डाक्टरहरूले धेरैभन्दा धेरै पानी पिउने सल्लाह दिन्छन् । पानी पिउनाले हामीलाई कुनै नोक्सान गर्दैन । बरु फाइदा नै फाइदा गर्दछ । स्वस्थ रहनको लागि हामीले जति सकदो पानी पिउनु पर्दछ ।
पानी त हामी पिउँछौं नै । तर पानी पिउनाले हामीलाई फाइदा हुन्छ भनेर पिउँदैनौं । डाक्टरहरूले पानी पिउने सल्लाह दिएका छन् भनेर पिउँदैनौं । बरु हामी तिर्खा लाग्दा पानी पिउने गर्दछौं । हाम्रो शरीरले पानी मागेमा हामी पानी पिउँछौं ।
आज भोलि मैले केही बढी पानी पिउन थालेको छु । म आफ्नो शरीरले मागेभन्दा पनि बढी पानी पिउने गर्दछु । आजभोलि म सुत्नेबेलामा हाइन बरु विहान जुरुक्क उठेर पान पिउन थालेको छु । शायद मैले हाम्रो शरीरलाई पानीको ठूलो आवश्यकता हुँदोरहेछ भन्ने वास्तविकतालाई बुझेर धेरै नै पानी पिउने गर्दछु । तिर्खा लाग्दा त म अवश्य पानी पिउँछु नै । तिर्खा नलागे पनि म पानी पिउँछु । फेरि पहिले पहिले मैले जुनसुकै पानी पनि पिउने गर्दथें । आजभोलि सकेसम्म म शुद्ध पानी पिउने प्रयास गर्दछु ।
म केटाकेटी छँदा मलाई पानीको महत्वबारे खासै कुनै ज्ञान थिएन । पानी हाम्रो शरीरको लागि कति आवश्यक हुन्छ भन्ने कुराको पनि कुनै जानकारी थिएन । फेरि पनि म तिर्खा नलागे पनि पानी पिउने गर्दथें । पानी पिउने मेरो बानी नै बसेको थियो । म सुत्ने बेलामा अनिवार्य रूपमा पानी पिउँथें ।
म सानामा गल्कोट बाग्लुङमा छँदा प्राय जसो आँगाखेतमा स्थित हाम्रो दोकान घरमा बस्ने गर्दथें । फेरि कहिलेकाहीं म बुबासित माथि हुलुवाको घरमा गएर बस्दथें । त्यतिबेला राति सुत्ने बेलामा पानी पिउने कुरा मेरो दैनिकी जस्तै भएको थियो । नित्य कर्म जस्तै बनेको थियो ।
म दोकानमा बस्दा कहिलेकाहीं सुत्नुभन्दा पहिले नै निदाउँथें । हुन्थ्यो के भने साँझतिर वर परका मान्छे जम्मा भएर नाना थरिका कुराकानी गर्न थाल्दथे. । उनीहरू डराउन दिनेका कुरा पनि गर्दथें । म उनीहरूका कुरा सुन्दा सुन्दै निदाउन पनि सक्दथें । म उनीहरूका कुरा सुन्दा सुन्दै निदाउन पुगें भनें
जाग्न बित्तिकै पानी मागेर पिउन थाल्दथें । मलाई पानी नपिई सुत्यो भने कता कता खस खस लाग्ने थाल्दथ्यो । घाँटी सुक्ला कि जस्तो लाग्दथ्यो । मलाई केही कुरा बिराए कि जस्तो लाग्दथ्यो । मलाई कता कता निकै ठूलो कसुर गरे जस्तो पनि लाग्दथ्यो । यसैले पनि मैले सुत्ने बेलामा जसरी भए पनि पानी पिउन आवश्यक थियो । आमाल कुनै मान्छेसित प्रसंगवस् मेरो बारेमा कुरा चल्दा भन्नुहुन्थ्यो यो पानी नपिई सुत्दैन । यसको सुत्ने बेलामा पानी पिउन बानी छ । आमाको यो कुरा सुनेर मान्छेहरू भन्दथे — यो नानीको निकै राम्रो बानी रहेछ । मलाई थाहा छैन ती मान्छेहरू किन र कसरी मेरो सुत्ने बेलामा पानी पिउने बानी राम्रो हो भन्न पुगे । अहिले म विश्वस्त भएर के भन्न सक्दछु भने उनीहरूले पानी पिउनुमा ठूलो लाभ देखेर वा पानी पिउनुको महत्व बुझेर त्यसो