युद्धप्रसाद्ध मिश्र ( २७ पौष २०६४—६ फागुन २०४७ ) सित मेरो प्रथम भेट बनारसको दशपुत्र गली स्थित पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यालया भएको हो । त्यतिबेला युद्धप्रसाद मिश्र पुरै कम्युनिष्ट विचारले लैश भएको स्थिति थिएन । उनी कम्युनिष्ट विचारका समर्थकका रूपमा प्रस्तुत भएको देखिन्थ्यो । मैले जानकारी पाए अनुसार उनी लामो समयदेखि बनारसमा निर्वासित जीवन व्यतीत गरेको अवस्था थियो । उनी विद्रोही स्वभाव र क्रान्तिकारी बिचारप्रति प्रतिवद्ध भएको हुनाले नै पुष्पलालको पार्टी सम्पर्कमा आएको अवस्था हो ।
बनारसमा पुष्पलालको पार्टीमा पुष्पलाल कै अग्रसरतमा क्रान्तिकारी साहित्यिस सांस्कृतिक संगठन मुक्ति मोर्चाको स्थापना भएको थियो । यसमा शुरुमा पाँच जनाको केन्द्रिय कमिटिको निर्माण गरिएको थियो । यसका अध्यक्ष नै युद्धप्रसाद मिश्र निर्वाचित गरिएका थिए । यसका सचिव रहेका थिए राजेन्द्र थापाका नाममा मोदनाथ प्रश्रित । यसमा रहेका तीन सदस्यहरूमा विदुरको नाममा जीवराज आश्रित, झपट सिंहको नाममा रामचन्द्र भट्टराई तथा कपिलका नाममा दिल साहनी निर्वाचित भएका थिए । पछि यसमा मदन भण्डारी लगाययतका अन्य सदस्य समावेश गरिएको थियो ।
यस संगठनमा नेतुत्व तहमा रहेका मोदनाथ प्रश्रित, जीवराज आश्रित लगायतमा व्यक्तिहरूले मुक्ति मोर्चा समूहका नाममा पुष्पलालको नेतुत्वका नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेका थिए । पछि उनीहरूले मदन भण्डारीलाई पनि समावेश गरेका थिए । तर युद्धप्रसाद मिश्र सामेल थिएनन् । मलाई उनीहरूले पुष्पलालको नजिकको मान्छे भनेर खबर समेत गरेका थिएनन् । त्यतिबेला म शिलाङमा थिएँ ।
हामीहरूले युद्धप्रसाद मिश्रलाई हाम्रो संगठनको तर्फबाट शिलाङमा आमन्त्रित गरेका थियौं । युद्धप्रसाद मिश्र शिलाङमा निकै लामो समयसम्म बसेका थिए । त्यहाँका साहित्यिक गतिविधिमा संलग्न भएका थिए ।
पछि म नेपाल आएर नेकपा मालेमा संगठित भएको थिएँ । म त्यतिबेला गण्डकी धवलागिरि पार्टी संगठनका सचिव वामदेव गौतमको सल्लाह बमोजिम पोखराबाट मुक्ति मोर्चा ,वर्ग संघर्ष र घोषणा पत्रिका प्रकाशन गर्न बनारस पुगेको थिएँ । वामदेव गौतमले मलाई बनारसमा झलनाथ खनालको सम्पर्कमा रहेर पार्टीका पत्रिकाहरू प्रकाशन गर्ने जिम्मा दिएका थिए । त्यतिबेला युद्धप्रसाद मिश्र बनारसमा नै थिए । मैले तपस्वीको जस्तो जीवन व्यतीत गरिरहेका युद्धप्रसाद मिश्रलाई उनका डेरामा पुगी भेटेको थिएँ । उनलाई मैले घोषणाको लागि एउटा कविता लेखिदिन भनेको थिएँ उनले घोषणाको लागि घोषणा गज्र्यो कविता लेखेर मलाई दिएका थिए । यस कवितालाई मैले पोखराबाट पार्टी संगठनको भूमिगत रूपमा प्रकाशित भएको पत्रिका घोषणामा प्रकाशित गरेको थिएँ । प्रा डा. बासुदेव त्रिपाठीले घोषणा कवितालाई युद्धप्रसाद मिश्रको उत्कृष्ट कविताको रूपमा मूल्यांकन गरेका छन् ।
