Skip to main content

भूत

   

 

म सानैदेखि भूत प्रेतदेखि डराउने मान्छे थिएँ । डराउन दिनेदेखि डराउने मान्छे थिएँ ।

हाम्रो घरको मास्तिर एउटा पहरो थियो । आमा त्यस पहरोमा किचकिनी बस्दछे भन्नुहुन्थ्यो । यसैले म त्यस पहरोको वरपर जान डराउँथें । मैल हाम्रा गाउँमा एकजना युवकलाई भूतले एक महिना लुकाई राखेर छोडिदिएको थियो भन्ने कुरा पनि सुनेको थिएँ । उनलाई भूतले खाना खान दिंदा उल्टो हातले थाप्नु पर्दथ्यो भन्ने कुरा पनि सुनेको थिएँ । सुल्टो हातले खाना थापे भूतले गालामा थप्पड हान्दथ्यो भन्ने कुरा पनि सुनेको थिएँ । मैले के पनि सुनेको थिएँ भने भूतले खानलाई गडौला दिन्थ्यो । उसले उनलाई एक महिना लुकाई मंत्र सिकाएर आफ्नो चेलो बनाएको थियो  । उनलाई त्यसरी एक महिनासम्म लुकाएर राखी मंत्र सिकाएर चेला बनाए पछि मात्र लुकाएको ठाउँबाट बाहिर ल्याई छोडिदिएको थियो । मैले सुनेको यस कुराले पनि मलाई  सानामा भूत प्रेतसित डराउने बनाएको थियो ।  डराउन दिनेदेखि डराउने मान्छे बनाएको थियो ।

मैले सानामा के कुरा पनि सुनेको थिएँ भने एकपल्ट नुन, तेल , मर ,मसाला, सुर्ती, तमाखु ,लत्ता कपडा आदि लिन  जाने हाम्रा गाउँलेहरूसित ढाक्रे भएर भूतहरू पनि नुन, तेल, मर मसाला ,सुर्ती, तमाखु, लत्ताकपडा आदि लिन बटौली गएछन् । बटौलीमा उनीहरूले पनि ढाक्रेहरूसित नुन, तेल, मर मसाला, सुतीर्, तमाखु, लत्ताकपडा आदि किनेर चरप्प भारी बनाई  हाम्रा गाउँले ढाक्रेसित ठाउँ ठाउँमा बास बस्दै चार पाँच दिन लगाएर गल्कोट आइपुगेछन् । गल्कोटको बासखोला नजिक आए पछि उनीहरू दरमखोलातिर लागेछन् र गहिरो रहमा झ्वाम्म हाम्फालेछन् । तब मात्र ढाक्रेहरूलाई थाहा भएछ उनीहरूसित ढाक्रे भएर बटौलीमा नुन तेल मर मसाला सुर्ती तमाखु लत्ताकपडा आदि लिन जाने ढाक्रेहरू त भूृतहरू पो रहेछन् । निश्चित रूपमा यस कुराले पनि सानामा मेरो मनमा भूत प्रेतप्रति भयको भावना पैदा गराएको थियो ।

मलाई अझ पनि राम्ररी नै संझना छ हामी दोकानमा बस्दा साँझतिर बुवासित त्यहाँ जम्मा भएका गाउँलेहरूसित भूत प्रेतका कुरा हुने गर्दथे । डराउनदिनेका कुरा हुने गर्दथे ।  म डरले सिरकभित्र गुटमुटिएर बुबासित हुने गरेका भूत प्रेतका कुरा बडो चाख मानेर सुनिरहन्थें । बडो रुचि राखेर सुनिरहन्थें । म भूत प्रेत वा  डराउने दिनेका कुरा वा कथा सुनेर कहिले थाक्दैनथें । जति भूत प्रेत वा डराउन दिनेका कुरा वा कथा जति सुन्दथें मलाई उति अझ सुनौं अझ  सुनौं जस्तो लाग्दथ्यो । डरबाट प्राप्त हुने आनन्द म भूत प्रेतका कुरा वा कथाबाट प्राप्त गर्दथें । 

हाम्रो गाउँमा एकजना मगर जालहारी थिए । उनको खास नाम त के हो त्यो मलाई थाहा भएन । मान्छेहरू उनलाई बौडाई भन्दथे । यिनी निडर मान्छे थिए । उनी हेर्दा भूत जस्ता देखिन्थे । मसान जस्ता देखिन्थे । जलाउँदा जलाउँदै जुरुक्क उठेर हिंडेको मान्छे जस्ता देखिन्थे । उनी भूतदेखि डराउँदैनथे । दरमखोलामा रातिमा जाल खेल्दा जुनसुकै जालहारी एक्लै जाल खेल्न सक्दैनथे । बौडाई भने दरमखोलामा राति एक्लै पनि जाल खेल्न सक्दथे ।

