो यतिमा मात्र टुंगिन्न । कुनै  न कुनै लेखक वा साहित्यकार लेखेर धन कमाएका छैनन् बरु टाट पल्टेका छन् । विश्व विख्यात रुसी लेखक टल्सट्वाए सम्पन्न जमीन्दार थिए । कलम चलाएर उनी धनी भएनन् बरु टाट पल्टन पुगे । प्लेटफर्म वासी हन पुगे । हो लेखन धन कुम्ल्याउने कुरो मात्र नभएर भएको धन सम्पति उडाएर टाट पल्टिने  कुरा पनि हुन सक्दछ ।

साँचो कुरो गर्ने हो भने लेखक वा साहित्यकार आफ्नो अध्ययन अनुभव वा ज्ञान आफूभित्र गुम्साएर राख्न सक्दैन । ऊ आफ्नो  अध्ययन अनुभव वा ज्ञानलाई देश र दुनियाँका सामु लेखन मार्फत पस्किनु आफ्नो दायित्व कर्तव्य वा लक्ष्य संझेको हुन्छ । जीवनमा आफूले आर्जन गरेको अध्ययन अनुभव वा ज्ञानको पूंजी देश र दुनियाँको उपयोगिताका लागि वितरित गरिदिउँ भन्ने अभिलाषा राखेको हुन्छ । समाज देश र दुनियाँलाई परिवर्तन र प्रगतिको दिशातिर मोड्न चाहने लेखक वा साहित्यकार यस कार्यप्रति प्रतिवद्ध रहेको हुन्छ । खालि मनोरंजन वा धन उपार्जनको लागि कलम चलाउने लेखक वा साहित्यकारको कुरा अर्को हो । तर उनीहरूको कलमबाट पनि कुनै समाजोपयोगी कुरा उत्पादित र प्रकाशित हुन्छ भने त्यो निश्चित रूपमा समाजको लागि स्वागतयोग्य कृति मान्न सकिन्छ । त्यसलाई सहर्ष स्वीकार गर्न सकिन्छ । तर यसको संभावना बहुत कम छ । 

२०—७—२०८१

५—११—२०२४

    


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...