Skip to main content

अध्ययन तथा चिन्तन

  

म आसामको दरंग (  हाल शोषितपुर ) जिल्लाको चारदुवारमा स्थित चारदुवार हाई स्कुलमा अध्ययन गर्दा  एकजना आसामी शिक्षक थिए अनन्त सर्मा । उनी हामीलाई अंग्रेजी र बुरुङजी (  इतिहास ) विषयको अध्यापन गर्दथे । उनले हामीलाई अंग्रेजी पाठ पढाउँदा त्यसलाई पानी पानी पार्ने गरी पढाउँथे । उनी त्यस पाठबाट कस्ता प्रश्न आउन सक्दछन् र तिनको उत्तर कसरी लेख्नु पर्दछ भन्ने कुरा पनि हामीलाई बताउँथे । उनले  हाम्रो अंग्रेजीको पाठ्य पुस्तकमा चाल्र्स एण्ड मेरी लेैमले लेखेको पुस्तक टेल्स फ्रम शेक्सपियरबाट लिइका शेक्सपियरका दुई कथा मर्चेन्ट अझ वेनिस तथा मेकवेथ हामीलाई पानी पानी पार्ने गरी विभिन्न कोणबाट यसरी पढाउने गर्थे  कि अहिले पनि मेरो स्मृति पटलमा ती कुरा ताजै रहेका छन् ।  हाम्रो पाठ्य पुस्तकमा रहेको रुसी कथाकार लिउ टल्टस्ट्वायको कथा हाउ मच लैन्ड डज ए मैन निड पनि निकै छर्लङ्ग पार्ने गरी पढाउँथे । त्यतिबेला उनले पढाएको त्यो कथा पनि मलाई अझ पनि राम्ररी नै संझना हुन्छ । उसरी यो कथा त मैले क्याम्पसमा अध्यापन गर्दा पनि पढाउनु परेको थियो । उनको अध्यापन गर्ने शैली गजबको थियो ।  बेजोडको थियो । पढ्नमा म राम्रो पोसिजन ल्याउने  विद्यार्थी भएको र मैले उनले अध्यापन गरेका कुरा बडो ध्यानपूर्वक सुन्ने हुनाले उनले अध्यापन गर्दा प्राय मतिर नजर लगाएका हुन्थे । कसैका पनि कुरा ध्यानपूर्वक एकाग्र भएर सुनिरहँदा बीच बीचमा आँखा झिमिक्क गर्न पुगिने रहेछ । म अनन्त सर्माले हामीलाई पढाउँदा बीच बीचमा  आँखा झिमिक्क गर्न पुग्दथें । उनले म झिमिक्क गरको देख्दथे । म बडो अप्ठ्यारोमा परेको हुन्थें । मलाई कुनै ठूलो अपराध गरे जस्तो लाग्दथ्यो ।  म संझिन्छु यसरी आँखा झिमिक्क त म पुष्पलालले राजनेतिक क्लास लिंदा पनि एकाग्रचित्त भएर सुन्दा गर्ने गर्दथें ।

अनन्त सर्माले हामीलाई बुरुङजी (  इतिहास ) पनि पढाउँथे । मैले जाँच इंगलिस माध्यममा दिने गरे पनि आसामी भाषा सािहित्यका अतिरिक्त अन्य विषयका कक्षा पनि लिने गर्दथें । यस कारण पनि कि म आसामी भाषामा जानेका कुरा खरर लेख्न नसके  पनि पढ्न र बुझ्न सक्दथें ।  मैले आसामी स्कुलमा इतिहास भूगोल म्याथ र संस्कृत विषय आसामी भाषामा पढेर बुझेर अंग्रेजी भाषामा उत्तर दिन लेख्न काम नै लाग्दथ्यो । तर आसामी भाषा साहित्यको सट्टामा हिन्दी लिएको हुनाले आसामी भाषा साहित्यको कक्षा नलिंदा पनि हुन्थ्यो । तर स्कुलमा कलेजमा जस्तो आफ्नो विषयका मात्र कक्षा लिए हृुने चलन नभएकोले म आसामी भाषा साहित्यको कक्षा पनि लिने गर्दथें ।  आसामी विषय पढाउँदा म एक्लै कक्षा कोठाबाट फुत्त बाहिर निस्किनु पनि राम्रो कुरो थिएन । शोभनीय कुरा पनि थिएन । यसैले पनि  मैले आसामी भाषा साहित्यको जाँच दिन नपरे पनि कक्षा भने अनुशासित विद्यार्थीले जस्तै नबिराई लिएको थिएँ । आसामी विषय लिएका विद्यार्थीले जस्तै लिएको थिएँ । त्यसले मलाई फाइदा नै गर्यो । कुनै नोक्सान गरेन । 

