Skip to main content

राजाले आमालाई झुक्काए

  

राजा महेद्रको पश्चिमा भ्रमण हुँदा म घरमा थिइनं । गल्कोटमा थिइनंं । उनी गल्कोटमा पुगे पछि मजुवाको फाँटमा क्याम्प राखेर बसेछन् । त्यहाँ उनले डकुमेन्टरी फिल्प पनि देखाएर निकै चहल पहल गरेछन् । भेष बदलेर घुमघाम गरी सर्व साधारण जनताको अवस्था बुझ्न पनि खोजेछन् । राजा महेन्द्रले गल्कोटमा शिकार खेल्न पनि पाइन्छ भन्ने कुरा पनि सुनेको रहेछन् । यसैले उनले                    घुम्टेबाट घोरल  मृग लखेट्दै तल झार्न लगाएर शिकार  खेलेछन् । राजा महेन्द्रले गल्कोटको दरमखोलामा असला माछा निकै प्रसिद्ध छन् भन्ने कुरा पनि सुनेको रहेछन् । यसैले दरमखोलामा दोहालो थुनेर  माछा  मार्न पनि लगाएका रहेछन् ।

तर मैले यहाँ विशेष चर्चा गर्न खोजेको कुरा राजा महेन्द्रको पश्चिम भ्रमणको सिलसिलाका भन्दा गल्कोट आउनुभन्दा अघि र पछिका हुन् ।  

राजा महेन्द्रको गल्कोटमा भ्रमण हुने भए पछि त्यहाँका बाटाघाटा सडक चाक्ला पार्ने काम तुफानी गतिले अघि बढाइएछ । बाटो खन्ने काममा निकै तीव्रता ल्याइएछ । राजा महेन्द्रले पश्चिमतिरको भ्रमण गर्दा हाम्रो दोकानको बाटो भएर नै जानुपर्दथ्यो । हाम्रो दोकान मूल बाटो नै थियो । तर अहिले पहाडी लोकमार्ग हाम्रो दोकानदेखि केही तल खेतको डिलबाट गएको छ ।

राजा महेन्द्रको पश्चिम भ्रमणको पूर्व बेलामा त्यहाँको बाटोघाटो फराकिलो पार्न खटिएका ठूलाठाला हाकिमहरूले आमा तुलसीसित हाम्रो दोकानको पाली फाल्नु पर्ने कुरो गरेछन्  । उनीहरूले आमालाई भनेछन् — राजा महेन्द्र घोडामा चढेर लश्कर लागि जाँदा पालीमा ठोक्किन पनि सक्दछन् । यसैले पाली फाल्न जरुरी छ । राजाको यहाँको भ्रमण सकिए पछि फेरि पाली हाल्दा हुन्छ । आमाले उनीहरूका कुरा खानु भएनछ । आमाले भन्नु भएछ अहिले पाली फालेर फेरि पछि म कसरी पाली हाल्न सक्दछु । मसित पाली फालेर फेरि पाली हाल्ने पौल पैसा पनि छैन । 

पहिले खरले छाएको  हाम्रो दोकान घर र पाली पछि हुलुवाका  ढुंगाले छाइएको थियो । मैले पनि सानामा हुलुवाको ढुंगा खानीबाट घर छाउने ढुगा बोकेका थिएँ । 

पाली फाल्ने कुरामा आमाले कसैका पनि कुरा नसुने पछि स्वयं गल्कोटे राजा भरतबम मल्लले आमालाई भेटेर भनेछन् — मुख्येनी ! अहिले तिमीले तिम्रो दोकानको पाली फाल्न देऊ । राजा महेन्द्रको भ्रमण सवारी सकिए पछि मैले तिमीलाई ५५ रुपियाँ दिउँला । त्यही पैसाले फेरि तिमीले  तिम्रो दोकानको पाली हालौली ।

गल्कोटे राजा भरतवम मल्लले आमालाई फालेको पाली फेरि हाल्न ५५ रुपियाँ दिने बचन दिए पछि आमाले हाम्रो ढुंंगाले छाएको पाली फाल्न दिनु भएछ । 

राजा महेन्द्र ठूलो दलबलका साथमा घोडामा चढेर हाम्रो दोकानको बाटो हुँदै पश्चिमतिर लागेछन् ।

राजा महेन्द्रको गल्कोटको भ्रमण सकिए पछि गल्कोटे राजा भरतबम मल्लले वचन दिएको पैसा बुझी पाली हाल्ने विचारले आमा गल्कोटे राजाको दरबारमा पुग्नु भएछ । 

आमालाई दरबारमा देख्न बित्तिकै राजा भरतवम मल्लले प्रश्न गरेछन् — केही काम थियो कि मुख्यनी ? 

