Skip to main content

युद्धप्रसाद मिश्रको संझनामा

 

युद्धप्रसाद्ध मिश्र ( २७ पौष २०६४—६ फागुन २०४७ ) सित मेरो प्रथम भेट बनारसको दशपुत्र गली स्थित पुष्पलालको  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यालया भएको हो । त्यतिबेला युद्धप्रसाद मिश्र पुरै कम्युनिष्ट विचारले लैश भएको स्थिति थिएन । उनी कम्युनिष्ट विचारका समर्थकका रूपमा प्रस्तुत भएको देखिन्थ्यो । मैले जानकारी पाए अनुसार उनी लामो समयदेखि बनारसमा निर्वासित जीवन व्यतीत गरेको अवस्था थियो ।  उनी विद्रोही स्वभाव र क्रान्तिकारी बिचारप्रति प्रतिवद्ध भएको  हुनाले नै पुष्पलालको पार्टी सम्पर्कमा आएको अवस्था हो । 

बनारसमा पुष्पलालको पार्टीमा पुष्पलाल कै अग्रसरतमा क्रान्तिकारी साहित्यिस सांस्कृतिक संगठन मुक्ति मोर्चाको स्थापना भएको थियो । यसमा शुरुमा पाँच जनाको केन्द्रिय कमिटिको निर्माण गरिएको थियो । यसका अध्यक्ष नै युद्धप्रसाद मिश्र निर्वाचित गरिएका थिए । यसका सचिव रहेका थिए राजेन्द्र थापाका नाममा मोदनाथ प्रश्रित ।  यसमा रहेका तीन सदस्यहरूमा   विदुरको    नाममा जीवराज आश्रित, झपट सिंहको नाममा रामचन्द्र भट्टराई तथा कपिलका नाममा दिल साहनी निर्वाचित भएका थिए । पछि यसमा मदन भण्डारी लगाययतका अन्य सदस्य समावेश गरिएको थियो ।

यस संगठनमा नेतुत्व तहमा रहेका मोदनाथ प्रश्रित, जीवराज आश्रित लगायतमा व्यक्तिहरूले मुक्ति मोर्चा समूहका नाममा पुष्पलालको नेतुत्वका नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेका थिए । पछि उनीहरूले मदन भण्डारीलाई पनि समावेश गरेका थिए ।  तर युद्धप्रसाद मिश्र सामेल थिएनन् ।  मलाई उनीहरूले पुष्पलालको नजिकको मान्छे भनेर खबर समेत गरेका थिएनन्  ।  त्यतिबेला म शिलाङमा थिएँ । 

   हामीहरूले युद्धप्रसाद मिश्रलाई हाम्रो संगठनको तर्फबाट शिलाङमा आमन्त्रित गरेका थियौं । युद्धप्रसाद मिश्र शिलाङमा निकै लामो समयसम्म बसेका थिए ।  त्यहाँका साहित्यिक गतिविधिमा संलग्न भएका थिए । 


   पछि म नेपाल आएर  नेकपा मालेमा संगठित भएको थिएँ । म त्यतिबेला गण्डकी धवलागिरि पार्टी संगठनका सचिव वामदेव गौतमको सल्लाह बमोजिम पोखराबाट मुक्ति मोर्चा ,वर्ग संघर्ष र घोषणा पत्रिका प्रकाशन गर्न बनारस पुगेको थिएँ । वामदेव गौतमले मलाई बनारसमा झलनाथ खनालको सम्पर्कमा रहेर  पार्टीका पत्रिकाहरू प्रकाशन गर्ने जिम्मा दिएका थिए । त्यतिबेला युद्धप्रसाद मिश्र बनारसमा नै थिए । मैले तपस्वीको जस्तो जीवन व्यतीत गरिरहेका युद्धप्रसाद मिश्रलाई उनका डेरामा पुगी भेटेको थिएँ । उनलाई मैले घोषणाको लागि एउटा कविता लेखिदिन भनेको थिएँ  उनले घोषणाको लागि घोषणा गज्र्यो कविता लेखेर मलाई दिएका थिए  । यस कवितालाई मैले पोखराबाट पार्टी संगठनको भूमिगत रूपमा प्रकाशित भएको पत्रिका घोषणामा प्रकाशित गरेको थिएँ । प्रा डा. बासुदेव त्रिपाठीले घोषणा कवितालाई युद्धप्रसाद मिश्रको उत्कृष्ट कविताको रूपमा मूल्यांकन गरेका छन् । 

