Skip to main content

काबुलीवाला

 

उहिले गाउँघरमा भोटेहरू जम्बु ,कस्तुरी ,सियो आदि बिक्र्री गर्न डुल्ने गर्दथे । मान्छेहरू केटाकेटीलाई डर देखाउनु पर्दा भोटेले तँलाई लैजान्छ भन्दथे । यसरी नै भारतका शहर शहरमा नोकरी चाकरी गर्न होइन विभिन्न पेशा वा धन्दा गर्न काबुलवाट काबुलीवाला आउने गर्दछन् । त्यहाँ पनि बाबु आमाले केटाकेटीलाई डर देखाउन परे कावुुलीवालाले लैजान्छ भन्दछन् । काबुलीवाला भय र आतंकमा प्रतीक बनेका हुन्छन् ।

भारतमा विभिन्न शहरहरूमा काबुलीवाला विविध प्रकारको धन्दा चलाउने क्रममा प्रशस्त कावुलीवाला शिलाङको शहरमा पनि छप्छप्ती छापिएका हुन्छन् । छापिएका देखिन्छन् ।

शिलाङमा काबुलीवालाले शेक्सपियरको विश्व प्रसिद्ध नाटक मर्चेन्ट अफ वेनिशको खलनायक पात्र शाइलकले जस्तै  चर्को व्याजमा ऋण दिने गर्दछन् । व्याजमा पैसा लगाउने गर्दछन् । वास्तवमा कावुलीवाला हिंड्दा डुल्दा बैंक नै हुन् । यस्ता बैंक जो बिना कुनै धरौटी धितो जसलाई जति ऋण दिन परे पनि जतिबेला पनि दिन सक्दछन् । मैले बुझे अनुसार कार्यालयमा काम गर्ने अधिकांश बंगाली कर्मचारीहरूले काबुलीवालाहरूबाट ऋण लिने गर्दथे ।  काबुलीवालाहरूबाट ऋण लिए पछि भनेको बेलामा साउँ वा व्याज तिर्नु पर्दथ्यो ।  नतिरेको अवस्थामा उनीहरूको   ठूलो बेइज्जत हुन्थ्यो । बेइज्जत हुन सक्दथ्यो ।ा कसैले काबुलीवालाहरूबाट ऋण लिए पछि काबुलीवालाको हप्की दप्की खान नपरोस् भनेर मात्र होइन काबुलीवालाको हातबाट ऋण लिएमा समाजमा बदनाम हुन नपाओस् भनेर पनि ऋणीहरूले ठीक समयमा व्याज वा मूल पैसा तिर्ने गर्दथे । कुनै  कार्यालयमा काम गर्ने कर्मचारीले भनेको बेलामा व्याज वा मूल रकम कलम तिरेन भने काबुलीवालाहरूले आफ्नो असामीलाई अफिसभित्र छिरेर आफूले व्याजमा लगाएको पैसा वा व्याज माग्दैनथे । बरु उनीहरू दुई चारपल्ट अफिसको चक्कर लगाएर जान्थे । यसले गर्दा असामीले कुरा बुझ्दथ्यो र जसरी भए पनि व्याज बुझाउँथ्यो वा ऋण चुक्ता गर्दथ्यो ।

यसरी नै काबुलीवालाबाट ऋण लिनेमा सेन्ट एन्थनी कलेजका नेपालीका प्रोफेसर गोापीनारायण प्रधान पनि पर्दथे । उनले पनि आवश्यक परेर काबुलीवालाबाट ऋण लिएका थिए । एक दिन उनले मलाई भनेका थिए — भाइ मैले कावुलीवालाबाट ऋण लिएको थिएँ । पैसा तिर्ने बेला आयो । अहिले मसित पैसा छैन । काबुलीवाला मेरो घरतिर देखा पर्यो भने बर्वाद हुन्छ । यसैले उसलाई उसकै डेरामा गएर भेट्न पर्यो ।  राक्न पर्यो । पैसा बुझाउने केही समय माग्न पर्यो ।