युद्धप्रसाद मिश्रका हामीले शिलाङबाट प्रकाशित हुने मादल, पसिना,नयाँ सृजना , जनशक्ति आदि पत्रिकामा प्रकाशित गरेका थियौं ।
मैले युद्धप्रसाद मिश्रबाट लिएको अन्तवार्ता के वी नेपालीको सम्पादनमा असम लामडिङबाट प्रकाशान हुने बिन्दु ( वर्ष २५, अंक ७०, अक्टुवर मार्च १९८६—१९८७ ) पत्रिकामा प्रकाश छेत्रीको नाममा प्रकाशित गरेको थिएँ ।
मैले लेखेको लेख युद्धप्रसाद मिश्रसित एक दिन म समेत सम्पादक रहेको भैरहवा बुटवलबाट प्रकाशित हुने पत्रिका युगज्योति ( वर्ष ५ अंक १ संयुक्त अंक फागुन चैत २०४२ ) मा प्रकाशित भएको थियो ।
मैले भैरहवाबाट कवि युद्धप्रसाद मिश्र ( २०४७ ) समालोचनात्मक पुस्तिका प्रकाशित गरेको थिएँ ।
आफ्नो जीवनको पछिल्लो चरणमा युद्धप्रसाद मिश्र भक्तपुरमा आएर बस्न थालेका थिए । म काठमाण्डौंमा पुगेको बेलामा सकभर भक्तपुर पुगेर युद्धप्रसाद मिश्रलाई भेट्ने गर्दथें । उनीसित बसेर घण्टौं घण्टौंसम्म मुख्यत साहित्यिक विषयमा चर्चा परिचर्चा गर्दथें । उनले आफूले लेखेका रचना मलाई सुनाउँथे । कुनै आफ्नो कविता प्रकाशित पत्रिका मलाई दिंदै भन्दथे — यो तपाईंसित राख्नुहोस् । तपाईंसित राखे सुरक्षित हुन्छ । मिश्रले मलाई कति कविता बिना शिर्षक लेखेर पनि दिन्थे र भन्थे शीर्षक तपाईं आफैले राखिदिनुु होला । कुनै पत्रिकालाई छाप्न दिनु होला ।
युद्धप्रसाद मिश्र मलाई के पनि भन्दथे भने तपाईंले मलाई बराबार भेट्नुहोला । तपाईंसित भेटेमा मलाई केही कोर्नमा जाँगर चल्दछ । उत्साह आउँदछ ।
मैले पछिल्लो चरणमा युद्धप्रसाद मिश्रलाई भक्तपुरमा भेट्दा उनी कम्युनिष्ट पार्टीको घोषणापत्र पत्र पढ्नुमा व्यस्त देखिन्थे । उनले कम्युनिष्ट साहित्य अध्ययन गर्नमा बढी रुचि लिन थालेको थिए ।
युद्धप्रसाद मिश्रको के अवधारणा रहेको पनि पाइन्थ्यो भने गाउँ नदेखेको र शहर केन्द्रित भएको व्यक्तिले जनताको भावना बुझ्न सक्दैन । जनताको साहित्य लेख्न सक्दैन ।
एक भेटमा युद्धप्रसाद मिश्रले हामीलाई भनेका थिए मोदनाथ प्रश्रितले. मलाई उनको गुटको साहित्यिक मोर्चामा सामेल गर्न खोजेका थिए । म त्यसको लागि तयार भइनं । उनको अभिव्यक्तिबाट के बुझिन्थ्यो भने उनी कुनै एक खास पार्टीको गुटमा लाग्न भन्दा सबै वामपन्थी प्रगतिवादी समूहसित सम्बन्ध स्थापित गर्न चाहन्थे । शायद यही भएर पनि यतिबेला युद्धप्रसाद मिश्र वामपन्थी प्रगतिवादी साहित्यिक फांटमा उत्तिकै सम्मानित हुन पुगेका छन् ।
