यो पनि असम कै कुरा हो । दरं ( हाल शोणितपुर ) जिल्ला कै कुरा हो । लोकरा कै कुरा हो । यो यस्तै १९६५ को सेरोफेरोको कुरा हो । म त्यतिबेला लोकरा नयाँ राबरघारीमा बस्दथें । चारदुवार हाई स्कुलमा पढ्दथें ।
एक दिन म लोकरा बजारमा डुलिरहेको बेलामा मेरो एक्कासि भेट पाँचौं असम राइफल्सका सिपाहीसित भयो । सिपाहीको नाम मैले अहिले बिर्सें । मलाई उनको अनुहारको पनि संझना छैन । मात्र मलाई उनीबारे कति कुरा थाहा छ भने उनी मेरै पहाड घरका मान्छे थिए । बाग्लुङ गल्कोट कै मान्छे थिए । गल्कोटको कुन गाउँको मान्छे भन्ने कुरा भने मलाई थाहा छैन । लामो समय भए पछि धेरै कुरा बिस्मृतिका गर्भमा गएर बस्दारहेछन् । सिगमण्ढ फ्रायडको भाषामा अचेतन मनमा गएर बस्दारहेछन् ।
मसित चिनाजानी हेमफेम भएका ती लाहुरेले चिया पिउन नजिकैको असम राइफल्सको क्यान्टिनमा पुराए । हामी क्यान्टिनमा चिया पिउन कुर्सी तानेर बस्यौं । उनले चियाको साथसाथै मिठाईको पनि अर्डर गरे ।
क्यान्टिनमा हामीलाई चिया मिठाई दिने मान्छे कालो कालो वर्णका मदरासी जस्तो थियो । उसले हामीसित नेपाली भाषामा नै कुराकानी गरे पनि मैले उसलाई किन मदरासी ठानेको थिएँ भने त्यहाँ खास गरी असम राइफल्समा असमी , डाफ्ला , नागा, बंगाली, बिहारी, पंजाबी,मदरासी , मारवाडी आदि सबै जात जातिका मान्छेहरू परस्परमा नेपाली भाषा नै बोल्दथे । नेपाली भाषा बोल्न सक्दथे । असम राइफल्समा अधिकांश सिपाही र अफिसर पनि नेपाली हुने हुनाले नेपाली भाषा त्यहाँको बोलीचालीको भाषा जस्तो भएको थियो । लिंगुवा फरन्का जस्तो भएको थियो । म सित चारदुवार हाई स्कुलमा पढ्ने कचारी विद्यार्थी नारायण मेचका बुबा पाँचौ असम राईफल्समा सुवेदार थिए । उनका सम्पूण छोरा छोरी असम राईफल्सको व्यारेकमा हुर्केको हुनाले उनीहरूले बुबाको पेन्सन पछि आफ्नै घरमा बस्दा पनि परस्परमा कचारी वा असमी भाषा नबोलेर नेपाली भाषा नै बोल्ने गर्दथे भन्ने कुरा मलाई राम्ररी नै थाहा थियो । नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गरेको कुरा मलाई राम्ररी थाहा थियो । मलाई एकजना पाँचौ असम राइफल्सका नागा सिपाहीले नेपाली भाषा जानेकोले नै होला हाम्रै गल्कोटकी चीन भारत युद्धमा पति गुमाएकी महिलालाई विबाह गरेको देखेको थिएँ मैले । नागा सिपाही पेन्सन पछि लोकरा बजारमा नै फोटोग्राफी गर्दथे । उनले नयाँ राबरघारी हाम्रै घरमा आएर पनि फोटो खिचिदिएका थिए । मैले लोकरा नयाँ राबरघारीमा एकजना गरिब बंगाली परिवारले नेपालीहरूका बीचमा बसेको कारणले घरमा परस्परमा बंगाली भाषामा कुराकानी नगरेर नेपाली भाषामा कुराकानी गरेको देखेको सुनेको थिएँ । यसैले क्यान्टिनमा काम गर्ने युवकले हामीसित नेपाली भाषामा कुरा गरे पनि म ऊ मदरासी नै होला भन्ने निष्कर्षमा पुग्नु स्वाभाविक नै थियो । निश्चित रूपमा मैले उसलाई मदरासी नै बनाएको थिएँ । मदरासी नै ठानेको थिएँ ।