म प्रा गोपीनारायण प्रधानसित लाइटमुखराको एउटा घरमा साँझपख  काबुलीवालालाई भेट्न गएँ । त्यहाँ मैले देखैं धेरै नै कावुलीवालाहरू एकसाथ डेरा गरेर बसेका थिए । उनीहरू किरायमा लिएको घरलाई पसलमा माल समान राख्ने टाँड वा  दराज अथवा  पुस्तकालायमा खानामाथि खानामा खात लगाएर पुस्तकहरू राखे जस्तै आफू पल्टिने बिस्तारा बनाएर बस्दारहेछन् । हामी जानासाथ उनीहरूले आफू पल्टेको ठाउँबाट अलिकति टाउको उठाएर हामीतिर रहस्यमय तरिकाले  हेरे । प्रोफेसर गोपीनारायण प्रधानले साहु कावुलीवालालाई आफू नजिक बोलाएर आफ्नो अवस्थाको यथार्थ वर्णन गरी केही समयको लागि पैसा बुझाउने म्याद थपे । शायद यस्तै घटनाबाट उत्प्रेरित भएर होला प्रोफेसर गोपीनारायण प्रधानले शाइलक आइरहेछ भन्ने शीर्षकमा एउटा कविता लेखेर प्रकाशित गरेका थिए । पछि उनको एउटा कविता संग्रहको नाम नै शाइलाक आइरहेछ  राखेका थिए  । यसै सन्दर्भमा मैले विद्यार्थीहरूलाई क्याम्पसमा अध्यापन गर्नु परेको रविन्द्रनाथ टैगोरको काबुलीवाला कथाको पनि स्मरण गर्दछु ।

शिलाङमा छँदा मैले प्रायः स्याञ्जाका लालबहादुर कुँवरको बडाबजार, मौअलङ रोडमा स्थित होटलमा खाना खान्थें । त्यहाँ बेला बेलामा चिया पिउन एकजना कावुलीवाला आउने गर्दथ्यो । त्यस काबुलीवालाले मलाई देखेको थियो  । चिनेको थियो । यो पढ्ने मान्छे हो भन्ने कुरा पनि बुझेको थियो । उसले मलाई एक दिन भनेको थियो — तुम ज्यादा खाना खा भी नसकते । कैसे मोटे तगडे बनोगे । तुमे हमारे तरह बडे मोटे मोटे रोटी खाना चाहिए ।  तब जाके तुम भी हमारी तरह मोटे तगडे बन सकोगे । म देख्दथें काबुलीवालाहरू निकै ठूला ठूला मोटा मोटा रोटी खान्थे । जे होस्,  कुरा के भने त्यस काबुलीवालाले मलाई निकै दुब्लो पात्लो मान्छे मानेको थियो ।

मलाई थाहा छ म सानैदेखि निकै दुब्लो पात्लो मान्छे थिएँ । आमा चाहनुहुन्थ्यो कि म मोटो घाटो बनुँ । म कत्ति पनि मोटो घाटो हुन नसकेको हुनाले उहाँ भन्नुहुन्थ्यो यसलाई त घिउ र महमा चुर्लुम्ब डुवाए पनि मोटो घाटो हुन सक्दैन । मलाई स्मरण छ म स्कुलमा होल फस्ट भएको बेलामा सार्वजनिक रूपमा  मार्कसित वितरण गर्दा हेड मास्टरले भनेका थिए — हेर हेर्दा यो कति दुब्लो पात्लो छ तर पढ्नमा कति तेज छ । कुरा के भने म सानामा मात्र होइन पछिसम्म दुब्लो पातलो मान्छेमा दरिएको थिएँ । गनिएको थिएँ । मानिएका थिएँ । म भैरहवामा क्याम्पसमा अध्यापन गर्दा मेरो वेट ४५ के जीको आसपास थियो ।

