Skip to main content

प्रो. होम चौधरीदेखि प्रो ए सिन्हासम्म

 


१९६६ तिरको सेरोफेरोको कुरा हो । म त्यतिबेला सेन्ट एन्थनी कलेजमा पी युमा अध्ययन गर्दथें । त्यतिबेला हामीलाई अंग्रेजी पढाउने एकजना प्रोफेसर थिए — ए सिन्हा । सिन्हा पटना बिहारबाट आएर शिलाङको सेन्ट एन्थनी कलेजमा अंग्रेजीका प्रोफेसर बनेका थिए । त्यहाँ हामीलाई पी युमा अंग्रेजी पढाउने अर्का प्रोफेसर थिए — होम चौधरी । उनको उच्चाहरण आम प्राध्यापकको भन्दा फरक थियो । मैले उनले बोलेको कुरा राम्ररी बुझ्दा पनि बुझ्दैनथें । मेरा साथीहरू उनलाई बेलायतको गोल्ड मेडलिस्ट हुन भन्दथे ।  पछि मलाई थाहा भयो — कुरो त्यस्तो रहेनछ । मैले नर्थ इस्टर्न हिल युनिवर्सिटीमा अंग्रेजीमा एम ए अध्ययन गर्दा डा. होम चौधरी पनि त्यहाँ प्रोफेसरको पदमा नियुक्त भएका थिए । उनी पछि अंग्रेजी विभागका विभागीय प्रमुख पनि बने । त्यतिबेला मलाई थाहा भयो उनी अंग्रेजी भाषा साहित्यमा राम्रो दखल भएका त्यति दक्ष प्राध्यापक रहेछन् जति मैले सोंच्ने गरेको थिएँ । त्यतिबेलाका विभागीय प्रमुख प्रो. डा ए जर्ज, प्रो. डा.बृजराज सिंह, प्रो डा फान्सिस आदिको दाँजोमा उनी त केही पनि रहेनछन् । बिचरा रहेछन् । हामीलाई भाषा विज्ञान पढाउने हैदराबावद सिफलबाट नर्थ ईस्टनमा खटी आएका प्रोफेसरहरू डा.डी ठाकुर, डा. वर्मा, डा. सागरका तुलनामा पनि डा. होम चौधरी केही रहेनछन् । बिचारा नै रहेछन् । उनले सेन्ट एन्थनीमा पि युमा छिटो छिटो नबुझिने पाराले पढाउने हुनाले साथीहरूलाई उनी भर्खर बेलायतबाट पढेर आएको जस्तो लागेको रहेछ शायद । पी युमा पढ्दा त म उनको सम्पर्कमा जान सकिनं । एम ए मा पढ्दा म उनको निकै नजिक भएँ । त्यतिबेला मलाई थाहा भयो । उनी त बढो सरल स्वभाव भएका मानवतावादी व्यक्ति पो रहेछन् । बडो उदार बिचार भएका व्यक्ति पो रहेछन् । अत्यन्त मिलनसार व्यक्ति पो रहेछन् । साह्रै सज्जन व्यक्ति पो रहेछन् । आँखामा राखे पनि नबिझाउने खालका मान्छे पो रहेछन् । म उनको त्यस प्रकारको व्यक्तित्वबाट निकै प्रभावित भएँ । उनीसित घुलमिल भएँ । उनको ज्ञान वा शिक्षणकलाबाट म प्रभावित हुन नसके पनि म उनको मिलनसार विनीत व्यक्तित्वबाट प्रभावित भएँ ।

जे होस्, मैले पी युमा पढ्दा अंग्रेजीमा सबभन्दा राम्रो शिक्षक फादर केनी हुन् भन्ने सुनेको थिएँ । उनले अंग्रेजी कविता चित्र बनाएर पढाउँछन् भन्ने कुरा पनि सुनेको थिएँ । तर मैले उनको कक्षा लिन पाइनं । उनी सेन्ट एन्थनी कलेजका भाइस प्रिन्सिपल थिए ।

यसैले पनि मलाई सेन्ट एन्थनी कलेजमा हामीलाई अंग्रेजी पढाउने सबभन्दा राम्रो शिक्षक प्रोफेसर ए सिन्हा नै हुन् जस्तो लागेको थियो ।

प्रोफेसर ए सिन्हाको अंग्रेजी उच्चाहरण राम्रो थियो । उनले पढाउने तरिका पनि निकै राम्रो थियो । आकर्षक थियो । प्रभावशाली थियो । यस कारण म उनीप्रति आकर्षित भएको थिएँ । अर्को कुरा  शिलाङमा हामीलाई यु पी विहारमा मान्छेहरू हामी नजिकका मान्छेहरू   जस्ता लाग्दारहेछन् । यसैले पनि म प्रोफेसर सिन्हाप्रति आकर्षित भएको थिएँ । म प्रो ए सिन्हासित आकर्षित हुनुको अर्को कारण थियो उनी सेन्ट एन्थनीका नेपालीका प्रोफेसर गोपीनारायण प्रधानका आत्मीय मित्र थिए । प्रोफेसर प्रधानसित मेरो सम्बन्ध नङ र मासुको जस्तो भएकोले  पनि होला प्रोफेसर ए सिन्हासित पनि मेरो राम्रो सम्बन्ध हुन पुगेको थियो ।

ए सिन्हा मलाई एकजना विद्यार्थीको रूपमा भन्दा पनि एकजना नेपाली भाषा साहित्यसित सरोकार राख्ने व्यक्तिको रूपमा चिन्दथे । उनलाई हामी नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय रहेको कुरा राम्ररी थाहा थियो । उनी हामीलाई सामाजिक व्यक्तिका रूपमा पनि चिन्दथे । यसैले पनि होला उनी मलाई जहाँ भेटे पनि सम्मान गर्दथें ।    मैले उनलाई सम्मान गर्ने कुरा  त छँदै थियो ।

