मैले नेपाल आउँदा भैरहवाबाट एउटा ओभरकाट पाराका जकेट किनेकाृ थिएँ । त्यो जकेट लगाएर म नयाँराबरघारी , लोकरा ( असम ) पुगेको थिएँ । मैले किनेको त्यो जकेट मेरा दाइ भीमबहादुरलाई निकै मन परेछ । दाइले भन्नुभएको थियो — यो जकेट मलाई छोडी दे । मलाई त्यो जकेट दाइलाई छोडिदिन त मन लागेको थियो । तर मैले शिलाङको जाडो सम्झें । शिलाङको जाडो छल्न कोट वा सुइटरले पनि काम गर्दैनथ्यो । विशेष गरी दिसम्बर महिना त शिलाङमा यति चर्को जाडो हुन्थ्यो कि कहिलेकाहीं बाल्टीको पानी जमेर वर्फ पनि हुन सक्दथ्यो । पाइपको पानी जमेर पाइप नै फुट्न पनि सक्दथ्यो । शिलाङमा घर बस्दा त अंगुठीमा कोइला बालेर पनि जाडो धपाउन सकिन्थ्यो । हिटर तापेर पनि जाडो पचाउन सकिन्थ्यो । तर बाहिर निस्किंदा तगडा गरम कपडाहरूको आवश्यकता पर्दथ्यो । मेरो भैरहवामा किनेको जकेटले शिलाङको जाडो राम्ररी नै छेक्ने हुनाले मैले त्यो जकेट दाइलाई दिन सकिनं । भनें — लोकरा जाडो ठाउँ होइन । मलाई शिलाङको जाडो धपाउन यो जकेट चाहिन्छ ।
त्पतिबेला म शिलाङको जिङकिङमा बस्दथें । एकजना मिजोको घरमा डेरा गरेर बस्दथें । घर मालिक मिजोहिल्समा नै बस्दथ्यो । उसले एकजना मिजोलाई घर हेर्न र घर भाडाको पैसा असुल गर्न खटाएको थियो । ऊ दुई तले घरको माथिल्लो तलामा बस्दथ्यो । तल्लो तलाका कोठाहरू किरायामा दिने गरिएका थिए । तिनमा धेरै जसो मिजो विद्यार्थीहरू नै बस्दथे । उनीहरू सेन्ट एन्थनी र सेन्ट एडमन कलेजमा पढ्दथे । उनीहरूले मलाई कविको रूपमा पनि चिन्दथे । उनीहरूले मेरो निकै सम्मान गर्दथे ।
मेरो कोठासित जोडिएको अर्को कोठाका बीचमा पनि एउटा ढोका थियो । त्यो ढोका खोलेमा एउटा कोठाको मान्छे अर्को कोठामा जान सक्दथ्यो । दुई कोठाबीचको त्यो ढोका म तर्फको ढोकाबाट होइन अर्को किरायादार बस्ने कोठातिरबाट बन्द गर्न वा खोल्न सकिन्थ्यो । त्यस ढोकामाथि एउटा काँटी ठोकेर त्यसलाई बन्द गरिएको थियो । तर त्यस काँटीलाई सजिलै निकाली ढोका खोल्न सकिन्थ्यो । मलाई यो कुरा थाहा थियो । तर पनि मैले यसलाई किन पनि गंभीर रूपमा लिएको थिइनं भने आखिर यसबाट के पो खतरा होला ?
