१९६६ तिरको सेरोफेरोको कुरा हो । म त्यतिबेला सेन्ट एन्थनी कलेजमा पी युमा अध्ययन गर्दथें । त्यतिबेला हामीलाई अंग्रेजी पढाउने एकजना प्रोफेसर थिए — ए सिन्हा । सिन्हा पटना बिहारबाट आएर शिलाङको सेन्ट एन्थनी कलेजमा अंग्रेजीका प्रोफेसर बनेका थिए । त्यहाँ हामीलाई पी युमा अंग्रेजी पढाउने अर्का प्रोफेसर थिए — होम चौधरी । उनको उच्चाहरण आम प्राध्यापकको भन्दा फरक थियो । मैले उनले बोलेको कुरा राम्ररी बुझ्दा पनि बुझ्दैनथें । मेरा साथीहरू उनलाई बेलायतको गोल्ड मेडलिस्ट हुन भन्दथे । पछि मलाई थाहा भयो — कुरो त्यस्तो रहेनछ । मैले नर्थ इस्टर्न हिल युनिवर्सिटीमा अंग्रेजीमा एम ए अध्ययन गर्दा डा. होम चौधरी पनि त्यहाँ प्रोफेसरको पदमा नियुक्त भएका थिए । उनी पछि अंग्रेजी विभागका विभागीय प्रमुख पनि बने । त्यतिबेला मलाई थाहा भयो उनी अंग्रेजी भाषा साहित्यमा राम्रो दखल भएका त्यति दक्ष प्राध्यापक रहेछन् जति मैले सोंच्ने गरेको थिएँ । त्यतिबेलाका विभागीय प्रमुख प्रो. डा ए जर्ज, प्रो. डा.बृजराज सिंह, प्रो डा फान्सिस आदिको दाँजोमा उनी त केही पनि रहेनछन् । बिचरा रहेछन् । हामीलाई भाषा विज्ञान पढाउने हैदराबावद सिफलबाट नर्थ ईस्टनमा खटी आएका प्रोफेसरहरू डा.डी ठाकुर, डा. वर्मा, डा. सागरका तुलनामा पनि डा. होम चौधरी केही रहेनछन् । बिचारा नै रहेछन् । उनले सेन्ट एन्थनीमा पि युमा छिटो छिटो नबुझिने पाराले पढाउने हुनाले साथीहरूलाई उनी भर्खर बेलायतबाट पढेर आएको जस्तो लागेको रहेछ शायद । पी युमा पढ्दा त म उनको सम्पर्कमा जान सकिनं । एम ए मा पढ्दा म उनको निकै नजिक भएँ । त्यतिबेला मलाई थाहा भयो । उनी त बढो सरल स्वभाव भएका मानवतावादी व्यक्ति पो रहेछन् । बडो उदार बिचार भएका व्यक्ति पो रहेछन् । अत्यन्त मिलनसार व्यक्ति पो रहेछन् । साह्रै सज्जन व्यक्ति पो रहेछन् । आँखामा राखे पनि नबिझाउने खालका मान्छे पो रहेछन् । म उनको त्यस प्रकारको व्यक्तित्वबाट निकै प्रभावित भएँ । उनीसित घुलमिल भएँ । उनको ज्ञान वा शिक्षणकलाबाट म प्रभावित हुन नसके पनि म उनको मिलनसार विनीत व्यक्तित्वबाट प्रभावित भएँ ।
जे होस्, मैले पी युमा पढ्दा अंग्रेजीमा सबभन्दा राम्रो शिक्षक फादर केनी हुन् भन्ने सुनेको थिएँ । उनले अंग्रेजी कविता चित्र बनाएर पढाउँछन् भन्ने कुरा पनि सुनेको थिएँ । तर मैले उनको कक्षा लिन पाइनं । उनी सेन्ट एन्थनी कलेजका भाइस प्रिन्सिपल थिए ।
यसैले पनि मलाई सेन्ट एन्थनी कलेजमा हामीलाई अंग्रेजी पढाउने सबभन्दा राम्रो शिक्षक प्रोफेसर ए सिन्हा नै हुन् जस्तो लागेको थियो ।
प्रोफेसर ए सिन्हाको अंग्रेजी उच्चाहरण राम्रो थियो । उनले पढाउने तरिका पनि निकै राम्रो थियो । आकर्षक थियो । प्रभावशाली थियो । यस कारण म उनीप्रति आकर्षित भएको थिएँ । अर्को कुरा शिलाङमा हामीलाई यु पी विहारमा मान्छेहरू हामी नजिकका मान्छेहरू जस्ता लाग्दारहेछन् । यसैले पनि म प्रोफेसर सिन्हाप्रति आकर्षित भएको थिएँ । म प्रो ए सिन्हासित आकर्षित हुनुको अर्को कारण थियो उनी सेन्ट एन्थनीका नेपालीका प्रोफेसर गोपीनारायण प्रधानका आत्मीय मित्र थिए । प्रोफेसर प्रधानसित मेरो सम्बन्ध नङ र मासुको जस्तो भएकोले पनि होला प्रोफेसर ए सिन्हासित पनि मेरो राम्रो सम्बन्ध हुन पुगेको थियो ।
ए सिन्हा मलाई एकजना विद्यार्थीको रूपमा भन्दा पनि एकजना नेपाली भाषा साहित्यसित सरोकार राख्ने व्यक्तिको रूपमा चिन्दथे । उनलाई हामी नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय रहेको कुरा राम्ररी थाहा थियो । उनी हामीलाई सामाजिक व्यक्तिका रूपमा पनि चिन्दथे । यसैले पनि होला उनी मलाई जहाँ भेटे पनि सम्मान गर्दथें । मैले उनलाई सम्मान गर्ने कुरा त छँदै थियो ।
