Skip to main content

दौरा

 

म शिलाङमा छँदा थुप्रै घर परिवारसित मेरो पारिवारिक सम्बन्ध थियो । म ती परिवारको एउटा सदस्यको रूपमा रहेको थिएँ । यस्तै परिवारमध्ये तिल कार्कीको परिवार पनि मेरो आफ्नै परिवार जस्तो थियो ।

तिल कार्कीकी बहिनी विष्णु कार्की भट्टराईले तान लगाएर ऊनीको नागा चादर बुन्न सिकेकी थिइन् । एक दिन तिल कार्कीकी आमाले मलाई भन्नु भयो — छोरीले तान लगाएर नागा चादर बुन्न सिकेकी छ ।  तपाईंले ऊन  ल्याएर दिएमा उसले तपाईंलाई खाटी ऊनको चादर बुनेर दिनेछ । मैले आमाले भनेको कुरालाई शिरोधार्य गरेर बजारबाट ऊन किनेर ल्याएर विष्णु कार्की भट्टराईलाई दिएँ ।  उनले मेरो लागि खाटी ऊनको नागा चादर बुनिदिएकी थिइन् । यो २०३४—१०३५ तिरको कुरा हो । विष्णुले बुनेको नागा चादर अझ पनि मेरो दराजमा थन्किएर बसेको छ ।  मैले अझ एक दिन पनि त्यो चादर ओढेको छैन ।  मलाई चादरको खाँचो नै परेको भए निश्चय पनि ओढ्थें होला । म सित अरु दुई नागा चादर भएको हुनाले ती चादर नै प्रयाप्त भएका छन् । फेरि मसित यतिबेला विभिन्न सम्मान कार्यक्रममा दोसल्ला भन्दै ओढाइदिएका दर्जनौं चादर छन् । तिनलाई मैले चिनो भनेर दराजमा चिनेर  राखेको छु । 

यसै प्रसंगमा मलाई रुमालको संझना हुन्छ । म शिलाङको नङ्थुमाई प्रोसिडिङ हाई स्कुलको शिक्षक थिएँ ।  यो १९७६ भन्दा केही पहिलेको कुरा हो । मलाई त्यहाँका विद्यार्थीहरूले उपहारको रूपमा एउटा रुमाल किनेर दिएका थिए । मैले त्यो रुमाल नेपालमा ल्याएर एउटा चिनाको रूपमा बाकसमा थन्काएको थिएँ । पछि त्यो रुमाल कहाँ पुग्यो मलाई थाहा हुन सकेन ।

म शिलाङ मेघालयबाट २०३५ सालतिर नेपाल फर्किंने बेलामा असमको संझनाको रूपमा  असमी एन्डीको चादर सात सय रुपियाँमा किनेर ल्याएको थिएँ । त्यो मैले अहिलेसम्म एक दिन पनि ओढेको छैन ।   जुन कागजको थैलोमा राखेर दोकानले दिएको थियो त्यसैमा अझ पनि प्याक भएर बसेको छ । शायद त्यो चादर मैले ओढ्नको लागिभन्दा पनि असमको चिनोका लागि किनेको थिएँ । उसो त मैले त्यतिबेला असमी गम्छा पनि किनेर ल्याएको थिएँ । त्यो पनि मेरो वाकसमा सुरक्षित छ । केही वर्ष अघि डिग्बोई असमका मेरा मित्र कलाकार तथा लेखक युद्धवीर राणाले असमी गम्छा कोशेली पठाइदिएका रहेछन् । मैले त्यसलाई पनि बिर्सन नसकिने चिनोको रूपमा दराजमा थन्काएर राखेको छु ।                                                      मलाई निलो रंगका  जीन पेन्ट निकै मन पर्दथे ।  अहिले मेरो दराजमा दुईवटा जीन पेन्ट थन्किएर बसेका छन् । एउटा जीन पेन्ट केही पुरानो जस्तो देखिए पनि  अर्को पुरै नयाँ छ । मैले ती जीन पेन्ट नलगाएको कारण पछि मलाई अनफिट भएर नै हो । साँगुरा भएर नै हो । 

मैले यी कुराको चर्चा गर्नाको खास कारण के हो भने मलाई मेरा राम्रा राम्रा तथा खास महत्वका लुगा कपडा लगाएर हिंड्न भन्दा पनि तिनीहरूलाई संग्राहलायमा थन्काए जस्तै बाकस वा दराजमा थन्काएर राख्न मन पर्दछ । म लुगा कपडालाई निकै माया गर्दछु । म पुराना कपडा थन्काएर राख्न र नयाँ कपडा भिर्न मन पराउँछु ।