मेरो कोठाको भित्रपट्टि एउटा सानो किचन थियो । किचनको ढोका खोलेर पनि भित्र बाहिर गर्न सकिन्थ्यो । मेरो कोठा पहिलो कोठा भएकोले मैले त्यस्तो सुविधा पाएको थिएँ । बीचका कोठा भएको भए म त्यस सुविधाबाट बंचित हुन्थें ।
म त्यतिबेला एम ए र एल एल बीको विद्यार्थी थिएँ । म पढ्ने नर्थ स्टर्न हिल युनिवर्सिटी नजिक भएकोले म मिजोको घरको कोठा भाडामा लिएर बसेको थिएँ । पुष्पलाल शिलाङ जाँदा म त्यही कोठामा बसिरहेको थिएँ । पुष्पलाल मेरो त्यस कोठामा पुगेका थिए ।
म विद्यार्थीको रूपमा अध्ययन गर्नाका साथसाथै सामाजिक, राजनैतिक आदि कार्यमा पनि संलग्न भएकोले पनि धेरै जसो डेरा बाहिर नै रहन्थें । फेरि मैले गर्नु पर्ने कुनै काम नभए पनि मलाई दिउँसो एक्लै डेरामा बसिरहन मन पर्दैनथ्यो । यसैले डेरबाट प्रायः विहान निस्केर म राति ८—९ बजेतिर त्यहाँ फर्किन्थें । यो मेरो नित्य कर्म जस्तै भएको थियो । रुटिन वर्क जस्तै भएको थियो ।
मेरो कोठा पत्र पत्रिका र पुस्तकहरूले भरिएका थिए । मेरा कोठा कुनै मान्छे बस्ने कोठा जस्तो नभई पुस्तकालय जस्तो भएको थियो । जता हेर्यो पुस्तकै पुस्तक । पत्र पत्रिकै पत्रिका ।
एक दिन म राति डेरामा आएर के ढोका खोलेको थिएँ — एउटा अपरिचित मिजो ठिटो मेरो कोठाभित्र पस्यो । उसले मसित पानी चाहियो भन्यो । मेरो कोठामा कुनै पनि मिजो विद्यार्थीहरू त्यसरी रातिको बेलामा पस्दैनथे । म पनि उनीहरूका कोठामा जाँदैनथें । मेरो कोठासित जोडिएको कोठाको विद्यार्थीले त्यो डेरा छोडेको रहेछ । खालि भएको कोठामा कलेज पढ्ने कुनै एउटा मिजो विद्यार्थी आएर डेरा गरी बसेको रहेछ । ऊ लफंगो ठिटो रहेछ । शराबी ठिटो रहेछ । त्यो मिजो ठिटो मेरो कोठाभित्र पसेको देखेर त्यहाँ बस्ने अरु मिजो युवकहरू आए र भने — यिनलाई डिस्टर्व नगर । यिनी नेपाली कवि हुन् । ऊ अझ पनि मेरो कोठामा उभिएर पानी मागिरहेको थियो । ती मिजो विद्यार्थीहरूले उसलाई तानेर मेरो कोठाबाट वाहिर निकाले । मैले केही गर्नु परेन ।
म त्यस मिजो युवकसित खासै सम्बन्ध राख्न खोज्दैनथें । उसित बोले उसले मसित दोस्ती बढाउन खोज्ला र मलाई अनावश्यक दुख देला भन्ने सोंचर नै म उबाट जतिसक्दो तर्किन खोज्दथें । मलाई देख्न बित्तिकै ऊ मलाई हलो भन्थ्यो । म पनि हलो भनेर ध्यान अरु कुरामा दिन थाल्दथें । म उसलाई हलो भन्दा बढ्ता बोल्ने मौका दिन चाहन्नथें ।
एक दिन म राति आफ्नो कोठामा फर्किंदा मैले मेरो बिस्तारा केही खज्मजिएको जस्तो देखें । किताबहरू पनि यता उता छरिएका जस्तो देखें । मैले दुबैतिरका ढोका बन्द गरेको कोठामा कुनै मान्छे पस्ने कुरा आउँदैनथ्यो । यसैले मैले मेरो कोठासित सटेको कोठाको मिजो युवक ऊतिरर भएको ढोकामा ठोकेको काँटी हटाएर मेरो कोठामा पसेछ कि जस्तो लाग्यो । मेरो अडकल ठीक हो होइन त्यो बुझ्न उसको कोठाबाट मेरो कोठामा जान आउन सकिने बन्द ढोकाका पल्लाहरूमा वारपार धागो अडाएर राखें । धागो यसरी राखें कि ढोका खोलेमा त्यो भुइंमा खसोस् । मैले वार पार अडाएर राखेको धागो भुइंमा खस्नको अर्थ हुन्थ्यो उसले मेरो र उसको बीचको कोठा खोलेर मेरो कोठमा पस्नु ।
राति म मेरो डेरामा आएर ढोका खोलें । मेरो नजर मैले धागो राखेको ढोकातिर गयो । मैले देखें धागो भुइंमा खसेको थियो । मलाई थाहा भयो मेरो कोठासित सटेको कोठामा बस्ने मिजो ( लुसाई पनि भनिन्छ ं) युवकले उसको र मेरो बीचमा रहेको ढोका खोलेछ । ऊ मेरो कोठामा पसेको थाहा भए पछि मैले के के कुरा हरायो भनेर यता उता हेर्न थालें । मैले झुण्डाइराखेको जकेट थिएन । मेरो भैरहवाबाट किनेको जकेट चोरी भएको कुरा निश्चित भयो । मैले वाकस खोलेर हेरें त्यहाँ भएका सबै सामान त्यहीं थिए । गोरखपुरबाट आउँदा बहिनी कृष्ण कुमारी पौडेलले दिएको घिउको भाँडों हेरें । घिउको भाँडो आधा जति भएकोले त्यो निकालेको ननिकालेको केही थाहा भएन ।