भनेका होइनन् । गाउँमा साधरण मान्छेहरू पानी पिउने कुरालाई तिर्खासित जोडेर हेर्दछन् । उनीहरू किन पानी पिउँछौं भन्छन् भने उनीहरूलाई पानी तिर्खा लाग्दछ । उनीहरूले किन पानी पिउनु पर्दछ भन्छन् भने उनीहरूलाई पानी तिर्खा लाग्दछ । हो, सर्वसाधारण व्यक्तिको दृष्टिमा मान्छेले तिर्खा मेटाउनको लागि पानी पिउँछ । मान्छेले प्यास बुझाउनको लागि पानी पिउँछ । जे होस्, मलाई के कुराको खुशी लाग्दथ्यो भने मान्छेहरूले मेरो सुत्ने बेलामा पानी पिउने कुरालाई एउटा ठूलो लच्छिनको जस्तो कुरा ठानेका थिए । राम्रो कुराको संकेत जस्तो मानेका थिए । मलाई थाहा छ यो मेरो सानामा पानी पिउने बानी स्वतः स्फूत रूपमा बस्यो र लामो समयसम्म कायम रह्यो । जारी रह्यो ।
उसरी आजभोलि पनि म सुत्ने बेलामा पानी पिउँछु । तर त्यो मेरो आदत बनेको छैन । दैनिकी बनेको छैन । सुत्ने बेलामा पानी पिउन मन लागे पिउँछु । पानी पिउन मन लागेन भने पिउँदिन पनि ।
मेरो सुत्ने बेलामा पानी पिउन टुटेको कथा अफ पनि मेरो स्मृतिपटललमा अंकित हुन पुगेको छ । मैले कुनै खास दिनदेखि सुुत्ने बेलामा नियमित रूपमा पानी पिउने बानीलाई छोडिदिएको छु । छोडिदिएको थिएँ ।
शायद त्यतिबेला म ६— ७ वर्षको थिएँ होला । म सानामा बुबाको वरिपरि हिंडिरहन्थें । बुबा दोकानमा हुँदा म पनि दोकानमा हुन्थें । बुबा माथि घरमा जाँदा म पनि म पनि माथि घरमा पुग्दथें । बुबा खेत विराउन जाँदा म पनि खेत विराउने ठाउमा जान्थें । बुबा कतै पूजा गर्न हिंडे म पनि साथमा पूजा गर्ने ठाउँमा पुग्दथें । खास गरी दशैंको बेलामा माथि कोटमा पूजा गर्न म बुबाको साथमा जान्थें । माथि डुन्डुराको नजिकको सिद्धथानमा बालीको पुूजा हुँदा म पनि बुबाको साथमा जान्थें । तल हाम्रो घर नजिक सिद्धथानमा पानीको पूजा हुँदा म पनि बुवाको साथमा जान्थं । हुलुुवा खोला वा दरम खोलामा बुबा माछा मार्न गए म पनि बुुबाको पछि लागेर माछा मार्न जान्थें । एकपल्ट हाम्रो गाउँमा डाँडा काँडा पाखा पखेरा ढाक्ने गरी सलह आएका थिए । सलहले एकै छिनमा बारीका मकै सखाप पारिदिएका थिए । म बुबासित सलह समात्न बारी बारीमा गएको थिएँ । यसरी सानैदेखि म बुबाको पछि पछि हिंड्न मन पराउने हुनाले उहाँले पनि मलाई आफू जता गए पनि साथमा लैजाने गर्नु हुन्थ्यो । यत्ति हो उहाँ माल समान चलाउन बटौली आउँदा वा शिकार खेल्न घुम्टे वा ठोठनेटामाथि जंगलमा जाँदा भने साथमा लैजानुहुँदैन्थ्यो ।
एक दिनको कुरा हो । अझ पनि मलाई हिजो जस्तो लाग्दछ । आजै जस्तो लाग्दछ । त्यतिबेला म ६—७ वर्षको थिएँ होला । बुबा भैंसी किन्न भनेर दाकानबाट झिर्का जान थाल्नु भयो । म त्यति टाढा जान सक्दिनं भनेर उहाँले मलाई साथमा लैजान खोज्नु भएन । उहाँ मलाई साथमा नलिई हाम्रो दोकानको मास्तिरको बाटोमा पुग्नु भयो । म उहाँसित झिर्का जान निकै रोए कराए पछि बल्ल माथि बाटोबाट भन्नु भयो — आ पुच्छर !