युद्धप्रसाद मिश्रका हामीले शिलाङबाट प्रकाशित हुने मादल, पसिना,नयाँ सृजना , जनशक्ति आदि पत्रिकामा प्रकाशित गरेका थियौं । 

मैले युद्धप्रसाद मिश्रबाट लिएको अन्तवार्ता के वी नेपालीको सम्पादनमा असम लामडिङबाट प्रकाशान हुने बिन्दु (  वर्ष २५, अंक ७०, अक्टुवर मार्च १९८६—१९८७ ) पत्रिकामा प्रकाश छेत्रीको नाममा प्रकाशित गरेको थिएँ । 

मैले लेखेको लेख युद्धप्रसाद मिश्रसित एक दिन म समेत सम्पादक रहेको भैरहवा बुटवलबाट प्रकाशित हुने पत्रिका युगज्योति (  वर्ष ५ अंक १ संयुक्त अंक फागुन चैत २०४२ ) मा प्रकाशित भएको थियो ।

मैले भैरहवाबाट कवि युद्धप्रसाद मिश्र ( २०४७  ) समालोचनात्मक पुस्तिका प्रकाशित गरेको थिएँ ।

आफ्नो जीवनको पछिल्लो चरणमा युद्धप्रसाद मिश्र भक्तपुरमा आएर बस्न थालेका थिए । म काठमाण्डौंमा पुगेको बेलामा सकभर भक्तपुर पुगेर युद्धप्रसाद मिश्रलाई भेट्ने गर्दथें ।  उनीसित बसेर घण्टौं घण्टौंसम्म मुख्यत साहित्यिक विषयमा चर्चा परिचर्चा गर्दथें ।  उनले आफूले लेखेका रचना मलाई सुनाउँथे । कुनै आफ्नो कविता प्रकाशित पत्रिका मलाई दिंदै भन्दथे — यो तपाईंसित राख्नुहोस् ।   तपाईंसित राखे सुरक्षित हुन्छ ।  मिश्रले मलाई कति कविता बिना शिर्षक लेखेर पनि दिन्थे र भन्थे शीर्षक तपाईं आफैले राखिदिनुु होला । कुनै पत्रिकालाई छाप्न दिनु होला । 

युद्धप्रसाद मिश्र मलाई के पनि भन्दथे भने तपाईंले मलाई बराबार भेट्नुहोला । तपाईंसित भेटेमा मलाई केही कोर्नमा जाँगर चल्दछ । उत्साह आउँदछ ।

मैले पछिल्लो चरणमा युद्धप्रसाद मिश्रलाई भक्तपुरमा भेट्दा उनी कम्युनिष्ट पार्टीको घोषणापत्र पत्र पढ्नुमा व्यस्त देखिन्थे । उनले कम्युनिष्ट साहित्य अध्ययन गर्नमा बढी रुचि लिन थालेको थिए ।

युद्धप्रसाद मिश्रको के अवधारणा रहेको पनि पाइन्थ्यो भने गाउँ नदेखेको र शहर केन्द्रित भएको व्यक्तिले जनताको भावना बुझ्न सक्दैन । जनताको साहित्य लेख्न सक्दैन ।

एक भेटमा युद्धप्रसाद मिश्रले हामीलाई भनेका थिए मोदनाथ प्रश्रितले. मलाई उनको गुटको साहित्यिक मोर्चामा सामेल गर्न खोजेका थिए । म त्यसको लागि तयार भइनं । उनको  अभिव्यक्तिबाट के बुझिन्थ्यो भने उनी कुनै एक खास पार्टीको गुटमा लाग्न भन्दा सबै वामपन्थी प्रगतिवादी समूहसित सम्बन्ध स्थापित गर्न चाहन्थे । शायद यही भएर पनि यतिबेला युद्धप्रसाद मिश्र वामपन्थी प्रगतिवादी साहित्यिक फांटमा उत्तिकै सम्मानित हुन पुगेका छन् । 

