चश्मा शौक, शान र फेसनको विषय पनि हो । चश्मा आवश्यकताको विषय पनि हो । मलाई भने चश्मा शौक, शान र फेसनको विषय होइन । आवश्यकताको विषय हो ।
पढ्ने बेलामा खास गरी कम उज्यालो भएको ठाउँमा मलाई चश्माको आवश्यकता पर्दछ । हो, म चश्मा लगाएर हिंडडुल गर्न मन पराउँदिनं । चश्मा लगाएर अध्यापन गर्न मन पराउँदिन । मलाई संझना छ , जब मैले बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गर्न पर्दथ्यो पछिल्ला वर्षहरूमा , खास गरी सायंकालंमा अंंग्रेजीका स्नातकोत्तरका कक्षा लिनु पर्दा, म चश्मा लगाएर पढ्नु पर्ने कुरा पढ्दथें । चश्मा खोलेर विद्यार्थीहरूलाई स्पष्ट पार्नु पर्ने कुरा स्पष्ट पार्दथें । यसरी पटक पटक चश्मा लगाउँदा र चश्मा निकालेर अध्यापन गर्दा चश्मा छिटै टुटफुट हुने खतरा रहन्थ्यो । यसैले पनि मैले पटक पटक चश्मा किनिरहनु पर्दथ्यो । चश्मा फेरिरहनु पर्दथ्यो । सधैं चश्मा लगाइरहेमा त्यो छिटै टुट फुट हुने रहेनछ । पटक पटक चश्मा लगाउने र निकाल्ने गर्नाले चश्माको आयु घट्दो रहेछ । मैले सधैं चश्मा लगाउने बानी पार्न सकेको अवस्थामा मेरो बजेटको एउटा ठूलो अंश चश्मा फेर्नु वा किन्नुमा खर्च हुने थिएन । बरु चश्मा फेर्नु वा किन्नुमा खर्च हुने बजेट सरकारले विकास निर्माणको लागि निकासा गरेको बजेट खर्च गर्न नसकेर फ्रिज भएको जस्तो अवश्य हुन पाउने थिएन । मलाई थाहा छ , मैले लेखपढ वा पठन पाठन गर्दा चश्मा लगाउन थालेको धेरै वर्ष भइसकेको हुँदा पनि अझ पनि चश्मा मेरो आँखाको नानी हुन सकेको छैन । भनौं चश्मा लगाइरहनु मेरो लागि सगरमाथा चढ्नु जस्तै गाह्रो कुरा हो । अप्ठ्यारो कुरा हो । कठिन कुरा हो ।
म संझिन्छु मैले मेरा आँखामा एकैचोटि चश्मा लागउन शुरु गरेको होइन । धेरै जाँच पडताल वा चक अप पछि मात्र मैले चश्मा लगाउन थालेको हुँ । शायद सबभन्दा पहिले मैले चश्मा लगाउन पर्दछ कि पर्दैन भनेर शिलाङमा बंगाली आँखा डाक्टरको क्लिनिकमा आँखा जाँच गराएको थिएँ । त्यतिबेला म नेपाल फर्की सकेको थिइनं । मेरा आँखा जाँच पछि मलाई बंगाली डाक्टरले भनेका थिए — तपाईंको चश्मा लगाउने अवस्था त आएको छैन । फेरि पनि यदि तपाईं चश्मा लगाउन मन पराउनुहुन्छ भने मैले लेखिदिउँला । त्यसको जवाबमा मैले भनेको थिएँ —मलाई चश्मा लगाउने कुनै रहर छैन । आवश्यक भए मात्र चश्मा लगाउनु पर्ला ।
म संझन्छु मैले अर्कोपल्ट चश्मा लगाउन पर्ने कि नपर्ने भन्ने विषयमा उचित र आवश्यक सल्लाह लिन गोरखपुरको सीतापुर आँखा अस्पतालमा जँचाएको थिएँ । आँखाकी महिला डाक्टरले मेरो आँखाको जाँच गरे पछि भनेकी थिइन् — आपको चश्मा लगाउने कि कोई जरुरत तो नहीं है । फिर भी यदि आप चश्मा लगाना चाहते हैं तो लिख दूंगी । भनिहालें मलाई चश्मा लगाउने कुनै रहेर थिएन । मैले उनलाई आवश्यक नभए चश्मा नलगाउने कुरा बताएँ । चश्मा लगाइनं ।