मैले कलेजको म्गागजिनमा प्रो. ए सिन्हाको एउटा लेख पढेको थिएँ । उनले त्यसमा कलेज जीवनको आफ्नो अनुभव र अनुभूति अत्यन्त रोचक तथा सरल अंग्रेजीमा लेखेका थिए । उनको लेखनीमा साहित्य झल्किन्थ्यो । अझ कवित्व झल्किन्थ्यो ।
शिलाङमा हामीले नेपाली साहित्य परिषद् गठन गरेका थियौं । त्यस नेपाली साहित्य परिषदमा प्रो. गोपीनारायण प्रधान अध्यक्ष चुनिएका थिए । म मूल सचिव चुनिएको थिएँ । नेपाली साहित्य परिषद्बाट हामीले मादल पत्रिका प्रकाशित गरेका थियौं । प्रो गोपीनारायण प्रधान मादलका प्रधान सम्पादक रहेका थिए । म सम्पादक रहेको थिएँ । यही साहित्यिक संस्थाका तर्फबाट हामी बेला बखतमा विविध साहित्यिक कार्यक्रमको आयोजना गर्दथ्यौं ।
नेपाली साहित्य परिषदकले एउटा कार्यक्रमको आयोजना गरेर प्रो ए सिन्हालाई कविताको सम्बन्धमा एउटा स्पीच वा (टक) दिनलाई आमन्त्रित गरेका थियौं । प्रो सिन्हाले त्यस कार्यक्रममा कविताका सम्बन्धमा बोलेका सबै कुरा त अहिले मेरा सम्झनामा रहेको छैन । उनले व्यक्त गरेको एउटा बिचार भने मैले कहिले विर्सन सक्दिनं । उनले आफ्नो कविता सम्बन्धी व्याख्खानमा भनेका थिए – हामी विश्वको जुनसुकै कुनामा किन नबसौं हामी एकै प्रकारले सोंच्दछौं । हामीले एकै प्रकारले अनुभव गर्दछौं ।
मैले प्रोफेसर गोपीनारायण प्रधान कै मुखबाट प्रोफेसर ए सिन्हाको पारिवारिक र शैक्षिक पृष्ठभूमि चाल पाएको थिएँ । उनका बुबा पटनामा वकालत गर्दारहेछन् । प्रो. सिन्हाले सानैदेखि अंग्रेजी स्कुलमा अध्ययन गरका रहेछन् । यसैले नै उनको अंग्रेजीको जग बलियो बनेको रहेछ ।
एक दिनको कुरो हो । प्रो गोपीनारायणले मलाई भने — भाइ प्रोफेसर ए सिन्हा बिमारी भएर अस्पतालमा भर्ना भएका छन् । भेट्न जाउँ । मैले प्रो. प्रधानको कुरा सहर्ष स्वीकार गरें । हामी प्रो . ए सिन्हालाई भेट्न अस्पतालमा गयौं ।
हामी अस्पतालमा प्रो. सिन्हा भर्ना भएको कोठामा पुग्दा उनी त्यहाँ आराम गरिरहेका थिए । हामीलाई त्यहाँ पुगेको देखेर प्रो. सिन्हा अत्यन्त हर्षित भए । उनले हामीसित धेरै कुरा गरे । हामीले उनको बिमारीको अवस्थाको जानकारी लियौं । धेरै बेरसम्म हामी हस्पिटलमा बस्यौं ।
त्यस हस्पिटलमा कुराकानीका दौरानमा प्रो. सिन्हाले हामीलाई जे कुरा भने त्यसले मलाई अत्यन्त प्रभाव पार्यौ । उनको कुरो मेरो मनको भित्री तहसम्म गढ्यो । त्यो कुरो मैले जीवनमा कहिले भुल्न नसक्ने भयो । हामीसितको कुराकानीको दौरानमा उनले भनेका थिए — मानिसहरू कहिलेकाहीं बिरामी हुन पनि आवश्यक छ । बिरामी भयो भने उसले आराम गर्ने मौका पाउँछ । धेरै कुरा सोंच्ने मौका पाउँछ । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै प्रो . सिन्हाले अगाडि भनेका थिए — यसरी बिरामी नहुँदा उनलाई कति बेला पनि कुनै फुर्सद हुँदैनथ्यो ।.सास फेर्ने समय पनि हुँदैनथ्यो । कति बेला कलेजतिर दगुर्न पर्दथ्यो । कति बेला ट्युसनमा डुब्नु पर्दथ्यो । एक छिन पनि कतै टोलाएर सोंच्ने मौका मिल्दैनथ्यो । अहिले बिरामी भएर हस्पिटलमा आए पछि मलाई फुर्सद नै फुर्सद भएको छ । मैले सोंच्ने समय पाएको छु । मौका पाएको छु । चिन्तन मनन गर्ने अवसर पाएको छु । यसैले पनि मलाई लाग्दछ , हामी केही समयको लागि बिमार हुन आवश्यक छ ।
मलाई लाग्दछ प्रो सिन्हा जस्ता अति व्यस्त व्यक्ति थोरै समयको लागि बिरामी हुन आवश्यक छ । अस्पतालमा भर्ना हुन आवश्यक छ । तब मात्र उनीहरू जीवन र जगतको बारेमा धेरै कुरा सोंच्न सक्दछन् । धेरै कुरा चिन्तन मनन गर्ने मौका पाउँछन् ।
१५—१०—२०८१
२८—१—२०२५
Comments
Post a Comment