Skip to main content

शिलाङमा तिहार

 

दशैं नेपालीहरूको ठूलो चाड हो भने तिहार पनि कम होइन । दशैंको बेलामा आमा बुबा वा मान्य जनको हातको टीमा लगाउन खोज्दछौं भने तिहारमा दिदी बहिनीको हातका टीका र फूलका माला लगाउन चाहन्छौं । फूल पनि सयपत्री फूलको माला ।  सयपत्री फूलले तिहारको झलक दिन्छ ।  सयपत्री फूल फुल्यो कि हामीलाई तिहार आए जस्तो लाग्दछ । स्वदेशमा बस्ने दाज्यू भाइलाई दिदी बहिनीको हातको टीका लगाउन कुनै गाह्रो पर्दैन । तर प्रदेशमा तिहारको बेलामा दिदी बहिनीहरूको हातबाट टीका लगाउन निकै कठिन  हुन्छ । शायद यही भएर पनि होला हामी कसैलाई दिदी बहिनी मानेर टीका लगाउने गर्दछौं ।

मैले पनि प्रदेशमा जहाँ जहाँ बसेको छु कसै न कसैलाई दिदी बहिनी मानेर तिहारमा टीका लगाउने गरेको छु । गला भरि माला भिर्ने गरेको छु । वास्तवमा मैले कसैलाई दिदी बहिनी बनाउन खोज्नुभन्दा पनि उनीहरूले नै मलाई दाइ भाइ ठानेर तिहारको टीका लगाउन बोलाएका छन् । मैले उनीहरूको हातबाट निधारमा टीका लगाएको छु । गलामा माला भिरेको छु । म त्यस्ता दिदी बहिनीहरूप्रति सदा स्नेह श्रद्धा भाव राखिरहेको छु । यहाँ यतिबेला म अरु कतैको होइन शिलाङमा तिहारको बेलामा दिदी बहिनीका हातबाट टीका लगाएको कुराको संझना गर्न चाहन्छु । चर्चा चलाउन चाहन्छु ।

शिलाङमा गल्कोट सर्दाखेतकी साहनीकी छोरी रहिछन् । नाताले हामीले उनलाई फुपू भन्न पर्दोरहेछ । हामी सर्दाखेतका साहनीलाई अमरिसे साहनी भन्दथ्यौं । उनीहरूलाई किन अमरिसे साहनी भनिएको हो त्यसबारे मलाई कुनै कुरा थाहा थिएन । अमेरिसे साहनीको जेठी छोरीको बिवाह गुल्मीको वामीमा परसाईसित भएको रहेछ ।  यो कुरा मलाई शिलाङ गएर मात्र थाहा भयो । उनकी कान्छी बहिनीको विवाह दरमखोला पारि  मसुरबारी भएको कुरा भने मलाई थाहा थियो । उनका कान्छा भाइ असम राइफल्समा लाहुरे भएको कुरा पनि मलाई थाहा थियो ।

त्यतिबेला पुसाज्यू शिलाङको टी बी हस्पिटलमा काम गर्दथे । साथसाथै उनले गाई पनि पालेका थिए । फुपूहरू वाह्रपत्थरमा बस्दथे । उनीहरूसित परिचय  भए पछि फुपूले मलाई तिहारको बेलामा टीका लगाउन बोलाउनु भयो । फुपूकी एउटी छोरी थिई । मैले उसलाई बहिनी भन्नु पर्दथ्यो । उसले नै मलाई हरेक वर्ष तिहारको टीका लगाउन थाली । यसैले पनि तिहारको बेलामा मेरो निधार खाली हुन पाएन ।

यसरी मलाई शिलाङमा हरेक तिहारमा फुपूकी छोरी टीका लगाइदिन थाले पनि एक पल्ट मैले प्रभा सुनारको हातको पनि टीका लगाएको थिएँ ।

प्रभा सुनार क्यान्टोनमेन्टको प्राइमरी स्कुलकी शिक्षिका थिइन् । उनी शिलाङको लोअर मोप्रेममा बस्दथिइन् । उनको एकजना प्रधानसित विवाह भएको थियो । उनका श्रीमान फिल्म डिस्टिब्युटर थिए । बडो फरासिला तथा रमाइला व्यक्ति थिए ।

मैले प्रभा सुनारलाई सिधै चिनेको जानेको होइन । जहाँसम्म मलाई थाहा छ , मैले उनलाई प्रेम राई मार्फत चिनेको जानेको हुँ । प्रैम राई मेरा आत्मीय मित्र थिए । नेपालबाट हाई स्कुल पास गरेका प्रेम राईले शिलाङ कलेजबाट शिक्षा शास्त्र लिएर वी ए अध्ययन गर्दैै थिए । उनी पल्टनबजारमा स्थिति प्राइमरी स्कुलमा अध्यापन पनि गर्दथे । प्रेम राई र प्रभा सुनार कलिग थिए । दुबैले क्यान्टोनमेन्टको पाठशालामा अध्यापन गर्दथे ।

एक दिन मलाई प्रेम राईले भने उनी तिहारको टीका प्रभा सुनारको हातबाट लगाउने भएका छन् । प्रेम राईले मलाई के पनि भने भने —“ साहनी दाइ ! प्रभा सुनारले तपाईंलाई पनि तिहारको टीका लगाइदिने इच्छा राखेकी छन् । मलाई साहनी भाइलाई पनि बोलाउनु भनेकी छन् । जाउँ ! ” 