म स्मरण गर्दछु । म भैरहवामा बहुमुखी क्याम्पसमा अध्यापन गर्दथें । त्यतिबेला मेरा आत्मीय मित्र केशव घिमिरेका धनगढीतिरका साढु दाई आँखा डाक्टर थिए । उनी सरुवा भएर भैरहवा आएका थिए । उनीसित मेरा कलिग केशव घिमिरे मार्फत राम्रै चिनजान भएको थियो । परिचय भएको थियो । उनीबाट पनि मैले चश्मा लगाउनु पर्ने कि नपर्ने भन्ने सल्लाह लिएको थिएँ । उनले मेरा आँखा जाँचे पछि भनेका थिए — तपाईंलाई चश्मा लगाउन त्यति आवश्यक छैन । तर यदि तपाईंले चश्मा लगाउनु भयो भने लेख पढ गर्दा कम्फोर्टेवल फिल भने गर्न सक्नुहुन्छ । तपाईको आँखाले आराम अनुभव गर्दछ । तपाईंको आँखालाई कुनै स्ट्रेस पर्दैन । वास्तवमा मैले माथि नै भनिसकें चश्मा लगाउनु मेरो लागि अत्यन्त अनकम्फोर्टेवल कुरा हो । तर पनि मैले चश्मा लगाउँदा लेखपढमा निकै नै कम्फोर्टेवल अनुभव गरें । मलाई लाग्यो मलाई जति असुविधाजनक भए पनि लेख पढ गर्दा मेरो आँखाको सुविधाको लागि मैले चश्मा लगाउनु ठीक हुन्छ । मेरो आँखाको आरामको लागि मैले चश्मा लगाउन ठीक हृुन्छ । हो, यसरी मैले भैरहवा बहुमुखी क्याम्पसमा अध्यापन गर्ने बेलादखि लेखपढ गर्दा चश्मा लगाउन थालें । निश्चित रूपमा मलाई लेखपढ गर्दा निकै नै आराम भयो । सजिलो भयो । कम्पोर्टेवल भयो ।
त्यस पछि पनि धेरै ठाउँमा धेरै डाक्टरहरूसित मैले मेरा आँखा जचाइसकेको छु र उनीहरूका सल्लाह अनुसार पठन पाठन गर्दा चश्मा लगाउने गरेको छु । तर पनि अझसम्म मेरो चश्मा लगाउने बानी बसेको छैन । अझ पनि मलाई चश्मा लगाइरहँदा ठूलै बोझ उठाएको जस्तो लाग्दछ । ठूलो भारी बोके जस्तो लाग्दछ ।
मैले अहिलेसम्म के कति चश्मा किनें वा लगाएँ भन्ने कुराको हिसाब किताब नराखेको भए पनि मलाई लाग्दछ मैले झण्डै झण्डै एक सयको हाराहारीका चश्मा फेरें वा किनें कि ? यी चश्मामध्ये कति चश्मा हराएका पनि होलान् । कति चश्माका सिसा फेुटको होलान् । कति चश्माका खुट्टा भाँभिएका होलान् । कति चश्माका पावर नमिलेको होलान् । फेरि अर्को कुरा के छ भने मसित एकसाथ चार पाँच चश्मा पनि हुने गर्दछन् । रिजर्व चश्मा पनि हुने गर्दछन् । एक्सट्रा पनि चश्मा पनि हुने गर्दछन् । मैले एउटा चश्मा हराए, वेपत्ता भए वा टुटे फुटे मेरो कहिले कुनै काम नरोकियोस् भनेर मसित धेरै चश्माको संग्रह गरेको हुन्छु । यतिबेला मसित चारवटा चश्मा थिए । दुईवटा चश्मा मेरै नजरमा रहेका छन् । दुईवटा चश्मा भने मेरो नजरमा रहेका छैनन् । कतै परेका हुन सक्दछन् । यी दुईमध्ये एउटा लेखपढ गर्दा मात्र लगाउने चश्मा हो । अर्को वाइफोकल चश्मा हो । म वाइफोकल चश्मा बाटोमा हिंड्दा यदाकदा अनकम्पोर्टेवल माने पनि लगाउने गर्दछु ।
