Skip to main content

दौरा सुरवाल

 

यो १९६३ तिरको कुरा हो । त्यतिबेला म असममा थिएँ । असमको गुवाहाटीमा थिएँ । गुवाहाटीको मालिगाउँमा थिएँ । काका कर्णबहादुर साहनीसित मालिगाउँमा स्थित रेलवे हेडक्वाटरको क्वार्टरमा थिएँ ।

गुवाहाटीको निम्ति म नौलो थिएँ । त्यहाँका नेपालीहरूसित मेरो त्यति चिनजान थिएन । मैले त्यहाँ जुन जुन नेपालीहरूलाई चिनें जानें ती प्रायः सबै काकाले चिने जानेका मान्छे थिए ।  काकासित गुवाहाटीमा छँदा मैले कविता पनि कोर्ने गर्दथें । साहित्यमा रुचि  लिन्थें ।  म बसेको वरिपरि रेलवेमा नै काम गर्ने केही नेपाली साहित्यकार रहेछन् । पत्रकार पनि रहेछन् । उनीहरूसित मेरो त्यतिबेला कुनै चिनजान परिचय भएन ।

म गुवाहाटी मालिगाउमाँ बस्दा काकाले मलाई निकै धेरै ठाउँमा घुमाउनु भएको थियो । मलाई काकाले गुवाहाटीका सबै बजारहरूमा पनि डुलाउनु भएको थियो । गुवाहाटीमा उपन्यासकार लील बहादुर क्षेत्रीको रेलवे नजिक भएको घर वरिपरि पनि पुराउनु भएको थियो । त्यतिबेला मलाई लीलबहादुर क्षेत्रीको नाम नै थाहा थिएन । उनी साहित्यकार हुन् भन्ने कुरा नै थाहा थिएन । उनी बसाईंका चर्चित लेखक हुन् भन्ने कुरा नै थाहा थिएन ।

यसरी नै मलाई ठाउँ ठाउँमा चारैतिर डुलाउने दौरानमा एक दिन मलाई काकाले एकजना नेपाली परिवारको घरमा पुराउनु भएको थियो । जे वी क्षेत्रीको घरमा पुराउनु भएको थियो । उनी काकाले काम गर्ने रेलवे हेडक्वाटरमा नै जागिरे रहेछन् । 

जे वी क्षेत्रीले दौरा सुरवाल लगाएका थिए । मैले गुवाहाटीमा कुनै नेपालीले दौरा सुरवाल लगाएको देखेको थिएनं  । खास गरी गुवाहाटी         कै स्थायी बासिन्दा नेपालीले दौरा सुरवाल लगाएको देखेकै थिइनं । यसैले पनि जे वी क्षेत्रील दौरा सुरवाल लगाएको देखेर मलाई केही अचम्भ लाग्नु स्वाभविक नै  थियो । त्यसप्रति उत्सुकता जाग्नु स्वाभाविक नै थियो । यसैले मैले उनलाई सोधें उनले किन त्यसरी दौरा सुरवाल लगाउने गरेका हुन् ।  उनले मेरो जिज्ञांसा मेटाउैदै भने — यसको पनि एउटा  घटना छ । एउटा कथा छ । 

त्यस घटनाको चर्चा  गर्दै  उनले अगाडि भने — त्यतिबेला असममा असमी र बंगालीहरूबीच भाषाको सवाललाई लिएर ठूलो जातीय दंगा भएको थियो ।   यस जातीय दंगामा धेरै जसो बंगालीहरू असमियाहरूका आक्रमणका शिकार बनेका थिए । निशाना बनेका थिए । बंगालीका  घरहरू जलाइएका थिए । उनीहरूमाथि भौतिक आक्रमण तीव्र पारिएको थियो । अल्प संख्यामा रहेका बंगालीहरू भागाभागमा परेका थिए । 

कुरोलाई अगाडि बढाउँदै उनले भने त्यस दिन उनी अफिसबाट छुटेर  घरतिर आउँदै थिए  ।  उनी आउने बाटा बाटोमा बंगालीलाई कुट्न पिट्न   तैनाथ भएका असमीहरूले उनीमाथि एक्कासि हमला गरे । उनका नाक मुखमा साला बंगाली भन्दै मुक्काहरूको बर्षा गर्न  थाले ।  उनले असमिया युवकहरूलाई  सम्झाउँदै असमी भाषामा नै भने— मई नेपाली मानुह (  म नेपाली हुँ ) । बंगाली नहय ( बंगाली होइन ) ¬ । उनीहरूले उनका  कुरालाई  कुनै बास्ता गरेनन् । उनको हार गुहार सुनेनन् । उनीमाथि अझ बढी मुक्का  बजाउँदै भने —  “आमाके फाकी दिवलै धरिछा । अमा।र लगत मिसा कथा कहिछा ।  तुमी नेपाली नहय, बंगाली मानुह ।” (  हामीलाई ढाँट्न खोजेका छौ । हाम्रो सामु झुठ कुरा गर्दैछौ । तिमी नेपाली होइनौ । बंगाली नै हौ । )

जे बी क्षेत्री अगाडि बताउँछन्  — उनलाई बंगाली भन्दै रक्ताम्मे हुने गरी पिटिरहेको अवस्थामा मलाई चिनेका जानेका  एउटा असमी युवक संयोगवस् घटनास्ीथलतिर टुप्लुक्क आइपुगे । उनले उनीमाथि बेहिसाब हमला गरिरहका युवकलाई रोक्न खोज्दै भने — “तेखेते नेपाली मानुह । मई चिनीपुवा मानुुुुुुुुुुह ।  तेखेते किय माििरछा ! ” (  यी त नेपाली हुन् । मैले चिने जानेका मान्छे हुन् ,। यिनलाई किन कुटेको ! ) 

अन्त्यमा कुराको  बिट मार्दै जे वी क्षेत्रीले भने — असमी युवकले मलाई नेपाली हुन् भनेर चिनाए पछि उनीमाथि रक्ताम्मे हुने गरी कुटपिट गरिरहेका  असमेली यृुवकहरूले उनीमाथि सांघातिक आक्रमण गर्न छोडे ।  उनीहरूले विनीत स्वरमा दुखित हुँदै भने —“आमालोके भयंकर भूल करिसो । आपनार कथा तो विश्वास करिवलै नोवारिलुँ  ।   आमाकै कृपा करी क्षमा करक डाङगरिया । ” ( हामीहरूले भयंकर भूल गर्यौं । हामीहरूले तपाईंका कुरालाई विश्वास गर्न सकेनौं । हामीलाई दया गरी क्षमा दिनुहोला महोदय । ) 

यही घटना पछि मैले दौरा सुरवाल लगाउन थालेको हुँ ।

२०—७ —२०६९                                                                                                                                                                                                                                                                                                                                                                                                                                          


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...