मैले सुनेको थिएँ एकपल्ट यिनै बौडाईले  गाउँलेहरूले लखेटिरहेको भालूलाई समात्न खोज्दा उनको आँखामा कोपारेर ठूलो चोट पुराएको थियो । मैले के पनि सुनेको थिएँ भने एकपल्ट हुलुवा खोलामा माछा मार्दा ढुँगामुनि टाउको छिराउँदा त्यो ढुंगा घर्केर उनको टाउको कुच्चाएको थियो । उनी ठूलो कालबाट बाँचेका थिए । यी दुई घटनाले पनि यसै त भूत जस्तो देखिने बौडाईलाई अझ बढी भूत जस्तो बनाएको थियो ।

एक दिन साँझ यिनै बौडाईले हाम्रो दोकानमा आएर डराउन दिनेका कुरा गरेको संझना हुन्छ मलाई ।  मैले सिरकभित्र गुटमुटिएर उनले गरेका डराउन दिनेका कुरा बडो चाख मानेर सुनेको थिएँ । त्यतिबेला बौडाईले घोडाबानेमा डराउनदिनेले उनलाई डराउन दिएको कुरा सुनाएका थिए ।उनले भनेका थिए — उनी बाग्लुङ बजारबाट आउँदा घोडाबानेमा रात पर्यो । त्यसैले उनी घोडाबानेको जंगलको बीचमा एकान्त ठाउँमा बनेको ठांटी पौवामा बास बसेका थिए । गल्कोटतिरबाट कालीगण्डकीमा लाश लैजाँदा रात परेमा त्यही घोडाबानेको ठाँटी पौवामा राख्ने गरिन्थ्यो । बौडाई सुतेको बेलामा उनलाई भूतले तर्साउन थालेछ । झक्झकाउन थालेछ । सताउन थालेकाउ थालेछ । उनलाई राम्ररी सुत्नै दिएनछ । उनले उठेर हेर्दा चारैतिर लाश नै लाश देखेछन् । ठाँटी लाशै लाशले खचाखच भरिएको देखेछन् । ठाँटीमा उनी  आरामसित सुत्न सकिने जस्तो अवस्था नभए पछि उनी त्यहाँबाट निस्केर राता रात आफ्नो घरतिर लाग्न वाध्य भएका रहेछन् । 

एक दिनको कुरा हो म हाम्रो दोकानदेखि यस्तै सालाखाला १० मिनटको दुरीमा रहेको दिदीको घरमा गएको थिएँ । त्यहाँ कुरा गर्दा गर्दै झमक्क साँझ पर्यो । साँझ परे पछि म भूतको डरले एक्लै दोकानमा जान सक्दिनथें । यसैले मैले भिनाज्यू कर्णबहादुर खत्रीलाई घरदेखि तीन मिनट जति  वर कुइनोटामा अडिएर म दोकानमा नपुगुञ्जेल मलाई हेर्नु होला भनेको थिएँ । साथै  मैले भिनाज्यूलाई के पनि भनेको थिएँ भने मलाई भूतले डराउन दियो भने म जोरले चिच्चाउँने छु । तपाईं हा हा हु हु गर्दै दगुर्दै म  भएको ठाउँमा आउनुहोला । भिनाज्यु मैले भने अनुसार बाटाको कुइनोटोमा उभिए पछि म छिटो छिटो दोकानतिर जान थालें । यस्तैमा जुनेली रातमा मैले कुनामा कालो कालो चीज मसित नै लगभग समान्तर रेखामा हिंडेको  देखें । मेरो आङ जिरिङ गर्यो । शरीर हल्का भयो । शरीरभरि काँडा उठे । मेरो वाक्य बन्द जस्तो भयो । म बोल्न र भिनाज्यूलाई चिच्चाएर मेरो  उद्धारको लागि बोलाउन सक्ने अवस्थामा रहिनँ । म दौडिन थालें  । म दगुरिरहें । पछि नपर्फी दगुरिरहें । दाहिने बायें कतै हेर्न नथाली एकोहोरो दगुरिरहें । म जति बेगले दगुर्दथें मसित कुनातिर दगुरिरहेको कालो चीज पनि उति बेगले दगुरिरहको कुरा मेरा छडके आँखाले देख्दथे । म त्यो मसित जोरका तोर भएर मसित दगुर्ने कालो कुरा को हो तथा कस्तो छ त्यसलाई राम्ररी चियाएर हेर्ने हिम्मत नै गर्न सकिनं मैल. र एकै सासमा दोकानमा पुगें ।  आमालाई भने मलाई डराउन दिनेले लखेट्यो । कुनै कालो चीज मसित कुनामा दगुरेको देखेर एकै सासमा आएँ । दोकानमा पुगे पछि मात्र मैले मसित कुनातिर दगुरिरहको कालो चीजलाई चियाएर हेर्न खोजें त्यो कतै गायव भएको थियो । भोलिपल्ट राति आँगाखेतमा  कुलाको पानी लगाउने आएका एकजना गाउँले भनेका थिए हाम्रो दोकान पल्तिरबाट एउटा कुनै कालो चीज बाटोेबाट मास्तिर बस्नेतको बारीतिर उकालो लागेको थियो ।  

२८—९—२०६९ 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...