बुवाको जीवनकालमा मेरो अध्ययनप्रति कुनै रुचि रहेन । थिएन । बुबाले मलाई बटौलीमा भारी चलाउन आउँदा बोकेर लगेको ठूलो बर्णमाला अध्ययन गराउँदा म पढ्न पटक्कै मान्दैनथें । बुवाले कुटी कुटी मलाई अध्ययन गराएको भए पनि मैले कखरा र बाह्रखरीभन्दा बढ्ता केही पढ्न मानिनंंं । मैले त्यतिबेला किन पढ्न मानिन त्यसका धेरै कारण होलान् । एउटा कारण त मलाई के लाग्दछ भने त्यतिबेला मेरा कान्छा बुबाका छोरा माइला दाईले मलाई भन्ने गर्दथे – तैले ठीकसित पढ्न सकिनस् भने तँलाई झेलखानामा तोरिन्छ । जेल हालिन्छ । फलामका डण्डीले पिटिन्छ । शायद मलाई यस कुरामा विश्वास भएको थियो । शायद यस कुराले मेरो मनलाई आतंकित पारेको थियो । त्यसैले पनि होला म पढ्ने कुरालाई खतरनाक कुरा ठान्न थालेको थिएँ । मलाई लाग्न थालेको थियो मैले ठीकसित पढिनं भने मैले ठूलो अपराध गरेको हुन्छु । म जेल पर्न सक्दछु । मलाई फलामका डण्डीले पिटिन्छ होला । उसरी मैले पढ्न नमानेको मेरो पढाइप्रति कुनै रुचि नभएर पनि हुन सक्दछ । मेरो पढाइ लेखाइमा मन नबसेर पनि हुन सक्दछ । ध्यान केन्द्रित नभएर पनि हुन सक्दछ । मैले पढाइ लेखाइको खास कुनै महत्व नबझुेर पनि हुन सक्दछ ।