हामी चिया मिठाई खाँदै थियौं । हामीलाई चिया मिठाई दिने त्यस युवकले संवोधन गर्दै भन्यो — “ तपाईंहरूको घर कहाँ हो ? ”
हामीहरूले प्रत्युत्तरमा भन्यौं — “ हाम्रो घर बाग्लुङ गल्कोट हो । निकै हर्षित हुँदै त्यस युवकले भन्यो — “ मेरो घर पनि बाग्लुङ बुर्तिबाङ हो ।”
“ ए ! ” भनेर हामीहरू मिठाई खाँदै गयौं । चिया पिउँदै गयौं ।
अरु बढी जिज्ञांसा राख्दै मदरासी जस्तो देखिने युवकले हामीलाई थप प्रश्न गर्दै भन्यो — “ तपाईंहरू के जात ? ”
यस प्रश्नको उत्तर दिंदै लाहुरेले भन्यो — “ क्षेत्री । ”
एउटा पक्षले कसैको जात सोधे अर्को पक्षले पनि उसको जात सोध्नु स्वभाविक कुरा हुन्छ । मदरासी जस्तो देखिने युवकले हाम्रो जात सोधे पछि हामीले पनि उसको जात सोध्नु स्वभाविक कुरा हुने नै भयो । तर पनि मैले उसको जात किन पनि सोध्न चाहिनं भने कत
ऊ दलित रहेछ भने त बर्वाद हुन्छ । सत्यनाश हुन्छ । अनर्थ हुन्छ । हाम्रो जात जान्छ । हामीहर्रू ’माथिल्लो जात’ बाट खसेर्र तल्लो जात’ हुन्छौं । यदि र्ऊ तल्लो जात’ कै मान्छे रहेछ भने पनि हामीले उसको जात नजानेकै राम्रो । यस अवस्थामा हामीलाई हाम्रो जात गएको अनुभूति त हुन पाउँदैन । हामीलाई हाम्रो जात गयो भनेर भित्र भित्र पिरोलिरहन त पर्दैन ।
“ तपाईंको जात ? ” लाहुरेले मेरो इच्छा विपरीत प्रश्न गरे । लाहुरेको प्रश्नले नै मलाई भयभीत बनायो । मैले लाहुरेलाई मन मनै सरापें । सोंचे यो लाहुरेलाई त्यस युवकको जात किन चाहिएको होला ! ऊ जे जातको युवक भए पनि चिया मिठाई खाएर चुपचाप हिंडेको भए हुन्थ्यो ।
“ म त कामी हुँ हजुर ! ” निकै प्रफुलित हुँदै त्यस युवकले लाहुरेको प्रश्नको उत्तर दियो ।
म छाँगाबाट खसेको जस्तो भएँ । मैले त चालै नपाई दलितले दिएको चिया मिठाई खाएछु । मैले त चालै नपाई आफ्नो जात फालेको रहेछु । मैले चालै नपाई मेरो जात गएको रहेछ । सत्यानाश भएछ ।
हामीले आधा भन्दा बढी चिया पिइसकेका थियौं । हामीले धेरै जसो मिडाई पनि खाइसकेका थियौं । मलाई अब अरु चिया पिउन मन लागेन । बाँकी रहेको मिठाई पनि खान मन लागेन । म अचानक मेरो जात गएकोमा ठूलो शोकमा डुवेको थिएँ । ठूलो चिन्तामा परेको थिएँ । मलाई ठूलै हेक्टरको भूकम्प आएको जस्तो लागिरहेको थियो । मलाई प्रलय नै भएको जस्तो लागिरहेको थियो । तर लाहुरेको अनुहारमा कुनै परिवर्तन आएन । उनी पहिले कै जस्तै हर्षित मुद्रामा नै थिए । प्रफुल्ल मुद्रामा नै थिए ।
मन मनै भुटभुटिंदै र निधारभरि पसिनै पसिना हुँदै मैले त्यस युवकलाई सम्बोधन गर्दै भने — “ तर तिमी त मदरासी जस्तै देखिन्छौ त ?”
