Skip to main content

दौरामा डिमोसन

 

हिजो दौरा सुरवाललाई राष्ट्रिय वा जातीय पोशाक मानिएको थियो । आज पनि दौरा सुरवालाई राष्ट्रिय वा जातीय पोशाक नै मानिएकै छ । यहाँ मैले दौरा सुरवालको चर्चा नगरेर दौराको मात्र चर्चा गर्दा कसैलाई अनौठो कुरो लाग्न सक्दछ । कसैलाई अपुरो कुरा पनि लाग्न सक्दछ । तर कुरो यसो होइन । यहाँ मैले दौराको मात्र कुरा गरेको एकपल्ट मैले दौरा मात्र गाएकोले हो ।

मैले सुरवालको कुरा नगरेर दौराको मात्र कुरा गर्नुको यो अर्थ होइन कि मैले कहिले सुरवाल लगाएको छैन । वास्तवमा जसरी मैले एकपल्ट ( शायद एकपल्ट ? )  मात्र दौरा लगाएको छु त्यसरी नै मैले एकपल्ट मात्र सुरवाल लगाएको छु । कुरा के भने एकपल्ट मैले दौरा बिनाको सुरवाल लगाएको छु । फेरि मैले एकपल्ट सुरवाल बिनाको दौरा लगाएको छु । उसरी हो, मैले दौरा र सुरवाल एक साथ पनि लगाएको छु । तर त्यसरी दौरा सुरवाल लगाएको कुनै सभा समारोह , विवाह वा आजा पुजामा उपस्थित हुँदा होइन मंचमा नाटकमा अभिनय गर्दा ।  म अझसम्म दौरा सुरवाल लगाएर सार्वजनिक स्थलमा ृउपस्थित भएको छैन । सार्वजनिक स्थलमा उपस्थित भएको छु भने पनि नाटकमा उपस्थित भएको छु । मेैले दौरा सुरवाललाई आफ्नो पहिरनको पोशाक नबनाएको कुरालाई कुनै गर्व वा खेदको विषय बनाएर चर्चा गर्न खोजेको भने अवश्य होइन । यहाँ मैले आफ्नो यथार्थ अवस्थाको उद्घाटन गरेको मात्र हुँ । बर्णन गरेको मात्र हुँ ।

मैले सुरवाल त्यतिबेला लगाएको थिएँ जतिबेला म बामे सर्दथें । मेरा भिनाज्यू कृष्णबहादुर खत्री काश्मिर पल्टनमा लाहुरे हुनुहुन्थ्यो । मैले सुने अनुसार उहाँ दोस्रो विश्व युद्धमा परेर फ्रान्ससम्म पुग्नु भएको थियो ।. उहाँ घरमा छुट्टी आउँदा मेरो लागि धर्के सुरवाल किनेर ल्याइदिनु भएको रहेछ । धर्के सुरवालसित धर्के कमीज पनि किनेर ल्याइदिनु भएको थियो कि ? त्यसको मलाई कुनै संझना छैन । तर धर्के सुरवाल पछिसम्म रहेको हुनाले मलाई त्यो मेरो स्मृतिपटलमा अंकित हुन पुगेको छ । धर्के सुरवाल लगाएर म वामे सर्दै वा घस्रिदैं हिंडेको पनि संझिन्छु । शायद म पुल्पुलिएर केही ठूलो भएर पनि घस्रिएर हिंड्ने गर्दथें । हात खुट्टाले टेकेर हिंड्ने गर्दथें । त्यसै अवस्थामा मैले भिनाज्यूले लाहुरबाट आउँदा ल्याइदिएको सुरवाल लगाएको छु । पछि आमा पवित्रा साहनीले मेरो त्यो सुरवाल सिरकमा टालो हालेको कुरा पनि संझिन्छु । शायद म हुर्के पछि सुरवाल सानो भयो होला । त्यसैले आमाले त्यसलाई लुगा टाल्ने काममा प्रयोग गर्नु भयो ।