हामी वर्तमान समाजमा के देख्दछौं भने हिजो आफूलाई एक नम्बरको माक्र्सवादी जनवादी प्रगतिवादी भन्ने साहित्यकारहरू पनि बिचलित हुन पुगेका छन् । हिजोको आफ्नो मूृल्य मान्यता तथा अडानबाट चिप्लेर कहाँबाट कहाँबाट पुगिसकेका छन् । एउटा ध्रुवबाट अर्को धु्रवमा सामेल हुन समेत भ्याएका छन् । उनीहरू दिन रात अवसरको खोजीमा तल्लीन भएका पाइन्छन् । उनीहरू कहिले यता भेटिन्छन् भने कहिले उता भेटिन्छन् । कहिले यस खेममा देखिन्छन् भने कहिले त्यस खेमामा ।
युद्धप्रसाद आफू कम्युनिष्ट बिचारको नजिक नहुँदा पनि उनी व्रिद्रोही कविको रूपमा स्थापित थिए । क्रान्तिकारी कविको रूपमा स्थापित थिए । पछि कम्युनिष्ट पार्टी तथा कम्युनिष्ट विचारको नजदिक आए पछि पनि उनी विद्रोही कवि कै रूपमा रहिरहे । क्रान्तिकारी कवि कै रूपमा रही रहे । कवि युद्धप्रसाद मिश्र आस्था र आर्दशको पथमा अविचल चल्ने यात्री थिए । उनले आफ्नो यस यात्रालाई कहिले विश्राम दिएनन् । परित्याग गरेनन् । उनी देश र जनताको कवि थिए । देश र जनताका कवि बनी रहे ।
मैले युद्धप्रसाद मिश्रलाई पछिल्लो पल्ट हतार हतारमा भेट्दा उनले मलाई भनेका थिए — तपाईं यसरी हतारमा होइन केही धेरै समय लिएर आउनुहोस् । मैले तपाईंसित केही कुरा गर्नुछ । मैले हुन्छ भनेको थिएँ । तर मैले अलिक बढी समय लिएर उनलाई भेट्न नपाउँदै उनको मुत्यु भयो । वास्तवमा युद्धप्रसाद मिश्रले मलाई के भन्ने चाहेका थिए त्यो मैले सुन्न बुझ्न पाइनं । त्यो नसुल्झिने पहेली जस्तो रहन गयो ।
म त्यतिबेला शिलाङमा थिएँ । पाक्षिक पत्रिकाको रूपमा नयाँ चेतनाको सम्पादन गर्दथें । म नयाँ चेतनाको विशेषांक प्रकाशित गर्ने जमर्कोमा थिएँ । तर विविध कारणले मैले नयाँ चेतनाको विशेषांक प्रकाशित गर्न सकिनं । हुन सक्दछ , त्यतिबेला मैले नयाँ चेतनाको विशेषांकको लागि धेरै लेखक साहित्यकारहरूबाट रचना माग गर्ने दौरानमा युद्धप्रसाद मिश्रसित पनि एउटा कविता मागेको थिएँ । उनले मलाई मेरो अनुरोधमा कविता लेखेर दिएका थिए । त्यो कविता म जहिलेसम्म शिलाङमा बसें मसित नै शिलाङमा बस्यो । म नेपाल आए पछि मसित नै नेपाल आयो. । म बाग्लुङ गल्कोट हुँदा त्यो पनि बाग्लुङ गयो होला । पोखरा रहँदा पोखरा रहेको होला । म भैरहवामा रहँदा भैरहवा रहेको होला । यतिबेला म बुटवला छु । यो कविता बुटवलमा मसित नै सुरक्षित रहेको छ । बमकाण्डको बेलामा पनि त्यो कविता सुरक्षित रहन सफल भएछ । संकटकालको. बेलामा मेरो घर तलासी हुँदा पनि त्यो कविता सुरक्षित हुन सकेछ । अब म यो. कवितालाई मैले बुटवलबाट मेरै सम्पादनमा प्रकाशित हुने पत्रिका जनघोषमा प्रकाशित गर्ने मनस्थितिमा पुगेको छु । फेरि पनि यस लेखमा त्यस अप्रकाशित कविताका दुई पंक्ति प्रकाशित गरेर म उनको जन्म दिनको अवसरकमा युद्धप्रसाद मिश्रप्रति श्रद्धांञ्जली व्यक्त गर्न चाहन्छु —
रगतका गतीमा नयाँ श्रोत आयो
नयाँ चेतनाले धरित्री जगायो
२७—९—२०८१
११—१—२०२५
Comments
Post a Comment