आमाले राजालाई भन्नु भएछ — राजाको भ्रमणको बेलामा फालिएको मेरो दोकानको पाली हाल्न ५५ रुपियाँ दिने मर्जी भएको थियो । त्यही लिन आएकी  हुँ ।

आमाका कुरा सुने पछि राजा भरतबम मल्लले सुसारेलाई भनेछन् — जा माथि मेरो व्याग छ । लिएर आ ।    

केही बेर पछि सुसारे माथिल्लो तलाबाट तल झरिछ । उसले राजालाई भनिछ — सरकार ! व्याग त मैले कतै भेटिनं ।

सुसारेको यो कुरा सुने पछि आमातिर फर्केर गल्कोटे राजा भरतबम मल्लले भनेछन् — मुख्यनी ! अहिले तिमी जाउँ । तिमीलाई मैले पछि ५५ रुपियाँ दिउँला ।  

आमा अरु बढ्ता कुरा नगरी त्यहाँबाट — हश भनेर हिंड्नु भएछ । 

आमा भर्याङ्गबाट तल झर्दै गर्दा राजा भरतबम मल्लले भनेका यी कुरा आमाका कानमा परेछन् — दुनियाँको चित्त बुझाएर के सकिन्थ्यो ।

गल्कोटे राजा भरतबम मल्ललाई मैले धेरैपल्ट देख्ने जान्ने मौका पाएको थिएँ । मैले उनलाई विविध कार्यक्रममा उपस्थित भएको अवस्थामा पनि देखेको थिएँ । प्राय अंग्रेजले लगाउने जस्तो टोप हैट लगाउने गल्कोटे राजा भरतबम मल्ल निकै अग्ला र ठूलो ज्यान भएका मान्छे  थिए । झण्डै झण्डै अमेरिकन जस्तै देखिन्थे । यसो हेर्दा उनी निकै डरलाग्दो व्यक्तित्व भएका मान्छे जस्ता देखिन्थे ।  तर उनी कत्ति पढेलेखेका मान्छे नभएर पनि होला पढेलेखेका मान्छे उनलाई त्यति गन्दैनथे । टेर्दैनथे । मैले सुने अनुसार गल्कोटे राजाको विवाह सुवर्ण शमसेरकी दिदी चैतन्य देवीसित भएको थियो ।  

यतिबेला मलाई रानी चैतन्य देवीको अनुहार स्पष्ट याद नभए पनि उनी मिनमा चढेर बटौली हुँदै काठमाण्डौं जाने बेलामा हाम्रै दोकानमा मिनबाट उर्लेर बिश्राम लिंदा बुबा आमासित कुराकानी गरेको म  अहिले पनि सम्झिन सक्दछु । चैतन्य देवी पढेलेखेकी महिला थिइन. । राज्य संचालनमा गल्कोटे राजाभन्दा रानी बढी सक्रिय हुन्थिन भन्ने कुरा पनि मैले सुनेको थिएँ । मैले के  कुरा पनि सुनेको थिएँ भने रानीले कुनै काम गर्दा बुबासित पनि सर सल्लाह गर्थिन् ।  बुबाको गल्कोटे राजा भरतबम मल्लसित घनिष्ट सम्बन्ध थियो भन्ने कुरा पनि मैल ेसुनेको थिएँ । फेरि मैले के कुरामा पनि चाल पाएको थिएँ भने गल्कोटे राजाको अड्डामा परेको कुनै एउटा मृद्दा त्यहाँका डिट्ठा क्षेत्रबहादुर मल्लले छिन्न नसकेर बुबाका जिम्मा लगाएका थिए । बुबाले त्यो मुद्धाको समाधान निकालेको खुशीमा उनले बुबालाई ओभरकोट वा मुलुकी ऐन दुई कुरामा एक लिन रोजाएका थिए । बुबाल ेओभरकोट नरोजेर मुलुकी ऐन रोज्नु भएछ । नेपाली कागजमा छापिएको त्यो  मुलुकी ऐन पछिसम्म हाम्रो बाकसमा सुरक्षित रहेको थियो । मैले त्यति पढ्न नजाने पनि त्यसलाई बेला बेलामा ओल्टाई पल्टाई हेर्ने गर्दथें ।

जे होस्, गल्कोटे राजा भरतबम मल्लले आफूलाई झुक्काएको थाहा पाए पछि आमा राजा महेन्द्रको पश्चिम भ्रमण हुँदा फालेको पाली हाल्न दिन्छु भनेको  ५५ रुपियाँ माग्न फेरि फर्केर गल्कोटे राजाको दरबारमा जानु भएन । राजा महेन्द्रको पश्चिम भ्रमणको बेलामा सडक फराकिलो पार्न फालेको हाम्रो दोकानको पाली आमाले आफै हाल्नु भयो ।  म घरमा आउँदा आमाले हाम्रो दोकानको फालएको पाली फेरि हालिसक्नु भएको थियो ।  

त्यतिबेला आमाले गल्कोटे राजा भरतबम मल्लले राजा महेन्द्रको पश्चिम भ्रमणको बेलामा फालिएको हाम्रो दोकानको पाली भ्रमण पछि पुनः हाल्न ५५ रुपियाँ दिन्छु भनेर कसरी झुक्काएका थिए भन्ने  कुरा  मलाई विस्तारपूर्वक बताउनु भएको थियो । सुनाउनु भएको थियो ।


२—१०—२०६९


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...