शिलाङमा फुप्रकी छोरी – बहिनी ) को हातबाट तिहारको टीका लगाउन थाले पछि मैले अरु कुनै दिदी बहिनीको हातको टीका लगाउनु पर्ने थिएन । तर प्रभा सुनारले मेरो निधारमा पनि तिहारको टीका लगाइदिने इच्छा जाहेर मात्र होइन मलाई निम्तो समेत दिइसके पछि मैले त्यसलाई लत्याउने कुरै थिएन । फेरि मेरा मित्र प्रेम राईले तिहारको टीका लगाउन प्रभा सुनारको घरमा जाउँ भने पछि मैले त्यसलाई टार्न सक्दिनथें । कुरो जे होस्, म प्रेम राईसित प्रभा सुनारको हातबाट तिहारको टीका लगाउन लोअर मोप्रैमतिर लागें ।

प्रभा सुनारले प्रेम राई र मलाई तिहारको टीका लगाइदिइन् । माला लगाइदिइन् । हामीलाई उनले त्यस दिन खानलाई के के कुरा दिइन् त्यसको संझना भने अहिले मलाई छैन । जहाँ पनि तिहारको बेलामा खानलाई सेल रोटी दिने हुँदा त्यहाँ पनि सेल रोटी नै दिएकी होलिन जस्तो लाग्दछ ।

हामी बेला बखतमा प्रभा सुनारको घरमा जाँदा उनले कम प्लेटमा चिया पिउन दिएको कुरा भने अझ पनि मेरो संझनामा छ । 

जे होस्, एकपल्ट तिहारको टीका लगाएको हुनाले प्रभा सुनार पनि मेरी दिदी  भइन् । उनका छोरा  छोरीहरूलाई मैले भाञ्जा भाञ्जी भन्न पर्यो । प्रभा दिदीका कति छोरा छोरी थिए त्यसको अहिले मलाई कुनै संझना छैन । तर एक जना भाञ्जीको संझना अझ पनि ताजै नै छ । यद्पि उनको अनुहार अहिले बिर्सिसकेको छु ।  मलाई लाग्दछ उनी जेठी भाञ्जी हुन् । उनले नेहु (  नर्थ इस्टर्न हिल युनिवर्सिटी ं) मा समजाशास्त्र लिएर एम ए को अध्ययन गर्दै थिइन् । उनले मलाई बताएकी थिइन्  — समाजशास्त्रको अध्ययन गर्दा फिल्ड स्टडी पनि गर्नु पर्दोरहेछ ।  समाजशास्त्रको अध्ययन गर्दा मलाई के कुराको पनि संझना हुन्छ भने नेहुका समाजशास्त्र विभागमा भर्खर नियुक्ति भएर आएका हेड डा. प्रो. सिंह अरोरा  ( उनको पूरा नाम याद छैन ) सित मेरो जिङकिङमा भेट हुुँदा उनले मलाई मयुरभंज पैलेस (  नेहुका राजनीतिशास्त्र , इतिहास , दर्शन र अंग्रेजी विभाग रहेको ठाउँ  ) जाने बाटो सोधेका थिए ।  मैले उनलाई सबै कुरा विस्तारपूर्वक बताइदिए पछि उनले मेरो पनि परिचय मागेका थिए । म नेपाली हुँ र नेहुको अंग्रेजी विभागमा एम ए पढ्दै छु भन्ने कुरा खुले पछि ती पंजाबी प्रोफेसरले नेपाली विद्यार्थीले पनि उनको विषयमा अध्ययन गरुन भनेर होला मलाई समाजशास्त्रमा भर्ना हुन आग्रह गरेका थिए । बाटोमा खडा खडा उनले नेपालीको सम्बन्धमा विविध विषयमा जानकारी लिन चाहेर मसित अनेक प्रश्न गरेका थिए । मैले उनलाई नेपाली जाति , नेपालीहरूको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक आदि जस्ता विषयमा थुप्रै कुरा बताएको थिएँ । उनको जिज्ञाँसालाई मेटाउन  खोजेको थिएँ ।  हामीबीच कुराकानी अंग्रेजीमा भएको थियो ।

पछि प्रभा सुनारकी छोरी (  भाञ्जी ) त्यही समाजशास्त्र विभागमा भर्ना भई अध्ययन गर्न थालिन् । त्यतिबेला समाजशास्त्रको नै अध्ययन गर्ने एकजना मिजो विद्यार्थीसित मेरो परिचय भएको थियो । उसले मलाई माक्र्सवादको बारेमा व्याख्या गर्न अनुरोध गरेको  थियो । मैले उसलाई र अन्य समाजशास्त्रका विद्यार्थीलाई विशेष गरी द्वन्द्वात्मक भौतिकवादी र ऐतिहासिक भौतिकवादी दर्शनको विषयमा बिस्तृत कुरा बताएको थिएँ । यतिबेला मलाई त्यस मिजो विद्यार्थीको नाम याद छैन ।

पछि समाजशास्त्रमा एम ए गरेकी प्रभा सुनारकी छोरी .( भाञ्जी ) को शिलाङका के. वी. सुनारसित विवाह भयो । बी एस सी पढेका के वी सुनार मेरा मित्र थिए । त्यतिबला उनी स्टेट बैंक अफ इंडियाको शिलाङ शाखामा प्रोवेसनरी अफिसर थिए ।

प्रभा सुनारको परिवारको सम्बन्धमा मैले कुनै सूचना नपाएको कैयौं दशक भइसक्यो । म यतिबेला उनीहरूदेखि बेखबर छु । शायद उनीहरू पनि मदेखि बेखर छन् । टाढा टाढा बसे पछि सबै कुराबाट टाढा टाढा हुँदै गइने रहेछ ।     

 

८—६—२०६९ — ९—६—२०६९


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...