मैले कलेजको म्गागजिनमा प्रो. ए सिन्हाको एउटा लेख पढेको थिएँ । उनले त्यसमा कलेज जीवनको आफ्नो अनुभव र अनुभूति अत्यन्त रोचक तथा सरल अंग्रेजीमा लेखेका थिए । उनको लेखनीमा साहित्य झल्किन्थ्यो  । अझ कवित्व झल्किन्थ्यो ।

शिलाङमा हामीले नेपाली साहित्य परिषद् गठन  गरेका थियौं । त्यस नेपाली साहित्य परिषदमा प्रो. गोपीनारायण प्रधान अध्यक्ष चुनिएका थिए । म मूल सचिव चुनिएको थिएँ । नेपाली साहित्य परिषद्बाट हामीले मादल पत्रिका प्रकाशित गरेका थियौं । प्रो गोपीनारायण प्रधान मादलका प्रधान सम्पादक रहेका थिए । म सम्पादक रहेको थिएँ । यही साहित्यिक संस्थाका तर्फबाट हामी बेला बखतमा विविध साहित्यिक कार्यक्रमको आयोजना गर्दथ्यौं ।

नेपाली साहित्य परिषदकले एउटा कार्यक्रमको आयोजना गरेर प्रो ए सिन्हालाई कविताको सम्बन्धमा एउटा स्पीच वा (टक) दिनलाई आमन्त्रित गरेका थियौं । प्रो सिन्हाले त्यस कार्यक्रममा कविताका सम्बन्धमा बोलेका सबै कुरा त अहिले मेरा सम्झनामा रहेको छैन । उनले व्यक्त गरेको एउटा बिचार भने मैले कहिले विर्सन सक्दिनं । उनले आफ्नो कविता सम्बन्धी व्याख्खानमा भनेका थिए – हामी विश्वको जुनसुकै कुनामा किन नबसौं हामी एकै प्रकारले सोंच्दछौं । हामीले एकै प्रकारले अनुभव गर्दछौं ।

मैले प्रोफेसर गोपीनारायण प्रधान कै मुखबाट प्रोफेसर ए सिन्हाको पारिवारिक र शैक्षिक पृष्ठभूमि चाल पाएको  थिएँ । उनका बुबा  पटनामा वकालत गर्दारहेछन् ।  प्रो. सिन्हाले सानैदेखि अंग्रेजी स्कुलमा अध्ययन गरका  रहेछन् ।  यसैले नै उनको  अंग्रेजीको जग बलियो  बनेको रहेछ ।  

एक दिनको कुरो हो । प्रो गोपीनारायणले मलाई भने — भाइ प्रोफेसर ए सिन्हा बिमारी भएर अस्पतालमा भर्ना भएका छन् । भेट्न जाउँ । मैले प्रो. प्रधानको कुरा सहर्ष स्वीकार गरें । हामी प्रो . ए सिन्हालाई भेट्न अस्पतालमा गयौं ।

हामी अस्पतालमा प्रो. सिन्हा भर्ना भएको कोठामा पुग्दा उनी त्यहाँ आराम गरिरहेका थिए । हामीलाई त्यहाँ पुगेको देखेर प्रो. सिन्हा अत्यन्त हर्षित भए । उनले हामीसित धेरै कुरा गरे । हामीले उनको बिमारीको अवस्थाको जानकारी लियौं । धेरै बेरसम्म हामी हस्पिटलमा बस्यौं ।

त्यस हस्पिटलमा कुराकानीका दौरानमा प्रो. सिन्हाले हामीलाई जे कुरा भने त्यसले मलाई अत्यन्त प्रभाव पार्यौ । उनको कुरो मेरो मनको भित्री तहसम्म गढ्यो । त्यो कुरो मैले जीवनमा कहिले भुल्न नसक्ने भयो । हामीसितको कुराकानीको दौरानमा उनले भनेका थिए — मानिसहरू कहिलेकाहीं बिरामी  हुन पनि आवश्यक छ । बिरामी भयो भने उसले आराम गर्ने मौका पाउँछ ।  धेरै कुरा सोंच्ने मौका पाउँछ । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै प्रो . सिन्हाले अगाडि भनेका थिए — यसरी बिरामी नहुँदा उनलाई कति बेला पनि कुनै फुर्सद  हुँदैनथ्यो ।.सास फेर्ने समय पनि हुँदैनथ्यो । कति बेला कलेजतिर दगुर्न पर्दथ्यो । कति बेला ट्युसनमा डुब्नु पर्दथ्यो । एक छिन पनि कतै टोलाएर सोंच्ने मौका मिल्दैनथ्यो ।  अहिले बिरामी भएर हस्पिटलमा आए पछि मलाई फुर्सद नै फुर्सद भएको छ । मैले सोंच्ने समय पाएको छु ।  मौका पाएको छु । चिन्तन मनन गर्ने अवसर पाएको छु । यसैले पनि मलाई लाग्दछ ,  हामी केही समयको लागि बिमार हुन आवश्यक छ ।

मलाई लाग्दछ प्रो सिन्हा जस्ता अति व्यस्त व्यक्ति थोरै समयको लागि बिरामी हुन आवश्यक छ । अस्पतालमा भर्ना हुन आवश्यक छ । तब मात्र उनीहरू जीवन र जगतको बारेमा धेरै कुरा सोंच्न सक्दछन् । धेरै कुरा चिन्तन मनन गर्ने मौका पाउँछन् । 

१५—१०—२०८१

२८—१—२०२५  


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...