Skip to main content

दौरामा डिमोसन

 

हिजो दौरा सुरवाललाई राष्ट्रिय वा जातीय पोशाक मानिएको थियो । आज पनि दौरा सुरवालाई राष्ट्रिय वा जातीय पोशाक नै मानिएकै छ । यहाँ मैले दौरा सुरवालको चर्चा नगरेर दौराको मात्र चर्चा गर्दा कसैलाई अनौठो कुरो लाग्न सक्दछ । कसैलाई अपुरो कुरा पनि लाग्न सक्दछ । तर कुरो यसो होइन । यहाँ मैले दौराको मात्र कुरा गरेको एकपल्ट मैले दौरा मात्र गाएकोले हो ।

मैले सुरवालको कुरा नगरेर दौराको मात्र कुरा गर्नुको यो अर्थ होइन कि मैले कहिले सुरवाल लगाएको छैन । वास्तवमा जसरी मैले एकपल्ट ( शायद एकपल्ट ? )  मात्र दौरा लगाएको छु त्यसरी नै मैले एकपल्ट मात्र सुरवाल लगाएको छु । कुरा के भने एकपल्ट मैले दौरा बिनाको सुरवाल लगाएको छु । फेरि मैले एकपल्ट सुरवाल बिनाको दौरा लगाएको छु । उसरी हो, मैले दौरा र सुरवाल एक साथ पनि लगाएको छु । तर त्यसरी दौरा सुरवाल लगाएको कुनै सभा समारोह , विवाह वा आजा पुजामा उपस्थित हुँदा होइन मंचमा नाटकमा अभिनय गर्दा ।  म अझसम्म दौरा सुरवाल लगाएर सार्वजनिक स्थलमा ृउपस्थित भएको छैन । सार्वजनिक स्थलमा उपस्थित भएको छु भने पनि नाटकमा उपस्थित भएको छु । मेैले दौरा सुरवाललाई आफ्नो पहिरनको पोशाक नबनाएको कुरालाई कुनै गर्व वा खेदको विषय बनाएर चर्चा गर्न खोजेको भने अवश्य होइन । यहाँ मैले आफ्नो यथार्थ अवस्थाको उद्घाटन गरेको मात्र हुँ । बर्णन गरेको मात्र हुँ ।

मैले सुरवाल त्यतिबेला लगाएको थिएँ जतिबेला म बामे सर्दथें । मेरा भिनाज्यू कृष्णबहादुर खत्री काश्मिर पल्टनमा लाहुरे हुनुहुन्थ्यो । मैले सुने अनुसार उहाँ दोस्रो विश्व युद्धमा परेर फ्रान्ससम्म पुग्नु भएको थियो ।. उहाँ घरमा छुट्टी आउँदा मेरो लागि धर्के सुरवाल किनेर ल्याइदिनु भएको रहेछ । धर्के सुरवालसित धर्के कमीज पनि किनेर ल्याइदिनु भएको थियो कि ? त्यसको मलाई कुनै संझना छैन । तर धर्के सुरवाल पछिसम्म रहेको हुनाले मलाई त्यो मेरो स्मृतिपटलमा अंकित हुन पुगेको छ । धर्के सुरवाल लगाएर म वामे सर्दै वा घस्रिदैं हिंडेको पनि संझिन्छु । शायद म पुल्पुलिएर केही ठूलो भएर पनि घस्रिएर हिंड्ने गर्दथें । हात खुट्टाले टेकेर हिंड्ने गर्दथें । त्यसै अवस्थामा मैले भिनाज्यूले लाहुरबाट आउँदा ल्याइदिएको सुरवाल लगाएको छु । पछि आमा पवित्रा साहनीले मेरो त्यो सुरवाल सिरकमा टालो हालेको कुरा पनि संझिन्छु । शायद म हुर्के पछि सुरवाल सानो भयो होला । त्यसैले आमाले त्यसलाई लुगा टाल्ने काममा प्रयोग गर्नु भयो ।