मैले यसरी राम्रा राम्रा र खास महत्वका कपडालाई थन्काएर राख्न थालेको कुनै स्कुल वा विश्वविद्यालयबाट तालिम लिएर पनि होइन । शिक्षा प्राप्त गरेर पनि होइन । फेरि यो कुरा मैले कसैको अर्ती बुद्धिमा लागेर अभ्यास गरको पनि होइन । मलाई लाग्दछ यो मेरो सानैदेखि बसेको बानी हो ।

म  जन्मिनुभन्दा अघिदेखि नै मेरा बुबाले खेतीपातीका साथसाथै बन्द व्यापार पनि गर्नुहुन्थ्यो । उहाँले कपडाको दोकान पनि राख्नु भएको थियो । खिर्ची मिर्चीको दोकान पनि राख्नु भएको थियो ।  म हुर्केको घरमाभन्दा पनि बढी दोकानमा नै हो ।

मलाई बुबाले जांगे (  हाफ पेन्ट ) र कमिज सिलाइदिनु हुन्थ्यो । मेरो हाफ पेन्ट र सर्ट नयाँ हुँदा मैले सित्तिमित्ति लगाउँदैनथें । कुनै   कारणले लगाउन परे पनि म  तिनलाई फोहोर मैला हुन दिंदैनथें । सधैं सफा राख्न चाहन्थें । सधैं नयाँ राख्न चाहन्थें ।

मलाई अहिले पनि हिजो जस्तै लाग्दछ ।  अझ आजै जस्तो लाग्दछ । एक दिन मैले नयाँ हाफ पेन्ट र कमीज लगाएको बेलामा भुइंमा बस्न खोजेनछु । मैले कपडा सफा राख्ने प्रयास सचेत रूपमाभन्दा पनि अचेत रूपमा नै गरिरहेको रहेछु । भनौं म के गरिरहेकोछु भन्ने कुरा स्वयं मलाई पनि थाहा रहेनछ ।

जे होस्, मलाई नयाँ हाफ पेन्ट र सर्ट लगाएर खडा भएको देखेर बुबाले भन्नु भएको थियो यसले कपडालाई धेरै माया गर्दछ । लगाएकोे लुगा धूलो मैलो हुन्छ भनेर भुइंमा बस्न पनि खोज्दैन । जाँगे र कमीजको सट्टा लामो दौरा सिलाइदिने हो भने त्यसलाई जोगाएर भुइंमा बस्न पनि सजिलो हुन्थ्यो । कति आरामले भुइंमा बस्दो हो । 

मलाई दौरा लगाउनुन्दा हाफ पेन्ट र कमीज लगाउन मन पर्दथ्यो । तर म हाफ पेन्ट र कमिजलाई नयाँको नयाँ राख्न भुइंमा बस्न नखोजेकोे देखेर  बुबाले मलाई साँच्चि नै दौरा सिलाई दिनु भयो ।  मैले नचाही नचाही पनि दौरा भिर्नु पर्ने भयो । ठीक हो बुबाले दौरा सिलाइदिए पछि म त्यसाई जोगाएर राम्ररी नै भुइंमा बस्न थालें । मलाई मेरो दौरा मैलो धैलो होला भन्ने पिर पनि भएन । छिटै पुरानो हुन्छ कि भन्ने डर पनि भएन ।

यसरी मेरो केटाकेटीदेखि नै लुगाफाटाप्रतिको बढेको माया ममता अझ पनि ममा कायम नै छ । मेरो सानैदेखि लुगाफाटाको जतन गर्ने बानी परेको थियो स्वत स्फूर्त रूपमा ।

मेरो दराज कपडाले जति खचाखच भए पनि म राम्रा नयाँ  लुगाफाटा थन्काएर राख्दछु र पुराना लुगा फाटा लगाएर हिंड्छु । मलाई थाहा छ मेरो यो राम्रो वानी होइन । तर पनि म यसलाई परित्याग गर्न सक्दिनं ।  सकिरहेको छैन । यो कुरा बेग्लै हो कि माथि उल्लखत विशेष महत्वका कतिपय लुगाफाटा कपडालत्ता भने मैले प्रयोग गरेर फटाल्नुभन्दा पनि चिनो र संझनाको लागि सुरक्षित राख्न चाहन्छु । राखेकै पनि छु ।

१६—७—२०६९

१ नवेम्बर २०१२  

                                                                                                                                                                                                     





                   


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...