अब म दौराको चर्चापट्टि लाग्दछु । वास्तवमा यस लेखमा मैले खास चर्चा गर्न खोजेको कुरा दौरा नै हो । सुरवाल होइन ।

म सानैदेखि कपडालाई माया गर्ने मान्छेमा पर्दछु । मेरो सानैदेखि कपडालाई माया गर्ने बानी वा प्रवृत्तिले गर्दा होला अहिले पनि मेरा दराजमा तिस पैंतिस वर्ष अघिका एकपल्ट पनि  प्रयोग नगरेका लुगाफाटा छन् । एन्डी तथा नागा चादर छन् । असमी गम्छा छन् । कोट पैन्ट छन् । जकेट छन् । सुइटर छन् । कुनै कपडा मैले ज्यादै माया गरेर राखेको हुनाले प्रयोगमा आएका छैनन् । कुनै कपडा संझनाको लागि राखेको हुनाल पनि प्रयोगमा आएका छैनन् । कति कपडा पालो नपाएर पनि दराजमा थन्किएर बसेका छन् । फेरि कति सुट पेन्ट आदि अनफिट भएर पनि थन्किएर बसेका छन् । दुईवाट जीन पेन्ट मैले कम्मर नमिलेर दराजमा थन्काएर राखेको छु । मेरो खास बानी के छ भने मैले प्रयोग  गर्न थालेका कपडालाई भने लगाउन सकिने अवस्थासम्म निरन्तर लगाइरहन्छु । पटक्कै लगाउन नमिल्ने भए पछि मात्र फालिदिन्छु । मैले मुख्यत दुई किसिमका कपडालाई सित्तिमित्ति प्रयोग गर्दिनं । एक थारका लुगा हुन् धेरै माया गरेका  र संझनाको लागि पनि फटाल्न नचाहेका । अर्का थरि कपडा हुन् हालै प्रयोग गर्न भनेर किनेका । तर आफूले प्रयोग गरेका कपडा फाटेर फाल्ने बेला नआएसम्म नयाँ लुगालाई नचलाएर राँखु भन्ने चाहना भएका । यो मेरो ज्यादै नराम्रो कुरा  पनि हुन सक्दछ । तर पनि मेरो बानी , प्रवृत्ति वा सोंच नै यस्तै छ ।

मेरो यस किसिको बानीसित चित परिचित भएर नै त होला म सानो छ सात वर्षको छँदा बुबाले एउटा दौरा सिलाइदिनु भएको थियो । दौरा आफ्रनै दोकानमा भएको कपडा च्यातेर सिलाइदिनु भयो वा हरिचौर हटिया बजारबाट कपडा किनेर ल्याएर सिलाइदिनु भएको थियो त्यसको संझना भने मलाई छैन । तर पनि उहाँले भनेका कुरा अझ पनि मेरा कानमा गुंजे जस्तो लाग्दछ । उहाँले मलाई दौरा सिलाउन लगाउँदै भन्नु भएको थियो — यसले आफ्ना कपडालाई  माया गर्छ । लगाएको लुगा धूलो मैलो हुन्छ भनेर भुइंमा  बस्न पनि खोज्दैन । जाँगे र कमिजको सट्र्टा लामो दौरा सिलाइदिने हो भने त्यसलाई जोगाएर भुइँमा बस्न पनि सजिलो होला ।   

वास्तवमा म दौराभन्दा कमिज र हाफपेन्ट लगाउन मन पराउँथें । तर बुबाले मेरो लुगाप्रतिको माया देखी  दौरा सिलाइदिएर मलाई भुइंमा जहाँ पनि बस्न सजिलो त पारिदिनु भयो । तर मेरो मन भने कमिज र जाँगे ( हाफपेन्ट ) लगाउन नपाएकोले खिन्न भएको थियो । मैले कता कता यसलाई आफ्नो डिमोसन भएको जस्तो ठानेको थिएँ ।

२४ पुष २०६९ 


 


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...