जे होस्, त्यतिबेला हामीलाई अनन्त सर्माले भनेको एउटा कुरा अझसम्म पनि मेरो मनमा गढेको छ । त्यसलाई मैले भुल्न सकेको छैन ।  उनले हामीलाई अध्यापन गर्दा एकपल्ट भनेका  थिए — तोमालोके कम पढिवा बेसिकै भाविवा (  तिमीहरू कम पढ्न्ु धेरै चिन्तन मनन गर्नु । सोंच्नु । त्यतिबेला मैले यी कुरालाई त्यति गंभीरतापूर्वक लिएको थिइनं । शायद मैले उनको भनाइको तात्पर्य बुझेको थिइनं । तर अहिले मलाई उनको त्यस भनाइमा निकै गहिरो अर्थ लुकेको छ जस्तो लाग्दछ । वास्तवमा पढ्ने कुरा जति महत्वपर्ण छ त्योभन्दा कता हो कता महत्वपूर्ण कुरा छ पढको कुरामाथि गंभीरतापूर्वक सोच्नु । चिन्तन मनन गर्नु । त्यसको भाव गंभीरतालाई छिचोल्नु । पर्गेल्नु । केलाउनु । छिन्नु । निफन्नु । हाँसले पानीबाट दूध छुट्टाए जस्तो छुट्टाउनु ।   हामी कहिलेकाहीं पढ्नको लागि पढ्दछौं । पढें भन्नको लागि पढ्दछौं । भनौं हामी माथि माथि पढ्दछौं । डाँडे मेलो पढ्दछौं ।  गंभीर भएर पढ्दैनौं । हामीले पढको कुरामा के छ त्यसलाई खोतल खातल गर्ने हिसाब किताबले पुस्तक पढ्दैनौं । पढेको कुरामा भित्री तहसम्म डुबुल्की लगाउने प्रयास गर्दैनौं । गहिराइसम्म गोता लगाउने प्रयास गर्दैनौं । छिपछिपे पानीमा खेलेर संतोष मान्दछौं । हामीले अध्ययन गर्ने तरिका पुरोहितले अर्थ बुझे पनि नबुझे संस्कृृत भाषाका धर्मशास्त्र भट्टाएर सप्ताह पुराण लगाएको जस्तो हुन्छ ।  ठूला ठूला यज्ञ सम्पन्न गराए जस्तो हुुन्छ । भनौं हाम्रो पढ्ने कुरा अर्थहीन हुन्छ । दिनभरि करायो दक्षिणा हरायो जस्तो हुन्छ । हात ताग्यो शुण्य जस्तो हुन्छ ।

यसैले अनन्त सर्माले पढाउँदै गर्दा हामीलाई भनेको कुरा — तोमालोके कम पढिवा बेसिकै भाविवा— एकदम सही रहेछ । घतलाग्दो रहेछ । निकै नै चिन्तन मनन गर्ने पर्ने  खालको रहेछ । अनुशरण गर्नु पर्ने खालको रहेछ ।  पुस्तक कसरी अध्ययन गर्ने भन्ने सवालमा अंग्रेजीका चर्चित  निबन्धकार तथा विज्ञानवादी दार्शनिक फ्रान्सिस बेकनले आफ्नो निवन्ध अफ स्टडिजमा निकै गंभीर चर्चा गर्दै भनेका छन् —    केही किताब चाख्नको लागि हुन्छन्  अरु केही  किताब निल्नको लागि हुन्छन, तथा अन्य केही थोरै किताब चपाउन तथा पचाउनका लागि हुन्छन् अर्थात केही किताव केही अंश मात्र पढ्नु पर्ने हुन्छन्  अरु केही किताब पढ्नु त पर्ने तर उत्सुकतापूर्वक (  ध्यानपुर्वक ) पढ्नु नपर्ने हुन्छन्  र केही थोरै पुस्तक पुरै परिश्रम  तथा  ध्यानपूवक पढ्नु पर्ने हुन्छन् । ठीकै हो , पुस्तक भनेर सबै एकै खाले हुँदैनन् । कुनै पुस्तक शुरुदेखि अन्त्यसम्म खुब गंभीरतापूर्वक अध्ययन गर्नु पर्ने खालका हुृन्छन् । बार बार अध्ययन गर्नु पर्ने खालका हुन्छन् । त्यसमा चुर्लुम्म डुवेर अध्ययन गर्नु पर्ने खालका हुन्छन्  । कुनै पुस्तक केही पाना वा पंक्ति  पढेर बन्द गरिदिनु पर्ने खालका हुन्छन् । केही अंश पढेर बाँकी अंश छोडिदिने खालका हुन्छन् ।  कुनै पुस्तक भने एक  दुई पाना पनि नपढी मिल्काइदिने खालका हुन्छन् ।  हुन पनि  पूरै किताब पढेको छु भन्ने पार्न किन काम नै नलाग्ने किताब पढ्नु । त्यस्ता काम नै नलाग्ने किताब पढिन्छ भने पनि पढ्न पर्ने किताब हो वा पढ्नै नपर्न पर्ने किताब हो भन्ने कुरा जान्न मात्र पढ्नु पर्दछ । त्यस्ता किताब नपढ्नुको लागि पढ्नु पर्दछ ।  