हामी वर्तमान समाजमा के देख्दछौं भने हिजो आफूलाई एक नम्बरको माक्र्सवादी जनवादी प्रगतिवादी भन्ने साहित्यकारहरू पनि बिचलित हुन पुगेका छन् । हिजोको आफ्नो मूृल्य मान्यता तथा अडानबाट चिप्लेर कहाँबाट कहाँबाट पुगिसकेका छन् । एउटा ध्रुवबाट अर्को धु्रवमा सामेल हुन समेत भ्याएका छन् । उनीहरू दिन रात अवसरको खोजीमा तल्लीन भएका पाइन्छन् ।  उनीहरू कहिले यता भेटिन्छन् भने कहिले उता भेटिन्छन् । कहिले यस खेममा देखिन्छन् भने कहिले त्यस खेमामा । 

युद्धप्रसाद आफू कम्युनिष्ट बिचारको नजिक नहुँदा पनि उनी व्रिद्रोही कविको  रूपमा स्थापित थिए । क्रान्तिकारी कविको रूपमा स्थापित थिए । पछि कम्युनिष्ट पार्टी तथा कम्युनिष्ट विचारको नजदिक आए पछि पनि उनी विद्रोही कवि कै रूपमा रहिरहे । क्रान्तिकारी कवि कै रूपमा रही रहे । कवि युद्धप्रसाद मिश्र आस्था र आर्दशको पथमा अविचल चल्ने यात्री थिए । उनले आफ्नो यस यात्रालाई कहिले विश्राम दिएनन् । परित्याग गरेनन् ।  उनी देश र जनताको कवि थिए । देश र जनताका कवि बनी रहे । 

मैले युद्धप्रसाद मिश्रलाई पछिल्लो पल्ट हतार हतारमा भेट्दा उनले मलाई भनेका थिए — तपाईं यसरी हतारमा होइन केही धेरै समय लिएर आउनुहोस् । मैले तपाईंसित केही कुरा गर्नुछ  । मैले हुन्छ भनेको थिएँ । तर मैले अलिक बढी समय लिएर उनलाई भेट्न नपाउँदै उनको मुत्यु भयो ।  वास्तवमा युद्धप्रसाद मिश्रले मलाई के भन्ने चाहेका थिए त्यो मैले सुन्न बुझ्न पाइनं । त्यो नसुल्झिने पहेली जस्तो रहन गयो । 

म त्यतिबेला शिलाङमा थिएँ । पाक्षिक पत्रिकाको रूपमा नयाँ चेतनाको सम्पादन गर्दथें । म नयाँ चेतनाको विशेषांक प्रकाशित गर्ने जमर्कोमा थिएँ । तर विविध कारणले मैले नयाँ चेतनाको विशेषांक प्रकाशित गर्न सकिनं ।  हुन सक्दछ , त्यतिबेला मैले नयाँ चेतनाको विशेषांकको लागि धेरै लेखक साहित्यकारहरूबाट रचना माग गर्ने दौरानमा युद्धप्रसाद मिश्रसित पनि एउटा कविता मागेको थिएँ ।  उनले मलाई मेरो अनुरोधमा कविता लेखेर दिएका थिए । त्यो कविता म जहिलेसम्म शिलाङमा बसें मसित नै शिलाङमा बस्यो ।  म नेपाल आए पछि मसित नै नेपाल आयो. ।  म बाग्लुङ गल्कोट हुँदा त्यो पनि बाग्लुङ गयो होला । पोखरा रहँदा पोखरा रहेको होला ।  म भैरहवामा रहँदा भैरहवा रहेको होला । यतिबेला म बुटवला छु । यो कविता  बुटवलमा मसित नै सुरक्षित रहेको छ । बमकाण्डको बेलामा पनि त्यो कविता सुरक्षित रहन सफल भएछ । संकटकालको. बेलामा मेरो घर तलासी हुँदा पनि त्यो कविता सुरक्षित हुन सकेछ । अब म यो. कवितालाई मैले बुटवलबाट मेरै सम्पादनमा प्रकाशित हुने पत्रिका जनघोषमा प्रकाशित गर्ने मनस्थितिमा पुगेको छु  । फेरि पनि यस लेखमा त्यस अप्रकाशित कविताका दुई पंक्ति प्रकाशित गरेर म उनको जन्म दिनको अवसरकमा युद्धप्रसाद मिश्रप्रति श्रद्धांञ्जली व्यक्त गर्न चाहन्छु —

रगतका गतीमा नयाँ श्रोत आयो

नयाँ चेतनाले धरित्री जगायो 


२७—९—२०८१

११—१—२०२५

 


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...