तर पछि मेरो वेट एकपल्ट झण्डै यसको डबल हुन थालेको थियो । यसको अर्थ म अब दुब्लो पात्लो मान्छे रहेको रहेनछु । एकपल्ट बसमा यात्रा गर्दा  एकजना यात्रीले मलाई मोटो मान्छे भनेर ऊ बस्ने सिटमा म अटाउँदिन भन्यो । त्यतिबेला आफूलाई मोटो मान्छेमा दर्ता गरिंदा म झसङ्ग भएको थिएँ । अचम्भित पनि भएको थिएँ । 

हिजो मलाई कसरी मोटोघाटो मान्छे बन्ने भन्ने इच्छा हुन्थ्यो भने आजभोलि मलाई कसरी दुब्लो पात्लो मान्छे बन्ने हो भने इच्छा हुन थालेको छ । यसबीचमा मलाई के दिव्य ज्ञान पनि हुन गएको छ भने दुब्लो पात्लो मान्छेबाट मोटोघाटो मान्छे हुन जति गाह्रो हुन्छ त्याभन्दा कैयौं गुना गाह्रो हुँदो रहेछ मोटो घाटो मान्छेबाट दुब्लोपात्लो मान्छे हुन  । मलाई अहिले के कुराको ज्ञान हुन थालेको छ भने मोटो घाटो हुनलाई कसैलाई घिउ र महमा चुर्लुम्म डुवाउनु पर्दोरहेनछ । मोटोघाटो हुने मान्छे पानी खाए पनि मोटो घाटो हुन पुग्दोरहेछ ।  वास्तवमा यतिबेला कति मान्छेहरूलाई कसरी घोटो घाटो हुने भन्ने समस्याले भन्दा पनि आफू कसरी दुब्लोपात्लो हुने भन्ने समस्याले पिरालिरहेछ । सताइरहेछ ।

जे होस, मलाई टन्न खाना खाएर ऊ जस्तै मोटो घाटो भएको हेर्न चाहने काबुलीवाला लुगापाटाको व्यापार गर्दथ्यो । ऊ बिना पूँजी कपडाको व्यापार गर्दथ्यो । ऊ बिहान पुलिसबजारका मारवाडी व्यापारीहरूबाट विशेष गरी लामो समयसम्म बिक्री हुन नसेका वा बेचेर टुक्राका रूपमा बेचेका कपडा ल्याउँथ्यो र काँध र हातमा ती कपडा झुण्डाएर ठाउँ ठाउँमा बिक्री गर्न घुम्दथ्यो । डुल्दथ्यो । बेलुकी बचेका कपडा र मारवाडी व्यापारीलाई बुझाउनु पर्ने पैसा बझाई बचेको पैसा आफ्नो पकेटमा राख्दथ्यो । यो उसको दैनिकी भएको थियो । नित्य कर्म भएकोा थियो ।  म शिलाङमा बाटो घाटोमा हिंड्दा डुल्दा उसलार्इं हात वा काँधमा कपडा झुण्डाएर बिक्री गर्न हिंडेको वा बिक्री गरिरहेको देख्दथें । म मलाई देखेर मुसुक्क हाँस्दथ्यो । उसको त्यस धन्दाबाट म कुरा सजिलै बुझ्न थालेको थिएँ भने मान्छेका जीविका उपाजर्नका अनेकौं बाटा हुँदा रहेछन् । मात्र आफूले आफ्नो जीविकको लागि कुनै एउटा पेशा पकडिनु पर्दोरहेछ । पैसा बिना पेशा चलाउन सकिने रहेछ । 

जे होस्, मैले मलाई मोटो घाटो भएको हेर्न देख्न चाहने काबुलीवालालाई बेला बखतमा स्मरण गर्दछु । काबुलीवालाका सम्बन्धमा चर्चा गर्दा मलाई उसको संझना हुने गर्दछ ।

२२—१०—२०८१

४—२—२०२६

 


 


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...