हामी किताबलाई डुवेर पढ्ने वा किताब पढेर गंभीर ढंगले चिन्तन मनन गर्ने व्यक्तिको खोजीमा लाग्यो भने त्यस्तो व्यक्ति रुसी कथाकार एन्टोन चेखभको कथा बाजीमा भेट्दछौं । यस कथामा एकजना बैंकर र लयर बीच मृत्यु दण्ड तथा आजीवन कारावासमध्ये तुलनात्मक रूपमा कुन बढी जाती भन्ने सवालमा तर्क वितर्क हुन्छ ।  बैंकर आजीवन काराबासभन्दा मृत्यु दण्ड  जाती भन्दछ । जव कि लयर मृत्यु दण्डभन्दा आजीवन काराबास जाती भन्दछ । यस विषयमा उनीहरूले बाजी थाप्दछन् । बैंकरले कुत्रिम जेल बनाएर  यदि लयर पुरै १५ वर्ष एकान्तवास बस्न सक्यो भने ऊ उसलाई दुई मिलियन रुवल्स दिने छ । यसमा लयर राजी हुन्छ ।  ऊ त्यस कृतिम जेलमा एक पछि अर्को किताब अध्ययन गर्दै दुई मिलियन रुवल्स प्राप्त गर्ने लक्ष्य राख्दछ  । अठोट गर्दछ । तर गहिरिएर उसका माग अनुसारका किताब अध्ययन गर्दै जाँदा अन्ततः ऊ के निष्कर्षमा पुग्दछ भने धनसम्पति भन्ने कुरा केही चीज नै होइन । धन सम्पति भन्दा दैविक वा आध्यात्मिक मुक्ति प्राप्त गर्नु नै ठूलो कुरा हो । गहिरो अध्ययनले गर्दा यस्तोे निष्कर्षमा पुगे पछि लयरले १५वर्ष पुग्नुभन्दा एक दिन अघि कृतिम जेलबाट निस्केर बैंकरलाई बाजीको  दुई मिलियन रुबल्स दिनु पर्ने वाध्यताबाट छुटकारा दिन्छ । निश्चित रूपमा चिन्तन मननको साथमा पुस्तक पढ्नाले नै लयर बाजीको दुई मिलियन रुवल्स परित्याग गर्ने मनस्थितिमा पुग्दछ । जबकि धन सम्पतिलाई ठूलो महत्व दिने बैंकर आफ्नो धन जोगाउन उसले १५ वर्ष  पुराउनु भन्दा केही सयम अघि  लयरको हत्या गर्ने सोंच समेत बनाएको हुन्छ । 

यहाँनेर म संझिन्छु बनारसमा पुस्पलालले मलाई अध्ययन गर्न भनेर जी भी प्लेखनोभको आर्ट एण्ड सोसल लाइफ भन्ने सौन्दर्य शास्त्र सम्बन्धी पुस्तक दिएका थिए । मैले त्यो पुस्तक पल्टाएर हेर्दा के देखे. भने पुप्पलालले त्यो पुस्तक ठाउँ ठाउँमा अन्डर लाइन लगाउनका  साथ साथै टिप्पणी समेत लेख्दै पढेका रहेछन् । यो पनि एक गहिरिएर अध्ययन गर्ने तरिका हो । डुबेर पढ्ने कुरा हो । मैले पनि कुनै कुरा र्गभीर भएर पढ्दा अन्डर लाइन लगाउने वा नोट नलेख्ने होइन ।  तर नयाँ र मलाई धेरै मूल्यवान अझ अप्राप्य जस्तो लाग्ने किताब छ भने मलाई त्यसको अध्ययन गरेर मुख्य कुरामा अन्डर लाइन लगाउने वा केही कमेन्ट गर्ने कुरा त परै जाओस् त्यसमा मेरो नाम समेत लेख्न मन पर्दैन । यसैले मेरा कति किताब जति पुराना भए पनि एकदम नयाँ हुन्छन् । भर्खर बजारबाट किनेर ल्याएका जस्ता हुन्छन् ।

२२—७—२०८१

७—११—२०२४


 

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...