मैले मेरो टेवलमा राखेको एउटा किताब पनि चोरी भएको थाहा पाएँ । त्यो पुस्तक होमियोप्याथीको पुस्तक थियो । ठूलो ग्रन्थ थियो । हार्ड कभर भएको ग्रन्थ थियो । त्यो किताब मैले हिमियोप्यााथीको क्लिनिक संचालन गरिहेका मेरा मित्र डा. अमरबहादुर गुरुङबाट उपहार स्वरुप प्राप्त गरेको थिएँ । मैले पुस्तक होमियोप्याथीको अध्ययन गर्न ल्याएको थिएँ । पुस्तक हिन्दी भाषामा थियो । अंग्रेजी भाषाका हजारौं पुस्तक त्यही रहनु र एउटा हिन्दी भाषामा लेखिएको ग्रन्थ चोरी हुनुलाई मैले त्यही मिजो युवकको खेलको रूपमा बुझें । मलाई लाग्यो त्यो शराबी मिजो युवक ममा मेरो कोठाको चोरी कुनै हिन्दी भाषी व्यक्ति वा नेपालीबाट नै भएको हो भन्ने भ्रम पार्न चाहन्थ्यो । ऊ आफूले मेरो जकेट चोरेको होइन भन्ने भ्रम दिन चाहन्थ्यो ।
मैले मेरो किचनतिरको ढोका हेरें । त्यो पनि खुला थियो । म जहिले पनि मेरो किचनतिरको ढोकाको भित्रपट्टि भएको चुकुल लगाएर मात्र मेरो कोठा बन्द गरेर बाहिर ताला लगाउँथें । मलाई लाग्यो त्यस मिजो युवकले मैले किचनतिरको ढोका खुलै राखेकोले त्यहींबाट चोर पसेर मेरो जकेट चोरी गर्यो भन्ने भ्रम दिन चाहन्थ्यो । तर पनि म कुनै पनि भ्रममा परिनं । मलाई शत प्रतिशत विश्वास भयो मेरो कोठासित सटेको कोठामा बस्ने मिजो युवकले नै मेरो जकेट चोरी गरेको थियो ।
त्यस रात म चुपचाप सुतें । भोलि विहान उठेर मैले हामी बसेको घर हेर्ने मिजोलाई भेटेर मेरो जकेट चोरी भएको र त्यो चोरी हालै आएर भाडामा बसेको मिजो युवकले गरेको हो भन्ने कुरा बताएँ । प्रमाणको लागि मैले उसको र मेरो कोठाबीचमा रहेको ढोकामा अल्झाएर राखेको धागो भुइंमा खसेको कुरा पनि बताएँ । मैले सोंचेको थिएँ झण्डै दारासिंह जस्तो लाग्ने अग्लो मोटो घाटोे मिजोले त्यस युवकलाई हप्काएर मेरो जकेट फिर्ता गराइदेला । मलाई दिलाइदेला । तर मेरो कल्पनाको विपरीत उसले मेरो जकेट हराएको कुरामा त्यति चासो देखाएन जति चासो देखाउनु पर्दथ्यो । कुरा के भने उसले मिजो विद्यार्थीहरूसित मेरो जकेट कसरी चोरी भयो भन्ने बारेमा कुरै उठाएन । चर्चा नै गरेन । मलाई सिधै भन्यो — “ यस बारेमा म केही गर्न सक्दिनं । तिमी तुरुन्त पुलिस थानामा जाऊ र रिपोर्ट लेखाऊ ।
मैले मिजो मालिकको कुरा मानें । म तुरुन्त नङ्थुमाईको पुलिस थानामा गएर मेरो परिचय दिंदै आफ्ना कुरा राख्नका साथसाथै निवेदन दिएँ । मेरो निवेदन हातमा लिएर सर्र हेरेका असमी युवक पुलिस अफिसरले भने —“ तपाईं कानूनका विद्यार्थी पनि हुनु हुँदोरहेछ । तपाईंले मिजो विद्यार्थीको नाम किटेर दिए पछि हामीहरूले त्यसलाई पकडाउ गरेर थुन्छौं । यातना पनि दिनु पर्ने हुन सक्दछ । जकेट चोरी सावित भए पनि ऊ जिन्दगीभरि जेल बस्ने होइन । थाना वा जेलबाट छुट्नासाथ उसले तपार्ईंमाथि सांघातिक हमला गर्न सक्दछ । तपाईंलाई रात साँझ हिंड्न डुल्न खतरा हुन सक्दछ । फेरि त्यो विद्यार्थी तपाईं बसेको घरमा नै बस्दोरहेछ । तपाईंको कोठासित सटेको कोठामा बस्दोरहेछ । राति जतिबेला पनि उसले तपाईंमाथि हमला गर्न सक्दछ । मिजो विद्यार्थी शराबी रहेछ । त्यो जकेट बिक्री गरेर शराब खाइसक्यो पनि होला । तपाईंको जकेट भेट्न गाह्रो छ । यसैले तपाईं जस्तो एम ए र कानून पढिरहेको व्यक्तिलाई चोरी भएको जकेटको पछि नलाग्नुहोस् भन्छु । तपार्इंंको लागि तपाईंको जिन्दगी महत्वपूर्ण हो । जकेट केही होइन । भन्नुहोस् तपाईं मलाई के सल्लाह दिनु हुन्छ ? ”
मलाई असमी युवक अफिसरका कुरा जायज लागे । मैले यस बारे राम्ररी सोच्छु भनेर निवेदन फिर्ता लिएँ ।
मेरो जकेट चोरी भएर पुलिसमा रिपोर्ट गर्न जाँदा ती असमी युवक पुलिस अफिसरले भनेका सबै कुरा मैले मेरा शिक्षक साथी हेमबहादुर क्षेत्रीलाई सुनाएँ । मैले उनीसित उनको सल्लाह सर सल्लाह गरें जकेट चोरीको रिपोर्ट दर्ता गराउन ठीक होला कि नहोला ?