त्यस युवकले मेरो अभिव्यक्तिको प्रतिक्रियामा भन्यो —“म धेरै वर्ष मदरासमा बसेको थिएँ । मदरासमा काम गरेको थिएँ । ”
जे होस्, मलाई त्यस दिन कस्तो पनि अनुभूति भयो भने यो जात भन्ने कुरो जोगाउन निकै गाह्रो हुँदोरहेछ । आफूले जति जोगाउँछु भने पनि हामीले चालै नपाई जाँदो रहेछ ।
क्यान्टिनमा चिया मिठाई खाएको हप्ता दिनभन्दा बढी म ठूलो चिन्ताको सागरमा डुबें । म निकै खिन्न भएँ । उदास भएँ । मलाई मेरो जता गयो भन्ने पीरले सताउनसम्म सतायो । पिरल्नसम्म पिरल्यो । म जब बाटो घाटोमा हिंड्दथें र “उपल्लो जात”का मान्छे देख्दथें मलाई निकै खल्लो खल्लो लाग्दथ्यो । म सोंच्दथें यिनीहरूले त आफ्नो जात जोगाइरहेका छन् । मैले मेरो जात जोगाउन सकिनं । मैले मेरो जात राख्न सकिनं । मेरो जात गयो ।
हुन त मलाई के पनि थाहा थियो भने कसैले पनि मेरो जात गयो भनेर मलाई बहिस्कार गर्ने थिएन । तिरस्कार गर्ने थिएन । मैले त्यहाँ कसैको यसरी जात गयो भनेर कसैले कसैलाई बहिस्कार गरेको पनि देखेको थिइनं । तिरस्कार गरेको पनि देखेको थिइनं । फेरि कुरा यो पनि थियो — मेरो जात गयो भन्ने कुरा ती लाहुरेले बाहेक कसैले देखेको थिएन । चाल पाएको थिएन । लाहुरेले मेरो जात गयो भनेर चारैतिर ढोल बजाउँदै हिंड्ने कुरा पनि भएन । प्रचार गर्दै हिंड्ने कुरा पनि भएन ।
यति हुँदा हुँदै पनि धेरै दिनसम्म मेरो जात गएकोमा म किन शोकाग्रस्त भएँ भने मेरो जात गएको कुरा मैले ढोल पिट्दै दुनियाँलाई नबताए पनि आखिर मैले आफै मेरो जान गएको कुरा चाल पाएको थिएँ । मैले अरुलाई मेरो जात गएको कुरा ढाँटे पनि आफूलाई त ढाँट्न सक्दिनथें । मैले मेरो जात गएको कुराका सम्बन्धमा देश र दुनियाँलाई छल्न सके पनि आफूले आफैलाई छल्न सक्ने थिइनं । शायद यही भएर पनिज होला मेरो जात गएको कुराले म भित्रभित्र भुटभुटिएको थिएँ । भित्रभित्रै छटपटिएको थिएँ । भित्र भित्रै टाउको दुखाइरहेको थिएँ । वास्तवमा त्यतिबेला म टाउको छिनिएको बाख्राको पाठो जस्तै रन्थनिएको थिएँ ।
८—७—२०६९
बिजया दशमी ।
टीका
Comments
Post a Comment