Skip to main content

गुँड त काँचै रहेछ

 

मैले केटाकटीमा भनेको रहेछु — गुँड त काँचै रहेछ । मैले त्यसरी केटाकेटीमा भनेको कुरा पछिसम्म धेरैेले चर्चा गरेको सुन्दथें — यसले त सानोमा गुँड त काँचै रहेछ भन्दथ्यो । यद्पि मैले सानामा त्यसरी गुँड त काँचै रहेछ भनेको कुरा सम्झिन्न । सम्झिन सक्दिनं । संझिन्छु त यसले सानामा गुँड त काँचै रहेछ भन्थ्यो भन्ने कुरा । मैले सानामा भनेको यो कुरा एक कान दुई कान हुँदै मैदान भएको थियो । 

मेरा बुबा रविलाल साहनीले म जन्मिनुभन्दा अघिदेखि माथि गाउँ हुलुवाबाट तल बामियामा सगरिया  ( पार्टनरसिप ) मा दोकान गर्न थाल्नु भएको रहेछ । पार्टनर रहेछन् जेठा बुबा  हवल्दार करबीर साहनी, कान्छा बुबा दुर्ग सिंह साहनी तथा डाँडाका पूर्णबहादुर भण्डारी ।  पछि जेठा बुबाले दोकान गर्न छोड्नु भएछ । कान्छा बुबाले अलगै बामियामा हुलुवा खोलामाथि पाखमा दोकान गर्न थाल्ुनु भएछ । बुबाले आँगाखेतमा दोकान गर्न थाल्नु भएछ  । डाँडाका भण्डारीले बाँसखोलामा दोकान गर्न थाल्नु भएछ । 

बुबाले आँगाखेतको व्यापार गर्दा दोकानमा कपडा लत्ताको साथसाथै खिच्री मिच्री,  सिगरेट, मार्चिस, तमाखु,  चिनी, मिस्री , गडी , सुपारी ,सितल गेडी , गुँड आदि राख्नुहुन्थ्यो । उहाँले प्राय बुटवलतिरबाट माल सामान चलाउनुहुन्थ्यो । हाम्रो दोकानमा  गुल्मी थोर्गाको गुँड पनि राखिन्थ्यो ।

मलाई सानामा गुलियो चीज खान निकै मन पर्दथ्यो । पहाडमा गुलियो चीज भन्नु चिनी , मिस्री, शितल गेडी , गुँड आदि नै हुन्थे ।

आफ्नै दोकानमा बिक्रीको लागि टन्न गुँड राखिएको हुँदा मैले सानामा निकै धेरै गुँड खानु कुनै अनौठो कुरा भएन ।

गुँडको सम्बन्धमा मैले हाम्रो गाउँमा घटेको सत्य कथा पनि सुनको थिएँ । मैले सुने अनुसार मल्मका जिम्वालले आफ्नो छोरालाई हाम्रो दोकानमा एक रुपियाँको गुँड किन्न पठाएका रहेछन् । उनी एक रुपियाँको गुँड किनर आफ्नो घरतिर लागेछन् । बाटोमा हिंड्दै गर्दा उनले आफ्नो मन थाम्न सकेनछन् । यसैले उनले एक टुक्रो पारेर अलिकति गुँड खाएछन् । उनलाई गुँड निकै मीठो लागेछ । अझ खाउँ खाउँ जस्तो लागेछ । यसैले उनले फेरि सानो टुक्रो पारेर गुँड खाएछन् । उनलाई जति खायो उति गुँड मीठो लागेछ । उनलाई अझ गुँड खाउँ खाउँ जस्तो लाग्न थालेछ । गुँडको टुक्रो खाएर उनलाई आफ्नो मुखलाई जिस्काए जस्तो पनि लागेछ ।  उनले जति कोशिस गरे पनि आफ्नो मन थाम्न सकेनछन् । त्यसैले फेरि पनि उनले एक टुक्रो गुँड फोरेर खाएछन् । यसरी पटक पटक फोरेर खाँदा गुँडको डल्लो सानो हुन थालेछ । त्यसैले उनले आमाका कसम खाएर अब एक टुक्रा गुँड खाए पछि अरु थप गुँड त  खाँदै खान्न भनेछन् । उनले त्यसरी आमाको कसम खाएर अब अरु गुँड खाँदै खान्न भने पनि उनको मन फेरि पनि थामिन सकेनछ । उनलाई गुँड खाउँ खाउँ जस्तो लागेछ । उनले सोचेछन् मैले अब गुँड नखाने जति कडा कसम खाएको भए पनि मैले खाएको कसम कसैले सुनेको छैन । यसैले मैले अर्को टुक्रो गुँड भाँचेर खाए पनि मेरो सामुन्ने अंगुलो उठाउने कोही हुने छैन । उनले फेरि पनि कडा कसम खाँदै अब एक टुक्रो गुँड फोरेर खाए पछि अरु टुक्रो खाने छैन भनेछन् । त्यो टुक्रो गुँड खाए पछि  उनलाई फेरि अरु गुँड खाउँ खाउँ जस्तो लागेछ । मैले खाएको कसम कसैले सुनेको छैन भन्दै फेरि पनि उनले अर्को टुक्रा गुँड फोरेर खाएछन् । यसरी एक पछि अर्को टुक्रा गुँड फोर्दै खाँदै जाँदा माथि घर पुग्ने बेलासम्म गुँडको डल्लो नै सकिएछ । उनी रित्तै हात घर पुगेछन् । घरमा उनले गुँड खाएँ नभनेर पैसा हरायो भनेछन् ।

जे होस् ,बाटोमा मन थाम्न नसकेर मीठो मीठो गुँड भाच्दै खाँदा घरमा उनले बुबाको नमीठो झम्की खानु परेछ ।

एक दिन सानामा मैले निकै धेरै गुँड खाएको हुनाले होला मलाई अरु बढ्ना गुँड खाने इच्छा भएनछ । मलाई कता कता गुँड मीठो लाग्न छोडेछ । गुँड तीतो तीतो लाग्न थालेछ । मैले धेरै गुँड खाएर मलाई गुँड तीतो जस्तो लागेको हो भन्ने ज्ञान हुन सकेनछ । मैले सोंचेछु , गुँड राम्ररी नपाकेर नमीठो भएको हो ।  तीतो भएको हो । यसैले मैले खान थालेको गुँड फाल्दै भनेछु — म गुँड खान्न । गुँड त काँचै रहेछ ।

२६—९—२०६९


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...