म सम्झन्छु मेरो बुवा रविलाल साहनी लेखपढ गर्दा मात्र चश्मा लगाउनु हुन्थ्यो । अरु बेला उहाँ चश्मा खोलमा राख्नुहुन्थ्यो । उहाँले गोरखपुर, बटौली, पोखरा कुनि कहाँ आँखा जँचाएर वा कतै नजँचाई कहाँदेखि किनेर चश्मा लगाउन थाल्नु भएको थियो त्यो मलाई थाहा छैन । उहाँले त्यतिबेला चश्माका डाक्टर नभएर उमेरको चश्मा किनेर लगाउनु भएको थियो कि वा चश्मा दोकानबाट आफूलाई जुन चश्मा लगाउँदा लेखपढ गर्न सजिलो हुन्छ त्यही चश्मा किनेर लगाउनु भएको थियो कि ? यी सब कुरा मलाई थाहा छैन । म केवल यति मात्र जान्दछु बुवा लेखपढ गर्दा चश्मा लगाउनु हुन्थ्यो । उहाँसित एउटा चश्मा थियो । मलाई बुबाले आफ्नो चश्मा कतै हराएको पनि थाहा छैन । बुबाले आफ्नो चश्मा फेरेको पनि मलाई थाहा छैन । शायद उहाँले आजीवन एउटै चश्मा प्रयोग गर्नु भएको थियो ।
म सोंच्दछ यतिबेला म आँखाका डाक्टरहरूका बीचमा छु । आँखाका चश्माका बजारको बीचमा छु । म जतिबेला पनि आफ्ना आँखा जचाउन सक्दछु । म जतिबेला पनि जस्ता भने पनि चश्मा सजिलै किन्न वा फेर्न सक्दछु । तर त्यतिबेला दूर दरााज बाग्लुङ गल्कोटमा बसोबासो गर्ने बुबालाई आफ्नो एउटा चश्मा हराए वा टुटे फुटे हैरान परिशानमा पर्नु पर्दथ्यो । लेख पढको काम ठप्प हुृन सक्दथ्यो । शायद अर्को चश्मा किन्न उहाँलाई तीन चार दिनको बाटो पैदल हिंड्नु पर्दथ्यो । पोखरा, बटौली कहाँ कहाँ पुग्नुपर्दथ्यो । हुन सक्दछ , गोरखपुर नै जानु पर्दथ्यो । कहाँ पाइन्थे र त्यतिबेला जहाँ तहाँ गाउँ घरमा चश्मा । वास्तवमा अझै पनि कहाँ पाइन्छन् चश्मा दूर दराजमा । गाउँघरमा ।
बुबाले लगाउने गरेको पातलो फ्रेम भएको चश्मा अझ पनि मेरा आँखा वरिवरि घुमे जस्तो लाग्दछ मलाई ।
बुबाको असामयिक निधन भए पछि उहाँले लगाउने गरेको चश्मा एउटा कुनामा थन्किएर बसेको थियो । मलाई आमा तुलसीले बताउनु भएको थियो एक दिन बाँसखोलाका काना बाबुसाहेवले उहाँलाई भने — मुखिनी मुखियाको उमेर र मेरो उमेर एउटै हो । मुखियाको चश्मा मलाई मिल्छ । उनको चश्मा मलाई देऊ । मैले तेरो बुबाको चश्मा बाँसखोलाका काना बाबुसाहेवलाई दिएँ ।
कहिलेकाहीं म सोच्दछु , बाँसखोलाका मेरा बुबा दौंतरी ठकुरी बाबुसाहेवले लगाएको मेरो बुवाको चश्मा उनको शेष पछि त्यो सही सलामत नभए पनि त्यसको केही अवशेष होला कि नहोला ?
८—२—२०७६
२२—५—२०१९
Comments
Post a Comment