म दगुर्दै बुवा भएको ठाउँमा पुगें । हामी सिरवारको बाटो हुँदै झिर्कातिर लाग्यौं । बुबा झिर्का कार्कीको घरमा भैंसी किन्न जाँदै हुनुहुन्थ्यो । म सानामा बुबासित दुई चार पटक विभिन्न सन्दर्भमा टोकरी कान्छी सानीमाको घरसम्म पुगेको भए पनि कहिले पनि झिर्का पुगेको थिइनं । झिर्का देखेको थिइनं ।
झिर्का लेक हो । हाम्रो गाउँका धेरै मान्छेहरू औल र लेक दुबै ठाउँमा खेतीपाती गर्दथे । गाई भैंसी पाल्दथे । उनीहरू प्रायः ६ महिना औलमा र ६ महिनामा लेकमा बसोवासो गर्ने गर्दथे ।
झिर्का लेक भएको हुनाले घास दाउरा प्रशस्त पाइन्थ्यो । लेकमा खेतीपाती निकै ढिलो तयार हुन्थें । मकै छ्रेर पाक्न ६ महिना जति लाग्दथ्यो ।
म यस्तै चार पाँचको घण्टाको बाटो हिंडेर झिर्का पुगेको थिएँ । अग्लो पहाडमाथि बसको झिर्का सम्मो ठाउँ रहेछ । बसेको ठाउँ रहेछ । मैदान जस्तै ठाउँ रहेछ । झिर्का वारि अग्लो पाण्डुखानीको पाखो रहेछ । झिर्कामा थुप्रै गोठ तथा बारीहरू रहेछन् । बुवाले मलाई पाखरा कान्छा बुबाहरूको गोठमा लैजानु भयो । मैले झिर्काका बारीमा लपक्कै राउन्नेको झार उम्रेको देखें ।
झिर्का चिसो ठाउँ भएकोले मही पनि जमेर दही हुने रहेछ । त्यहाँ पातालो मही गोरस देख्न पाइने रहेनछ । गोठमा बस्नेहरूले आटोमाथि भुंङ्रो राखेर पकाउने रहेछन् । त्यहाँ खाना पकाउने पाक शास्त्र बेग्लै प्रकारको रहेछ । विशिष्ट प्रकारको रहेछ ।
पाखरा कान्छा बुवाहरूका गोठमा केही बेर बसे पछि बुबाले मलाई दाउन्ने कार्कीको घरमा पुराउनु भयो । दाउने पारि पाखामा पाण्डुखानी स्पष्ट देखिन्थ्यो । मलाई नयाँ ठाउँमा पुगेको हुनाले नयाँ अनुभूति भैरहेको थियो ।
हामी साँझमा कार्कीको घरमा पुगे पछि उनीहरूले खाना तयार पार्न थाले । बुबाले त्यहाँ कुरा गर्दै गर्दा म निदाउन थालेको थिएँ । खाना तयार हुने बेलासम्म म मस्त निदाइसकेको थिएँ । मलाई जबरजस्ती उठाएर बुबा मलाई खाना खान दिइयो । उनीहरूले हामीलाई खान खिर तथा आलुको तरकारी दिएका थिए । त्यतिबेला गाउँ घरमा परपाहुनाको सत्कारको लागि खिर पकाएर खुवाउने गरिन्थ्यो । कार्की परिवारले हाम्रो राम्रै खातिरदारी गरेको थियो ।
त्यस दिन म अर्काको घरको पाहुना भएको हुनाले सुत्ने बेलामा पानी मागेर खान सकिनं । त्यसै दिनदेखि मेरो सुत्ने बेलामा पानी पिउने बानी छुट्यो । भनौं मेरो सुत्ने बेलामा पानी पिउने वर्त भंग भयो ।
भोलि विहान भैंसी फुकाएर लैजान साइत नजुरेको हुनाले बुबाले उज्यालो नहुँदै भैंसी फुकाएर हिंडाल्नु भयो । संभवत हामी नेटाको चौतारोमा पुग्दा बल्ल फुर फुर उज्यालो भएको थियो ।
यसरी ६—७ वर्षको उमेरमा बुबासित जवरजस्ती झिर्का गए पछि फेरि कहिले म झिर्र्का गइनं । फेरि मलाई कहिले झिर्का जाने मौका परेन । तर पनि यतिका वर्ष बितेर जाँदा पनि मेरो मन मस्तिष्कमा झिर्काको चित्र मूर्त रूपमा नाचिरहेको छ ।
जे होस्, मेरो लागि झिर्काको यात्रा किन पनि स्मरणीय हुन पुगेको छ भने त्यहाँ बुबासित भैंसी किन्न कार्कीको घरमा गए पछि मेरो सुत्ने बेलामा पानी पिउने बानी छुटेको थियो । अर्को कुरा, मेरो लागि झिर्काको यात्रा किन पनि स्मरणीय हुन पुगेको छ भने म मेरो बुबासित हिंडेको यो मेरो सबभन्दा लामो यात्रा थियो ।
जन्मास्टमी
५—५—२०७०
Comments
Post a Comment