अब म दौराको चर्चापट्टि लाग्दछु । वास्तवमा यस लेखमा मैले खास चर्चा गर्न खोजेको कुरा दौरा नै हो । सुरवाल होइन ।

म सानैदेखि कपडालाई माया गर्ने मान्छेमा पर्दछु । मेरो सानैदेखि कपडालाई माया गर्ने बानी वा प्रवृत्तिले गर्दा होला अहिले पनि मेरा दराजमा तिस पैंतिस वर्ष अघिका एकपल्ट पनि  प्रयोग नगरेका लुगाफाटा छन् । एन्डी तथा नागा चादर छन् । असमी गम्छा छन् । कोट पैन्ट छन् । जकेट छन् । सुइटर छन् । कुनै कपडा मैले ज्यादै माया गरेर राखेको हुनाले प्रयोगमा आएका छैनन् । कुनै कपडा संझनाको लागि राखेको हुनाल पनि प्रयोगमा आएका छैनन् । कति कपडा पालो नपाएर पनि दराजमा थन्किएर बसेका छन् । फेरि कति सुट पेन्ट आदि अनफिट भएर पनि थन्किएर बसेका छन् । दुईवाट जीन पेन्ट मैले कम्मर नमिलेर दराजमा थन्काएर राखेको छु । मेरो खास बानी के छ भने मैले प्रयोग  गर्न थालेका कपडालाई भने लगाउन सकिने अवस्थासम्म निरन्तर लगाइरहन्छु । पटक्कै लगाउन नमिल्ने भए पछि मात्र फालिदिन्छु । मैले मुख्यत दुई किसिमका कपडालाई सित्तिमित्ति प्रयोग गर्दिनं । एक थारका लुगा हुन् धेरै माया गरेका  र संझनाको लागि पनि फटाल्न नचाहेका । अर्का थरि कपडा हुन् हालै प्रयोग गर्न भनेर किनेका । तर आफूले प्रयोग गरेका कपडा फाटेर फाल्ने बेला नआएसम्म नयाँ लुगालाई नचलाएर राँखु भन्ने चाहना भएका । यो मेरो ज्यादै नराम्रो कुरा  पनि हुन सक्दछ । तर पनि मेरो बानी , प्रवृत्ति वा सोंच नै यस्तै छ ।

मेरो यस किसिको बानीसित चित परिचित भएर नै त होला म सानो छ सात वर्षको छँदा बुबाले एउटा दौरा सिलाइदिनु भएको थियो । दौरा आफ्रनै दोकानमा भएको कपडा च्यातेर सिलाइदिनु भयो वा हरिचौर हटिया बजारबाट कपडा किनेर ल्याएर सिलाइदिनु भएको थियो त्यसको संझना भने मलाई छैन । तर पनि उहाँले भनेका कुरा अझ पनि मेरा कानमा गुंजे जस्तो लाग्दछ । उहाँले मलाई दौरा सिलाउन लगाउँदै भन्नु भएको थियो — यसले आफ्ना कपडालाई  माया गर्छ । लगाएको लुगा धूलो मैलो हुन्छ भनेर भुइंमा  बस्न पनि खोज्दैन । जाँगे र कमिजको सट्र्टा लामो दौरा सिलाइदिने हो भने त्यसलाई जोगाएर भुइँमा बस्न पनि सजिलो होला ।   

वास्तवमा म दौराभन्दा कमिज र हाफपेन्ट लगाउन मन पराउँथें । तर बुबाले मेरो लुगाप्रतिको माया देखी  दौरा सिलाइदिएर मलाई भुइंमा जहाँ पनि बस्न सजिलो त पारिदिनु भयो । तर मेरो मन भने कमिज र जाँगे ( हाफपेन्ट ) लगाउन नपाएकोले खिन्न भएको थियो । मैले कता कता यसलाई आफ्नो डिमोसन भएको जस्तो ठानेको थिएँ ।

२४ पुष २०६९ 


 


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...