मेरा मित्र हेमबहादुर क्षेत्रीले असमी पुलिस अफिसरले दिएको सल्लाह सुझाव मान्नु राम्रो हुन्छ भने ।ं उनले पनि भने मेरो लागि ज्यान ठूलो कुरा हो , जकेट होइन । माया मार्नुहोस् त्यस जकेटको ।
म मेरो जकेट चोरी भएको पुलिसमा निवेदन दर्ता नगराउने विन्दुमा नै पुगें । मैले जकेटको माया मारें ।
म आफ्नै कोठामा बस्दथें । शराबी मिजो युवक पनि मेरो कोठासित सटेको कोठामा बस्दथ्यो. । कोठाबाट वाहिर निस्किंदा ऊ मलाई देखेमा मुसुक्क हाँस्दथ्यो । म पनि उसलाई देखेमा मुसुक्क हाँस्दथें । कुरा त्यति मात्र होइन , ऊ बाटो घाटोमा भेट हुँदा मलाई हलो भन्दै मुस्कराउँथ्यो । म देख्दथें — जहिले पनि ऊ नशामा नै हुन्थ्यो । उसका आँखा राता राता देखिन्थे । ऊ ढल्फलाउँदै हिड््थ्यो ।
मैले कहिले ऊ संगै बस्ने कुनै मिजो विद्यार्थीहरूसित चोरी भएको बारेमा चर्चा गरिनं । चोरी भए पनि चोरी नभएको जस्तो गरी त्यहीं कोठामा बसिरहें । शराबी मिजो युवक पनि त्यही कोठामा बसिरह्यो ।
मेरो जकेट चोरी भए पछि त्यस शराबी मिजो युवकले मलाई कुनै दुख दिएन । मलाई कुनै कुरामा पनि डिस्टर्व गरेन । बरु उसले मप्रति आदर भाव राखेर कुराकानी गर्न थाल्यो । मप्रति सम्मान दर्शाइरह्यो । यसैले मैले ठानें असमी पुलिस अफिसरको सल्लाह अनुसार मिजो विद्यार्थीको बिरुद्धमा कुनै उजुरी दर्ता नगरेर ठीकै गरेछुु ।
मलाई जकेट चोरी भए पछि कुन कुराले पीडा भने भइरह्यो भने मैले त्यो जकेट लोकरा ( असम ) मा दाइले माग्दा किन दिइनं । त्यस जकेटले न दाइको इच्छा रहर पुरा गर्न सक्यो न त्यसले मेरो शिलाङमा जाडो नै छेक्न सक्यो । त्यो त मेरो कोठासित सटेको कोठामा बस्ने मिजो युवकको लागि दुई चार बोतल जाँड रक्सी खाने बस्तु बन्यो । हो, त्यस जकेटले मेरो निम्ति कुनै फाइदा पुरायो भने त्यो मेरो चोरसित मित्रता बढाएको कुरा मात्र हुन सक्दथ्यो ।
अहिले मसित शिलाङ जाँदा भैरहवामा किनेको जकेट छैन । तर मैले त्यो जकेट खिचाएको फोटो छ । जब मैले त्यो फोटो पल्टाएर हेर्दछु त्यसमा मैले मेरो तस्बीर मात्र देख्दिनं । म त्यसमा लोकरा ( असम ं) मा बस्ने दाइ र मेरो कोठासित सटिएको कोठामा डेरा गरी बस्ने शराबी मिजो युवकको तस्बीर पनि देख्दछु ।
पुष २०—२१ गते २०६९
जवबरी ४—५—२०१३
Comments
Post a Comment